कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बदला रणनीतिमा अस्ट्रेलिया 

एएफपी

एडिलेड — शीर्ष वरीयताको अस्ट्रेलियाले बिहीबार दिवारात्रि टेस्टमा भारतको सामना गर्दा उसको मनमा बदलाको भाव हुनेछ । तर, दुवै टिम समान समस्याबाट गुज्रिरहेका छन्, खेलाडीको चोट र छनोटको कठिनाइ । 

बदला रणनीतिमा अस्ट्रेलिया 

सन् २०१८–१९ मा विराट कोहलीको भारतले अस्ट्रेलियालाई उसकै भूमिमा भएको टेस्ट शृंखलामा २–१ ले हराएको थियो । त्यतिबेला अस्ट्रेलियासँग स्टिभ स्मिथ र डेविड वार्नरजस्ता खेलाडी थिएनन् ।

उनीहरू बल टेम्परिङको आरोपमा एक वर्षे प्रतिबन्ध बेहोरिइरहेका थिए । विश्वका नम्बर एक ब्याट्सम्यान स्मिथ अहिले अस्ट्रेलियाली टिममा फर्किसकेका मात्र छैनन्, लयमा पनि छन् । चोटका कारण वार्नरले भने पहिलो टेस्ट खेल्ने छैनन् । यो टिमका लागि ठूलो धक्काको रूपमा रहेको छ । ‘दुई टिमबीच पछिल्लो समय ठूलो प्रतिद्वन्द्विता बनेको छ, हामी यो शृंखला जित्न चाहन्छौं,’ प्रशिक्षक जस्टिन ल्याङ्गरले भनेका छन् ।

टेस्ट हुने एडिलेड ओभलमा २० हजार दर्शक आउने अनुमान गरिएको छ । यो रंगशालामा क्षमताको आधामात्रै हो । कोरोना भाइरस संक्रमणका कारण नियमअनुसार क्षमताको आधाले मात्र रंगशालामा प्रवेश पाउनेछ । ल्याङ्गरले थपेका छन्, ‘अहिले हामीसँग निकै बलियो टिम रहेको छ र हामी खेल कहिले सुरु हुनेछ भनेर निकै प्रतीक्षा गरिरहेका छौं ।’ अस्ट्रेलियाले पहिलो शृंखला गुमाए पनि अहिले यही टिम सबैभन्दा बलियो देखिन्छ ।

कुल चार टेस्टको यस बोर्डर–गावस्कर ट्रफी आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा सबैभन्दा महत्त्वको छ । अस्ट्रेलिया दिवारात्रि टेस्टको सबैभन्दा बलियो टिम हो । टोलीले सात दिवारात्रि टेस्ट खेलेकामा त्यसमध्ये सबैमा विजयी छ । त्यसको ठीक विपरीत टेस्ट क्रिकेटको यो नयाँ ढाँचाका लागि भारत कच्चा नै रहेको छ । भारतले खाली कोलकातामा गत वर्ष एकै टेस्टमात्र खेलेको छ ।

त्यसमा भारतले बंगलादेशलाई सजिलै दुई दिनको खेलमै हराएको थियो । यस्तो टेस्टको सबैभन्दा ठूलो विशेषता छ, घाम अस्ताएपछि बल बढी ‘स्वीङ’ हुने । सिड्नीमा भएको पछिल्लो दिवारात्रि अभ्यास खेल भने अस्ट्रेलियाका लागि सुखद रहेको छैन । त्यसमा भारतका शुभमन गिल, मयंक अग्रवाल, ऋषभ पन्त र हनुमा बिहारी चम्केका छन् । त्यसमा कोहलीसँगै चेतेश्वर पुजारालाई आराम दिइएको थियो ।

खेलका क्रममा बिहारीले भनेका छन्, ‘हामीले यसअघि पनि पिंक बल टेस्ट खेलिसकेका छौं । हामी यससँग अभ्यस्त छौं । अस्ट्रेलिया व्यावसायिक टिम हो, त्यसैले उनीहरूले पनि राम्रो खेल्नेछन् । हामीसँग पनि उत्तिकै बलियो टिम छ । हामी सबै प्रकारको चुनौतीलाई तयार छौं ।’

वार्नरको अनुपस्थितिमा अस्ट्रेलियालाई उनको स्थानमा कसलाई खेलाउने हो भनेर दुविधा रहनेछ । प्रशिक्षक ल्याङगरले भनेका छन्, ‘हामीलाई खेलअगाडि केही ठूला निर्णय लिनुपर्नेछ । तर यस्तो गाह्रो निर्णयले अन्ततः टिमलाई नै बलियो बनाउने हो ।’

अस्ट्रेलियाको बलिङ आक्रमण भने सुदृढ छ । त्यसका स्टार हुन्, जोस हेजलउड, मिचेल स्टार्क र प्याट कमिन्स । स्पिन बलिङ आक्रमणको जिम्मा नथान लियोनको हातमा हुनेछ । पछिल्लो शृंखलामा उनी टिमका लागि सबैभन्दा बढी विकेट लिने बलर रहेका थिए ।

सन् २०१८ को एडिलेड टेस्टमा पुजाराले भारतीय जितका लागि सबैभन्दा बढी निर्णायक भूमिका खेलेका थिए । उनले १ सय २३ र ७१ रन बनाएका थिए । भारत त्यसमा ३१ रनले विजयी रहेको थियो । रोहित शर्मा चोटका कारण बाहिर रहने स्थितिमा फेरि एकपल्ट पुजाराले नै भारतका लागि प्रमुख खेलाडी हुनेछन् । कप्तान कोहलीले यही एक टेस्टमा मात्र खेल्नेछन्, त्यसैले उनी आफ्नो प्रभाव छाड्न चाहन्छन्  ।

उनको अनुपस्थितिमा टिमका कप्तानी सम्हाल्ने अजिन्क्य रहनेले पनि उत्तिकै गहन भूमिका निभाउनुपर्ने हुन्छ । भारतको प्रारम्भिक ब्याटिङ जोडीलाई लिएर भने अन्योल छ । अहिले तत्कालका लागि पृथ्वी श र अग्रवालले इनिङ्सको सुरुआत गर्नेछन् । तर, गिलले यसमा चुनौती दिन सक्नेछन् । भारतको बलिङ आक्रमणको नेतृत्व भने मोहम्मद सामी, जसप्रित बुमराह र उमेश यादवले गर्ने तय देखिन्छ ।

प्रकाशित : पुस १, २०७७ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?