१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ओली र दाहालबीच फेरि चर्काचर्की

बबिता शर्मा

काठमाडौँ — संवैधानिक परिषद् बैठक बोलाएको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्ककमल दाहालबीच चर्काचर्की भएको छ । बिहीबार साँझ पाँच बजे परिषद् बैठक आव्हान गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।

ओली र दाहालबीच फेरि चर्काचर्की

साढे तीन बजे बालुवाटार पुगेका दाहाल र प्रधानमन्त्री ओलीबीच परिषद् बैठक स्थगन गर्ने विषयमा विवाद भएको थियो । प्रधानमन्त्री ओलीसँगको संवादबारे अध्यक्ष दाहालले सचिवालयका नेताहरुलाई समेत जानकारी गराएका छन् ।

स्रोतका अनुसार छलफलको सुरुमै दाहालले स्थायी कमिटीबाट अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा यसको अवज्ञा गरेर परिषद् बैठक बोलाएकोमा आपत्ति जनाएका थिए ।

दाहालले सचिवालयका अन्य सदस्यहरुलाई भनेका छन्, ‘परिषद् बैठक बोलाएकोमा आपत्ति जनाएँ । पार्टी निर्णयको अवज्ञा भयो, परिषद् बैठक बोलाएर पार्टीले अर्को निर्णय लिन सक्ने पनि प्रधानमन्त्रीलाई भनेँ ।’स्रोतका अनुसार दाहालको यस्तो भनाइपछि ओलीले मंगलबारकै निरन्तरताका रुपमा बैठक बोलाइएको र यसमा कुनै ठोस निर्णय नहुने बताएका थिए । ‘बैठक खास निर्णय गर्न पनि होइन, यो अस्ति (मंगलबार) कै बैठकको निरन्तरताका रुपमा मात्रै हो,’ दाहालसँग ओलीको भनाई थियो ।

तर, बैठक कुनै पनि हालतमा स्थगित हुनुपर्ने नभए यसबाट उत्पन्न समस्याका जिम्मेवार प्रधानमन्त्री आफै हुनुपर्ने दाहालको अडानपछि प्रधानमन्त्री ओलीले बैठक स्थगनको निर्णय लिएका थिए ।

दाहालले सचिवालय सदस्यहरुलाई बताएअनुसार छलफलकै क्रममा प्रधानमन्त्री ओलीले मुख्य सचिवलाई फोन गरेर परिषद् सदस्यहरुलाई बैठक स्थगनको सूचना दिन भनेका थिए । त्यसैअनुसार चार बजे अगाडि नै परिषद् सदस्यलाई बैठक स्थगनको सूचना दिइएको थियो ।

अध्यादेश फिर्ता लिने विषयमा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवाद भएको थियो । पार्टी निर्णयअनुसार अध्यादेश फिर्ता लिनुपर्ने र यसको प्रक्रिया सुरु गर्नुपर्ने दाहालको अडान थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेशमा राष्ट्रपतिको समेत चासो रहेकाले छलफल गरेर केही दिनमा अध्यादेश फिर्ता लिने आश्वासन दिएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताको एजेन्डा भने थिएन ।

मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर कार्यान्वयनमा गएपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट सांसद संसदको विशेष अधिवेशन मागको निवेदन लिएर बुधबार राष्ट्रपति कार्यालय पुगेका थिए । एकातिर बालुवाटारमा स्थायी कमिटी बैठक अर्कोतिर संसद अधिवेशन मागको निवेदनले दवावमा परेका प्रधानमन्त्री ओली अन्तत: अध्यादेश फिर्ता लिन तयार भएका थिए । अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार भएपछि संसद अधिवेशनको मागको निवेदन पनि फिर्ता भएको थियो । केही नेताको मध्यस्ततामा ओली र दाहालबीच अध्योदश फिर्ता र निवेदन फिर्ताको सहमति भएको थियो । त्यही सहमतिलाई स्थायी कमिटी बैठकबाट सर्वसम्मतिले निर्णय गरेको थियो ।

प्रकाशित : पुस २, २०७७ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?