कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालमा घटेकै हो त कोरोना संक्रमण ?

विज्ञ भन्छन्–‘पर्याप्त मात्रामा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ भएको छैन’
बुनु थारु

काठमाडौँ — नेपालमा कोरोना संक्रमण फैलिएको करिब एक वर्ष पुग्न लागेको छ । कुनै दिन दिनको २५ हजारसम्म सक्रिय संक्रमितको संख्या पुगेकोमा अहिले भने ९ हजारको हाराहारीमा मात्र सक्रिय संक्रमितको अवस्था रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म सक्रिय संक्रमित ३.८९ प्रतिशत रहेको छ भने निको भएको दर ९५.४ रहेको छ । बुधबार ५ हजार ५ सय ५५ पीसीआर परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा घटेकै हो त कोरोना संक्रमण ?

महामारी लम्बिएसँगै कोरोना भाइरसको संरचनामापनि परिवर्तन भइरहेको देखिन्छ । नेपालमा कोरोनाको महामारी घट्दै गएको हो वा लुकिरहेका अवस्थामा छ भन्नेमा विज्ञहरु नै अलमलमा देखिन्छन् ।

१ हप्तामा ४३ हजार १ सय ६४ पीसीआर परीक्षणमा ६ हजार ४ सय ८३ जनामा संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ देखि ७ हजार हाराहारीमा हाल पीसीआर परीक्षण भइरहेको छ । मंसिर २६ गते ७ हजार ४ सय १४ पीसीआर परीक्षण भएकोमा १ हजार ४४ जना संक्रमित भेटिएको थियो भने सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ जना रहेका थिए । त्यसैगरी मंसिर २७ गतेको तथ्यांक हेर्दा ५ हजार २४२ पीसीआर परीक्षण भएकोमा ८ सय ९९ संक्रमण पुष्टि भएको थियो । सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ थियो ।

त्यसैगरी मंसिर २८ गतेको तथ्यांक हेर्ने हो भने पीसीआर परीक्षण ५ हजार १ सय ८१ रहेको थियो जसमा ८ सय ३० जनामा संक्रमण पुष्टि भएको थियो । सक्रिय संक्रमितको संख्या भने १० हजार ९ सय ९४ रहेको छ । ३ दिनमा ३५ जनाको मृत्यु भएको देखिन्छ ।

मंसिर २९ को तथ्यांक हेर्दा पीसीआर परीक्षण ५ हजार ४ सय २३ रहेको थियो जसमा ८ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै सक्रिय संक्रमितको अवस्था भने १० हजार ९ सय ५५ रहेको छ जसमा १८ जनाको मृत्यु भएको देखिन्छ ।

मंसिर ३० गतेको तथ्यांक हेर्दा पीसीआर परीक्षणमा ७ हजार १ सय १७ रहेको छ जसमा ९३६ जनामा संक्रमण पुष्टि भएको थियो र सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ पुगेको देखिन्छ ।

एक साताको कुल तथ्यांक केलाउँदा ४३ हजार १६४ पीसीआर परीक्षण भएकोमा ६ हजार ४ सय ८३ मा संक्रमण पुष्टि भएको छ । त्यो भनेको संक्रमण दर करिब १५ प्रतिशत छ । ८ हजार ८ सय ७९ संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् भने ९२ जनाको मृत्यु भएको देखिन्छ ।

कुनै समय हटस्पटमा रुपमा देखिएका प्रदेश २ मा हालसम्म २० हजार ५ सय १३ जनामा संक्रमण देखिएको छ र हाल जम्मा ६६ जना सक्रिय संक्रमित छन् । सुदुरपश्चिम प्रदेशमा १३ हजार ३ सय ५९ जना संक्रमण देखिएकोमा हाल ९ सय ६० जना सक्रिय संक्रमित देखिन्छन् । त्यसैगरी काठमाडौ उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या भने ५ हजार २ सय ५० रहेको छ । हालसम्म १ लाख १६ हजार ९ सय ४२ जना संक्रमित भइसकेका छन् । बुधबारसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ रहेको छ भने २ लाख ३९ हजार ४ सय १६ जना निको भइसकेका छन् ।

विज्ञ भन्छन्– ‘पर्याप्त मात्रामा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ भएको छैन’

