३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सडक निर्माणमा रारा निकुञ्‍जको अवरोध

राजबहादुर शाही

मुगु — सदरमुकाम गमगढीदेखि खत्याड गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणमा रारा राष्ट्रिय निकुञ्ज बाधक बनेको छ । गाउँपालिकाको सेरी हुँदै राराताल नजिकको माझघट्ट जोड्ने सडक निर्माण नहुँदा खत्याडवासी एक दिन पैदल हिँडेर सदरमुकाम आउजाउ गर्न बाध्य छन् ।

सडक निर्माणमा रारा निकुञ्‍जको अवरोध

खत्याड गाउँपालिकाले निकुञ्ज क्षेत्रभित्र पर्ने १३ किलोमिटर सडक निर्माणका लागि गत आर्थिक वर्षमा सर्भे गरी निकुञ्ज कार्यालयसँग अनुमति मागेको थियो । गाउँपालिका अध्यक्ष उब्जन शाहीका अनुसार प्रारम्भिक रूपमा वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिएको थियो । ‘तर अहिलेसम्म अनुमति दिइएको छैन, निकुञ्जले आफ्नो क्षेत्रबाट सडक बनाउन मिल्दैन भनिरहेको छ,’ उनले भने, ‘यो सडक बनिदिएको भए गाउँवासीलाई निकै सुविधा हुने थियो ।’

अहिले खत्याडवासीलाई एक दिन लगाएर जुम्लाको गोठीज्युला भएर गमगढी पुग्नुपर्ने बाध्यता छ । त्यसैले स्थानीय पैदलै आउजाउ गर्ने गरेको खत्याड–८ का जन्मजय भण्डारीले बताए । उनका अनुसार निकुञ्जबाट सडक खनिएमा करिब ५ घण्टामै सदरमुकाम पुग्न स किन्छ । गाउँपालिकादेखि निकुञ्जसम्म जोड्ने ग्राभेल सडक निर्माण भइसकेकाले पनि निकुञ्जले प्रक्रिया पुर्‍याएर अनुमति दिनुपर्ने उनले बताए । ‘निकुञ्जबाट हामीले सेवासुविधा केही पाएनौं, खालि दुःख मात्रै पाइरहेका छौं,’ उनले भने, ‘निकुञ्जले सडक छेकेर हामीलाई धेरै दुःख दियो ।’

छायानाथरारा नगरपालिकाले गमगढीदेखि लामाचौरसम्म सडक खनिसकेको छ । उताबाट खत्याड गाउँपालिकाले गम्थादेखि निगालबोटको समानेसम्म २१ किलोमिटर लामो सडक निर्माण भइसकेको जनाएको छ । निकुञ्ज क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन गरेर निर्माणको अनुमति दिएमा दूरी निकै कम हुने गाउँपालिका अध्यक्ष शाहीले बताए ।

प्रकाशित : पुस १, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?