आमाप्रति समर्पित खानाले बीबीसी मास्टर सेफको टप ३ मा सन्तोष- समाचार - कान्तिपुर समाचार

आमाप्रति समर्पित खानाले बीबीसी मास्टर सेफको टप ३ मा सन्तोष

नवीन पोखरेल

लन्डन — आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा उनले आमालाई सम्झिए । सन्तोष साह १२ वर्ष छँदा सिरहाको कर्जन्हा आसपास नदी किनारमा श्रम गर्न जान्थे । गरिबीले कलिलै उमेरमा काम नगरी हातमुख जोर्न सम्भव थिएन ।

काम गरेर भोकाएको छोरालाई बट्टामा खाजा बोकेर उनकी आमा पुग्थिन् । आमाले आफू सानो छँदा खुवाउने खाजा पस्किएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफहरुको मन जित्न सफल भएका छन् सन्तोष साह ।

उनी बुधबार बेलुका बीबीसी वानमा प्रसारित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा छनोट भएका हुन् । शीरमा भादगाउँले टोपी पहिरिएर प्रस्तुत भएका सन्तोषले आफ्नी आमाका लागि पुरी, गंगटाको करी, बासी भातझैं भुटेको चिउरा, भुटेको खुर्सानी, खिर आदि तयार गरेका थिए ।

पकाएको खाना अतिथि सेफ र निर्णायकहरुलाई उनले बाल्यकालमा आमाले जस्तै टिफिन बक्समै सर्भ गरेका थिए । ‘म सानो छँदा धेरै दु:ख र गरिबी बाँचे,’ सन्तोषले भने, ‘अब म आमालाई सुख दिन चाहन्छु ।’

कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष

त्यस्तै, प्रतियोगिताको महत्वपूर्ण सेसन ‘सेफ्स टेबल’ राउन्डमा उनले जिम्बुले मोलेर पोलेको खसीको मासु, रायोको साग, पुदिना परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, बोन म्यारो करी सस, जस्ता परिकार पस्किए । सन्तोषको सिर्जनशीलता र उनले प्रयोग गरेका मसलाबाट निर्णायकहरु निकै प्रभावित भएका थिए ।

‘म आफूलाई ज्यादै भाग्यमानी ठानेको छु,’ टप थ्रीमा पुगेपछि सन्तोषले कान्तिपुरलाई प्रतिक्रिया दिए, ‘विश्वसामु नेपाली खाना र संस्कृति चिनाउन पाउनु त्यो मेरो जीवनकै महत्वपूर्ण उपलब्धि हो ।’ शोमा भादगाउँले टोपी लगाउन अनुमति मागेपछि बीबीसीले यसबारे बुझेर सहमति जनाएको सन्तोषले बताए ।

बिहीबार तीनमध्ये एकजना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् । प्रतियोगिता ३२ जना सेफहरुबीच सुरु भएको थियो ।

उनले प्रतियोगितामा जोखिम लिएरै हरेक चरणमा नेपाली परिकारमात्र पस्किए । फाइनलको अघिल्लो चरणमा मंगलबार ‘इन्भेन्सन राउन्ड’ मा सन्तोषले डिजर्टका रुपमा कोदोको खिर चखाएका थिए । उनले कोदोको खिरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि पस्किएका थिए ।

सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाई अल्टिच्युड (हिमाली भेग) मा प्रचलित भेगन खाना भुटेको काँक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जिते ।

योमरी चखाएर बीबीसी मास्टर सेफको फाइनल पुगे सन्तोष

यसअघिका चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए ।

विश्वमै प्रतिष्ठित बीबीसी मास्टर सेफ जस्तो प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष पहिलो नेपाली हुन् । नेपाली खानालाई विश्व बजारमा चिनाउने एकमात्र लक्ष्य आफ्नो रहेको उनी बताउँछन् ।