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार अहिले संक्रमण घटेको देखिएको भन्नुमा विभिन्न कारणहरु हुन सक्छन् । ‘पहिले जसरी कन्ट्याक्ट ट्रेसिङ हुन्थ्यो त्यो अहिले शून्य अवस्थामा जस्तै देखिएको छ,’ उनले भने, ‘संक्रमणको अवस्था घटेको हो कि भन्नेमा ठ्याक्कै भनिहाल्न सकिँदैन ।’

उनले धेरै मानिस परीक्षण गर्दा पोजेटिभ आएमा १४ दिन आइसोलेसन बस्नुपर्ने र काममा बाधा पुग्ने डरले पनि परीक्षण गराउने कम भएको हुनसक्ने बताए ।

डा.पुनका अनुसार संक्रमण घटेको देखिनुमा प्राकृतिक रुपमा कुनै संक्रमण उत्कर्षमा पुग्दा विस्तारै कम भएर जाने हुन्छ । जस्तै कोरोनाको हटस्पट देखिएका ठाउँहरुमा कम देखिँदै गयो । हाल नियन्त्रित अवस्थामा छ । ‘अझै पनि कोरोना संक्रमितको संख्या बढ्ने र घट्ने भइरहेको छ । पहिलो लहर जुन काठमाडौंमा देखियो अहिले त्यो प्राकृतिक रुपमा कतै मत्थर त भएको होइन भन्ने हुनसक्छ,’ उनले भने । तर संक्रमणको अवस्था के छ, नियन्त्रणमा छ वा छैन भन्ने विषय भने स्पष्ट नभएको बताउँदै राम्ररी परीक्षण गरेर बिरामी खोज्नुपर्ने उनको तर्क छ । ‘परीक्षण गर्ने कुरामा लगभग हातै उठाएको हो कि भन्ने देखिएको छ,’ उनले भने ।

त्यसैगरी संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीका अनुसार संक्रमण घटेको वा बढेको हो भन्न जुन किसिमको आँकडा चाहिन्छ त्यो नभएको बताए । उनका अनुसार लक्षण भएको मान्छेको तुरुन्त परीक्षण गर्नुपर्छ । ‘कोरोना पोजिटिभ देखिएका मान्छेहरुसँग सम्पर्कमा आएका अरु व्यक्तिको पनि कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्नुपर्ने हो । कन्ट्याक्ट ट्ेरसिङ भएको छैन । जस्तै समुदायको पनि परीक्षण हुुनुपर्छ,’ उनले भने, ‘नेपालमा महामारी बढेको हो या घटेको हो भनेर भनेर ठ्याक्कै सूचना नै छैन हामीसँग । एक त मानिसहरुले परीक्षण गर्दा पैसा खर्च हुने डरले सिकिस्त भएमा मात्र अस्पताल आउने गरेका देखिन्छन् । मृत्यु हुने पनि बढेको देखिन्छ । घाटमा पनि कोरोना भाइरसले हो वा अरु कारणले लास बढेकै देखिन्छ ।’

उनका अनुसार महामारी घट्ने भनेको दुईवटा अवस्थामा हो । एउटा संक्रमितहरु असाध्यै धेरै भएर महामारी समुदायको जनसंख्याको ५०–६० प्रतिशतमा फैलिसकेपछि हर्ड इम्युनिटीको अवस्थामा पुगेको छ भने घट्छ । अर्कोचाहिँ, महामारी नफैलिएको बेलामा एकदम राम्रो संक्रमण रोकथाम तथा नियन्त्रण र जनस्वास्थ्य सुरक्षाका प्रभावकारी उपाय अपनाइएको छ भने घट्छ । ‘सरकारले गर्नुुपर्ने जनस्वास्थ्यका काम पनि गरेको देखिँदैन । र, संक्रमण धेरै फैलिएको पनि देखिँदैन,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा मान्छेहरुले परीक्षण नगरेर घरमै बसिरहेको र मृत्यु पनि बढिरहेको देख्दा महामारी घटेको देखिँदैन ।’

समुदायका १३.९ प्रतिशतमा कोरोना संक्रमण : ईडिसिडी

ईपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी)का निर्देशक डा.वासुदेव पाण्डेले नेपालमा संक्रमणको अवस्थाकस्तो छ भन्नेमा अझै धेरै अध्ययन अनुसन्धानको खाँचो रहेको बताए ।

