कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

चुरे पहिरोपीडितको जंगलमा बास

ओढ्ने–ओछ्याउने नहुँदा बालबच्चा, बूढापाका, गर्भवती र सुत्केरीसमेत मुढा बालेर रात काटिरहेका छन् ।
मोहन बुढाऐर

चौमाला, कैलाली — ६ महिनासम्म पुनर्वासको व्यवस्था नगरेको भन्दै कैलालीको चुरेका पहिरोपीडित तराई झरेका छन् । उनीहरू गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वनको छेउमा त्रिपाल टाँगेर बसेका छन् । चुरे गाउँपालिका ४, ५ र ६ का सयभन्दा बढी पहिरोपीडित परिवार गत शुक्रबार यहाँ आएका हुन् ।

चुरे पहिरोपीडितको जंगलमा बास

चिसो छल्ने गतिलो लुगा र ओढ्ने, ओछ्याउने नहुँदा उनीहरू मुढा बालेर रात काटिरहेका छन् । बालबच्चा, बूढापाका, गर्भवती तथा सुत्केरीको चिसोले बिचल्ली भएको छ । स्थानीयले जंगल अतिक्रमण गर्न आएको भन्दै पानी भर्न नदिँदा खोलाको फोहोर पानी खानुपरेको पहिरोपीडितले बताए । ‘चिसोमा खुला आकाशमुनि रात काट्न मुस्किल भएको छ,’ पहिरोपीडित संघर्ष समितिका अध्यक्ष टीकाराम कार्कीले भने, ‘अर्कोतिर सामुदायिक वन समूहका पदाधिकारी र वन कर्मचारीको लखेट्ने धम्की सामना गर्नुपरेको छ । सरकारले हाम्रो मागको सुनुवाइ चाँडो गरोस् ।’ अध्यक्ष कार्कीले आफूहरूको उद्देश्य जंगल कब्जा गर्नु नभएर सुरक्षित बासका लागि सरकारको ध्यान खिच्नु रहेको बताए ।

गत साउन १४ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरोले पूर्ण तथा आंशिक घर भत्केका परिवार सामुदायिक विद्यालय, आफन्त, केही आधा भत्केकै घर र केही परिवार भीमदत्त राजमार्गको खानीडाँडा खण्डमा त्रिपाल टाँगेर बस्दै आएका थिए । कार्कीका अनुसार वडा नम्बर ६ बगेडी मौजनिया, गरेडे आमपानी, वडा नम्बर ५ गुणी पटरेनी गाउँ र केही घर वडा ४ का गरी दुई सय बढी परिवार पहिरोबाट विस्थापित छन् । ‘सुरुमा सयभन्दा बढी परिवार यहाँ आएका छौं,’ उनले भने, ‘बाँकी विस्थापित परिवार पनि आन्दोलनमा सहभागी हुन चुरेबाट यहाँ आउने क्रम जारी छ ।’

अर्का पहिरोपीडित प्रेम कार्कीले भत्केकै घरमा बस्दा सरकारको दृष्टि पुग्न नसकेको बताए । ‘६ महिना हामीले कसरी बितायौं ? समस्या बुझिदिन कोही पनि गाउँबस्तीमा आएन,’ उनले भने । त्यस्तै ५७ वर्षीय अम्बु बोहराले नलडेर केही पाइने नरहेछ भन्ने लागेर यहाँ आउनुपरेको बताए । गाउँमा बस्नै नसकिने अवस्था भएर चिसोमा लालाबालासहित यसरी जंगलको बास गर्नुपरेको अर्की पीडित सुमित्रादेवी कार्कीले बताइन् । ‘पुर्ख्यौली थलो छोड्न कसैलाई रहर हुँदैन,’ उनले भनिन्, ‘बस्नै नसकिने अवस्था भएर सरकारसँग ठाउँ माग्न आउनुपरेको हो ।’

उनी पहिरोले घर भत्काएपछि ६ महिना धौलीपहराको विद्यालयमा बसिन् । अहिले विद्यालय खुलिसकेकाले त्यहाँ बसेका १५ परिवार पनि यहीं आएको उनले बताइन् ।

उनले अन्यत्रका बाढीपहिरो पीडितले राहत र क्षतिपूर्ति पाएको सुनिए पनि आफूहरूले केही पाउन नसकेको गुनासो गरिन् । चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले गएको बर्खामा वडा ४, ५ र ६ का २ सय ११ घरपरिवार पहिरोपीडित रहेको बताए ।

प्रकाशित : पुस २, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?