अयोध्याका जन्तीबिनै विवाहपञ्‍चमी

जनकपुर — त्रेतायुगमा भगवान् राम र सीताबीच भएको विवाहको तिथि पारेर बर्सेनि जनकपुरमा विवाहपञ्चमी उत्सव मनाइन्छ । भारतको अयोध्याबाट जन्ती आउँछन् । विवाहको विधि धुमधामका साथ गरिन्छ । तर यसपटक आगामी शनिबार परेको विवाहपञ्चमीमा परम्पराको क्रमभंग हुँदै छ ।

अयोध्याका जन्तीबिनै विवाहपञ्‍चमी

सोमबारदेखि जनकपुरमा उत्सवको साताव्यापी कार्यक्रम सुरु भएको छ । जनकपुर आसपासकै क्षेत्रबाट पनि सहभागिता निकै कम देखिँदैछ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले सिल गरेको सीमानाका अझै खुलेको छैन । नेपाल–भारतका उल्लेख्य संख्यामा हिन्दु धर्मावलम्बी सहभागी हुने उत्सवमा यस पटक सहभागिता पातलिने देखिएको छ । यो वर्ष विवाहपञ्चमीमा भारतको अयोध्याबाट जन्ती जनकपुर नआउने भएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

नाका बन्द रहेकाले भारतीय साधुसन्त र श्रद्धालुलाई आउजाउ असहज भएको छ । ‘त्रेतायुगदेखि चल्दै आएको रामजानकी विवाह महोत्सवको परम्परा मेरै पालामा खण्डित हुँदै छ । अयोध्याबाट जन्ती नै नआएपछि विवाह महोत्सव निरस हुनेछ,’ जानकी मन्दिरका महन्त रामतपेश्वर दासले भने, ‘राजनीतिक दलका सभा–जुलुसमा रोक छैन । दसैंमा बलि पनि रोकिएन । गाउँ–गाउँमा मेला लागि नै रहेको छ । तर, विवाह महोत्सवमा जन्ती आउन रोक लगाइयो । हामी साधु के बोलौं ?,’ धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सरकारको निर्णयबाट सीमानाका बन्द गरिएकाले भारतबाट जन्ती आउन अनुमति दिन नसकिने बताए । ‘भीडभाड नगरी आन्तरिक रूपमै विवाह महोत्सव मनाउन आग्रह गरेका हौं,’ उनले भने ।

दसैं, तिहार, छठ, जितिया, मुस्लिम समुदायको दाहा र झन्डालगायतका पर्वमा भीड घटेको थिएन । स्थानीय प्रशासनले भीडभाड नगर्न अपिल जारी गरे पनि सर्वसाधारणले अवज्ञा गरेका थिए ।

विवाह महोत्सवमा अयोध्याबाट जन्ती आउने वर्षौं पुरानो परम्परा टुटेकोमा गौ संरक्षण मञ्च जनकपुरका अध्यक्ष जगदीश महासेठले पनि चिन्ता व्यक्त गरे । विवाहपञ्चमीको दोस्रो दिन मंगलबार फूलबारी लीला र बुधबार तिलकोत्सव आयोजना गरिएको छ । तिलकोत्सवमा जानकी मन्दिरबाट राममन्दिरमा फलफूल, लत्ताकपडा तथा मिठाई पठाउने चलन छ । बिहीबार मटकोर तथा शुक्रबार रामजानकी विवाह महोत्सव आयोजना हुनेछ भने शनिबार रामकलेवा अर्थात् मरजादी भोज खुवाएर महोत्सवको समापन हुनेछ ।

राम, लक्ष्मण र विश्वामित्रको स्वरूप निर्माण गरी नगर दर्शन गराउने चलन थियो । तर यस वर्ष जानकी मन्दिरमा निर्मित पण्डालभित्रै यो विधि सम्पन्न गरिने महन्त दासले बताए । विवाह महोत्सवमा अयोध्याबाट जन्ती आउने परम्परालाई जानकी मन्दिरले २०६१ सालदेखि अझ व्यवस्थित बनाएको थियो । जन्तीलाई नेपाली नाकामै स्वागत, सत्कार तथा उत्सवपछि बिदाइ गर्ने गरिन्थ्यो ।

प्रकाशित : पुस २, २०७७ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?