उनका अनुसार ईडिसिडीले गरेको अध्ययनमा १३.९ प्रतिशत संक्रमण समुदायमा फैलिएको देखाएको छ । तराई क्षेत्रमा धेरै तथा बालबालिकाहरुमा धेरै संक्रमण फैलिएको जस्तो देखिन्छ । उनले भने, ‘यो तथ्यांक हेर्दा अझै धेरै मानिसहरु संक्रमित भइसकेका छैनन् र जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नुहुन्न भन्ने हो ।’

डा. पाण्डेले परीक्षण कम भइरहेको बताउँदै भएको परीक्षण पनि कसले गराइरहेका छन् विदेश जाने हुन् वा यहाँ बस्ने पनि हुन सक्छन् त्यो पत्ता लगाउनुपर्ने बताए ।

यद्यपि अस्पतालहरुमा पनि बेडहरु खाली हुँदै गएको कारणले संक्रमण केही मथ्थर भएको जस्तो देखिएको उनको तर्क थियो । ‘साँचिक्कै बिरामी भएको भए अस्पताल त आउँथे होला मानिसहरु,’ उनले भने, ‘अरु देशको तुलना हेर्दा संक्रमितको संख्या हेरी नेपालमा मृत्यु कम भएको देखिन्छ । नेपालमा भाइरस नै कमजोर भएको हो वा अरु के कारण हो अध्ययन गर्नुपर्ने खाँचो रहेको छ ।’

केही महिना अगाडि ईडिसिडीले समुदायस्तरमा कोरोना संक्रमणको अवस्था कस्तो छ भनेर जान्नका लागि सेरोप्रिभिलेन्स सर्भे गरेको थियो । कात्तिक महिनामा गरिएको अध्ययनमा प्रत्येक प्रदेशमा ४ सय ५० जनाको दरले ३ हजार १ सय ५० जनामा अध्ययन गरिएको थियो । जसमा प्रदेश नं २ र बागमती प्रदेशमा संक्रमणको जोखिम बढी रहेको पाइएको थियो ।

डा. पाण्डेले कन्ट्याक्ट ट्रेसिङका कामहरु स्थानीय तहलाई जिम्मा दिएको बताउँदै यसको काम नरोकिएको समेत दाबी गरे ।

अस्पतालमा कोरोनाका बिरामी घटे

कुनै समय बेड खाली नभएर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले बिरामी फर्काउनुपथ्र्यो । दिनकै ७ सय देखि ८ सय जनाको परीक्षण हुने गरेकामा अहिले २ सय देखि ३ सय जना मात्र मान्छेहरु परीक्षणका लागि आउने गरेका छन् ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बिरामीको संख्या घटेको बताए । ‘अस्पतालमा आइसोलेसनमा भर्ना हुने बिरामी घटेको छ । तर, आईसीयुमा भने बेड खाली छैन । परीक्षण घटेको छ,’ उनले भने ।

उनले अहिले धेरैजसो अस्पतालले परीक्षणको सुविधा दिएसँगै परीक्षण गराउन कम आएको हुनसक्ने बताए । त्यसैगरी बिरामीको संख्या कम देखिनुमा प्रयोगशालाहरुले परीक्षणको रिपोर्टिङ नबुझाएको पनि हुन सक्ने तर्क गरे । ‘अहिले धेरै जना होम आइसोलेसनमा नै बसिरहेका छन् । कोही परीक्षण नै गराउन आएका छैनन् त्यसैले संक्रमितको संख्या घटेको जस्तो देखिएको हुन सक्छ,’उनले भने ।

त्यसैगरी वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले पनि कोरोनाको बिरामीको संख्या १ हप्तायता घटेको बताए । ‘अस्पतालमा भर्ना हुने बिरामी घटेका छन् । आईसीयु तथा भेन्टिलेटरको भने बिरामी आउँछन् । पहिला जति चाप थियो अहिले त्यति मान्छे आएका छैनन् । परीक्षण गराउन आउनेको संख्या पनि घटेको छ,’ उनले भने ।

प्रकाशित : पुस २, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?