कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिउँ चितुवाबाट पशु जोगाउन आधुनिक गोठ

छोलोपु र धोतरापमा आधुनिक गोठ–खोर प्रभावकारी भएपछि अन्य बस्तीमा पनि विस्तार गरिँदै

फोक्सुन्डो, डोल्पा — हिउँ चितुवाले मानवबस्ती छेउमा आएर घरपालुवा पशु खाइदिएर हैरान भएका स्थानीयले आधुनिक सुरक्षित गोठ (प्रिजेटर प्रुफ कोरल) बनाउन थालेका छन् । यस्तो गोठ वरिपरि पर्खाल लगाएर बनाइएको हुन्छ र छाना बलियो तारजाली (नेट) ले छोपिन्छ । चराइसकेपछि चौंरी, याक, भेडा, च्याङ्ग्रालगायतका पशुलाई गोठ–खोरमा हुलिन्छ । ढोका पनि बलियो बनाइएको हुन्छ ।

हिउँ चितुवाबाट पशु जोगाउन आधुनिक गोठ

हिउँ चितुवाको मुख्य आहार नाउर, झारल, कस्तूरी मृगलगायत हुन् । मानवबस्ती छेउमै आएर याक, चौंरी र घोडाका बच्चा तथा भेडा, च्याङ्ग्रालाई पनि हिउँ चितुवाले आहार बनाउँछ । उपल्लो डोल्पाका भिजेर, साल्दाङ, फोक्सुन्डो, धो तरापलगायत गाउँका किसान हिउँ चितुवाले चौंरी, याक र भेडाजस्ता घरपालुवा जनावर सखाप पारिदिने समस्याबाट आजित छन् । ‘मुख्य आहार नाउर र झारल भए पनि ३० देखि ४० प्रतिशत आहार गाई, चौंरी, याक, भेडा, च्याङ्ग्रा, फ्याउ मुसालगायत हुन्,’ त्रिभुवन विश्वविद्यालयबाट हिउँ चितुवा र त्यसका आहार प्रजातिबारे विद्यावारिधि गरिरहेका कमल थापाले कान्तिपुरसित भने, ‘त्यसैले आहारको खोजीमा हिउँ चितुवा मानिसको बस्ती छेउमा आइरहन्छ ।’

हिउँ चितुवा पाइने सबै क्षेत्रमा झारल र नाउरको उपस्थिति छैन । कहीं झारल मात्र छन् भने कहीं नाउर मात्र । शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज फैलिएको डोल्पाको क्षेत्रमा नाउर मात्र छन्, त्यही निकुञ्ज रहेको मुगुतिरको डोल्फु र किम्री क्षेत्रमा भने नाउर र झारल दुवै छन् । शे फोक्सुन्डो हिउँ चितुवाको घनत्व बढी भएको निकुञ्जमा पर्छ । हिउँ चितुवाले मानवबस्ती छेउमा आएर घरपालुवा पशु खाइदिने गरेका छन् । उपल्लो डोल्पामा धेरैजसो स्थानीय बोन धर्मावलम्बी भएकाले वन्यजन्तुको सिकारमा उनीहरू संलग्न हुँदैनन् । स्थानीयको समस्यालाई ख्याल गर्दै निकुञ्जले पशुधन जोगाउन आधुनिक सुरक्षित गोठको अवधारणा ल्याएको हो । ‘हिउँ चितुवाले खोरभित्र पशु देखे पनि जालीबाट भित्र छिर्न सक्दैन,’ डब्लूडब्लूएफ नेपालमा हिमाली क्षेत्रको कार्यक्रम हेर्ने अधिकृत गौतम पौड्यालले भने, ‘यही प्रविधि प्रयोग गरेर भारतको लद्दाख क्षेत्रमा पशुधन जोगाएको देखेर हामीले यहाँ सुरुवात गरेका हौं ।’

पौडेलका अनुसार लद्दाख क्षेत्रमा हिउँ चितुवाबाट हुने क्षति रोक्न भारत सरकार र डब्लूडब्लूएफ भारतले त्यस्ता गोठ–खोर प्रवर्द्धन गरिरहेका छन् । पशुपालन उपल्लो डोल्पालीको मुख्य आयस्रोत भएकाले उनीहरूको पशुधन जोगाउन निकुञ्जले पहलकदमी गरेको हो । गोठ–खोर बनाउन आर्थिक र प्राविधिक सहयोग डब्लूडब्लूएफ नेपालले गरेको छ । पहिलो चरणमा निकुञ्जभित्र पर्ने फोक्सुन्डोको छोलोपु र धो तरापमा यस्तो खोर बनाइएको छ । ‘शे फोक्सुन्डो निकुञ्जमा यो वर्ष सुरु भएको छ,’ पौड्यालले भने, ‘यसलाई उपल्लो डोल्पाका सबै गाउँसम्म विस्तार गरिनेछ ।’ उपल्लो डोल्पामा एकै परिवारले ५ सयसम्म पशु पाल्ने गरेका छन् । यसअघि ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा किसानका पशुधन जोगाउन यस्तै खोर बनाइएको थियो ।