बेलायतको प्रतिष्ठित ‘मिसिलिन स्टार’ प्राप्त रेस्टुरेन्टहरुमा एक्जुकेटिभ सेफ भइसकेका सन्तोषले भारत र बेलायत गरी यस क्षेत्रमा दुई दशक बिताइसकेका छन् । प्रतियोगिता सकिएपछि सन्तोष सेन्ट्रल लन्डनमा टिपिकल नेपाली कुजिनको रेस्टुरेन्ट खोल्ने तयारीमा समेत जुटेका छन् ।

प्रकाशित : पुस २, २०७७ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्

८८ वर्षीया महिलालाई घरमै नागरिकता

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापकी एक वृद्धालाई प्रमुख जिल्ला अधिकारीले उनकै घरमा पुगेर नागरिकता प्रमाण पत्र उपलब्ध गराएकी छिन् । प्रजिअ रुद्रादेवी शर्माले रामेछाप नगरपालिका ५ रामपुरकी ८८ वर्षीया शक्तिमाया लामा तामाङलाई बुधबार घरमै पुगेर नागरिकता दिएकी हुन् । घरमै पुगेर जिल्लामा नागरिकता वितरण गराएको यो पहिलो हो । यसअघि जिल्ला प्रशासन कार्यालय र घुम्ती टोलीमा नागरिकता वितरण गर्ने गरिएको थियो । 

आफन्त कोही नभएकी, कान कम सुन्ने तामाङले नागरिकता प्रमाण पत्र नपाएको कारण सरकारी सुविधा उपयोग गर्न पाएकी थिइनन् । ती महिलाको प्रमाण नपुग्दा यसअघि नागरिकता नबनेको हो । वडाध्यक्ष भिमबहादुर तामाङले प्रमाण जुटाउन ३ महिना लागेको बताए । वडा अध्यक्ष तामाङका अनुसार वृद्धाको माइती दोलखाको विगु गाउँपालिका साविक ओराङ गाविसमा हो ।

१९९० सालको महाभूकम्पपछि उनीसहित बाबु सिन्धुली जिल्लामा झरे । सिन्धुलीको तिनपाटनमा बसोबास गरेका बेला बाबु विते । शक्तिमाया हुर्किन् तर समयमा विवाह भएन । उमेर अलि ढल्केपछि रामपुरका उरगेन तामाङ कामको खोजीमा तीनपाटन झरेका बेला शक्तिमायासँग भेट भयो । उरगेनका श्रीमती बितिसकेकी थिइन् । उनले शक्तिमायालाई श्रीमती बनाएर घर ल्याए । त्यसको केही समयपछि उरगेन पनि बिते । त्यसपछि उनी एक्लै रामपुरमा बस्दै आएकी छिन् ।

वडाध्यक्ष आफैं दोलखाको विगु पुगेर शक्तिमायाको माइतीको नागरिकता र नाता प्रमाणित जुटाए । उरगेनको नागरिकताको प्रमाण घरमै भेटियो । बल्ल उनी नेपालको नागरिक बन्नको लागि बाटो खुल्यो । शक्तिमायाको देवरको छोरा नातिले नागरिकताका लागि सनाखत गरीदिए ।

शक्तिमायालाई नागरिकता वितरण गर्न ३० किलोमिटर टाढाको रामपुर पुगेकी प्रजिअ शर्मा उनको अवस्था देखेर भावुक भइन् । शरीर कुप्रो भइसकेको बेलामा उनी आफैं तुल्याउँछिन्, खान्छिन् । खोजबिन गरेको अन्न संगाल्छिन् । घर लिपपोत गर्छिन् । उनले ४ वटा बाख्रा समेत पालेकी छिन् । तिनको रेखदेख समेत तिनै वृद्धाको काँधमा छ । प्रजिअ शर्माले उनलाई तातो लुगा र केही खाद्यान्न सहयोग गर्ने र थप हेरचाह गरिदिन नजिकका छिमेकीलाई आग्रह गरिन् ।

बुधबार नै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले रामपुरका नागरिकहरुसँग अन्तर्क्रिया समेत गरेका थिए । त्यसक्रममा स्थानीयले रासायनिक मल एक बोराको ३ हजारसम्म हाल्नु परेको गुनासो गरे ।

प्रकाशित : पुस १, २०७७ २२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×