निकुञ्जको फोक्सुन्डो मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष फुर्वा तेन्जिङ बुढाले आधुनिक खोर निर्माणपछि हिउँ चितुवाले गर्ने विनाश घटेको सुनाए । ‘हाम्रा बस्तुभाउ जोगाउन यो गोठले निकै सहयोग गरेको पायौं,’ उनले भने । यस्तो गोठ–खोरमा १ हजार ५ सयदेखि २ हजार वटा पशु अटाउँछन् । हिउँ चितुवाले गोठभित्र पशु देखे पनि छिरेर खान नपाएको रिसले तारजाली (नेट) मा टाउको बजार्ने गरेको देखिएको बुढाले बताए । हिउँ चितुवाले दिनमा २–३ किलो मासु खान्छ । धेरै नखाए पनि उसले पशुको ‘मास किलिङ’ (सखाप पार्न) रुचाउँछ ।

पेरीकपुवा हिउँ चितुवा संरक्षण समिति, फोक्सुन्डोका पूर्वसचिव छेबाङ ग्याल्बो लामाले पनि सुरक्षित गोठ–खोर बनाइएपछि पशुधन जोगिएको बताए । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत (वार्डेन) सरोजमणि पौडेलले त्यस्ता गोठहरू स्थानीयस्तरमै उपलब्ध हुने काठ र ढुंगा प्रयोग गरी बनाउन सकिने बताए । ‘तारजाली सुर्खेत वा नेपालगञ्जबाट ढुवानी गर्न अलि बढी खर्च हुन्छ,’ उनले भने, ‘त्योबाहेक स्थानीय व्यक्तिहरूले नै श्रम गरेर बनाउन सक्छन् ।’

व्यवस्थापन समिति अध्यक्ष बुढाका अनुसार हेलिकप्टरबाट ढुवानी गर्दा महँगो हुने भएकाले फोक्सुन्डोमा प्रयोग गरिएको तारजाली खच्चडबाट ढुवानी गरिएको हो । हिउँ चितुवा र आहार प्रजातिबारे विद्यावारिधि गरिरहेका थापाका अनुसार आहारको खोजीमा हिउँ चितुवा २ हजार ७ सयदेखि ३ हजार मिटर उचाइसम्म झर्ने गरेको देखिन्छ ।

पशुको बिमा

दुर्लभ हिउँ चितुवाबाट जोगाउन निकुञ्जले पशु बिमा कार्यक्रमसमेत अघि ल्याएको छ । निकुञ्जको भित्रिभाग तथा डोल्पा र मुगुमा फैलिएको मध्यवर्ती क्षेत्रमा पर्ने गाउँहरूका पशुको बिमा सुरु गरिएको हो । हिउँ चितुवालगायत दुर्लभ वन्यजन्तुप्रतिको प्रतिशोध घटाउन बिमा कार्यक्रम प्रभावकारी हुने अपेक्षामा डब्लूडब्लूएफ नेपालको सहयोगमा बिमा सुरु गरेको निकुञ्जले जनाएको छ । बिमापछि किसानले पालेका याक, चौंरी, भेडा, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई हिउँ चितुवा, ब्वाँसोलगायतका वन्यजन्तुले क्षति पुर्‍याए राहत दिइनेछ । ‘स्थानीय समुदायको प्रिमियम र डब्लूडब्लूएफ नेपालको कोषबाट प्रदान गरिएको अक्षय कोषको ब्याज रकमबाट पशुधन क्षति भए राहत दिइनेछ,’ वार्डेन पौडेलले भने । पशुको बिमा गर्ने किसानले बचत तथा प्रिमियम रकमको लगानीमार्फत सस्तो ब्याजमा कर्जासमेत लिन सक्छन् ।

निकुञ्जले डब्लूडब्लूएफ नेपालको आर्थिक सहयोगमा निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र हिउँ चितुवाको अनुसन्धानका साथै त्यसका आहार प्रजाति संरक्षण कार्यक्रम अघि बढाएको छ । हिउँ चितुवाको ओहोरदोहोर, आहारको अवस्था, विचरण गर्ने क्षेत्रलगायत अध्ययन गर्न शे फोक्सुन्डो निकुञ्जको भिजेर क्षेत्रमा गत वर्ष दुईवटा हिउँ चितुवाको घाँटीमा स्याटेलाइट जीपीएस कलर जडान गरिएको थियो ।

दुईमध्ये जेबोरोङ नाम दिइएको हिउँ चितुवा गत वैशाखमै मरेको थियो भने सामलिङ नाम दिइएको हिउँ चितुवा जेठदेखि हराइरहेको छ । हराएको हिउँ चितुवाबारे निकुञ्जका सहायक वार्डेन गोपाल खनाल नेतृत्वको टोलीले एक महिनादेखि अध्ययन गरिरहेको छ ।

प्रकाशित : पुस २, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?