कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष

नवीन पोखरेल

लन्डन — नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन् ।

हरेक चरणमा नेपाली खाना चखाएर निर्णायकको मन जित्दै अगाडि बढेका सन्तोषले यसपटक पनि त्यो क्रम दोहोर्‍याए । ‘इन्भेन्सन् राउन्ड’ मा सन्तोषले डिजर्टको रुपमा कोदोको खिर चखाए । उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि पस्किए ।

निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेर पस्किँदा निर्णायकहरु दंग देखिन्थे । ‘कोदोको खिरका लागि त तयारी अगाडिदेखि नै गरेको थिएँ । तर निर्णायकको रोजाइमा खरायोको डिस तत्काल बनाउन दबाब नै थियो,’ साहले कान्तिपुरसँग भने, ‘निर्णायकहरु मेरो हरेक खानामा पृथक स्वाद देखेर आश्चर्यचकित हुन्थे । नेपाली खाना पस्किएरै म अहिलेसम्म अगाडि बढिरहेको छु ।’

योमरी चखाएर बीबीसी मास्टर सेफको फाइनल पुगे सन्तोष

प्रतियोगितामा सहभागी भएर नेपाली खाना पस्कने ५ वर्ष अघिदेखिको आफ्नो सपना साकार भएकामा उनी गद्गद् छन् । ‘प्रतियोगिता जितौंला हारौंला अलग कुरा हो । तर, लाखौं नेपाली र विदेशीको मन जितिसकेको छु,’ उनले भने । भविष्यमा पनि नेपाली खाना प्रवद्र्धनमा निरन्तर लागिरहने उनको प्रण छ ।

प्रतियोगिताका हरेक चरणमा सन्तोषले नेपाली खाना नै पस्किएका छन् । सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाइ अल्टिच्युड (हिमाली भेग) मा प्रचलित भेगन खाना भुटेको कांक्रोको बियां, बन तरुल, कटहरको भुटेको बिँया, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जिते ।

अघिल्ला चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए ।

एकदम कडा प्रतिस्पर्धा ठानिएको फाइनल राउन्डमा ६ प्रतियोगी सामेल थिए । मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल आउँदो बिहीबार बेलुका प्रसारण हुनेछ । त्यसअघि आज बुधबार बेलुका हुने अर्को चरणको प्रतिस्पर्धाबाट तीन फाइनालिस्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिने छन् ।

सिरहा कर्जन्हा निवासी साह करिब दुई दशकदेखि यो पेसामा छन् । करिब एक दशक भारतमा र सन् २०१० यता बेलायतमा निरन्तर सक्रिय सन्तोषले यहाँ प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलहरुमा हेड सेफ भएर काम गरिसकेका छन् ।

बेलायतमा प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त रेस्टुरेन्टहरुमा एक्जुकेटिभ सेफसम्मको अनुभव उनीसँग छ ।

प्रकाशित : पुस १, २०७७ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

पुटिनले बाइडेनलाई दिए बधाई, सहकार्य गर्न तयार

एजेन्सी

मस्को/वासिङटन — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई मंगलबार औपचारिक रूपमा बधाई दिएका छन् । विश्वव्यापी सुरक्षालाई प्रवर्द्धन गर्ने गरी आफूहरूबीचका मतान्तरलाई थाती राखेर दुवै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको पनि राष्ट्रपति पुटिनले बताएका छन्  ।

राष्ट्रपति पुटिनले बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको जनाएका हुन् ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ । इलेक्टोरल कलेजले बाइडेनको जितलाई सुनिश्चित गर्ने गरी औपचारिक रूपमा मतदान गरेसँगै पुटिनले बाइडेनलाई बधाई दिएका हुन् ।

तर बाइडेनले रुसविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । चुनावी अभियानका क्रममा बाइडेनले पुटिनलगायत विश्वका धेरै तानाशाहलाई ट्रम्पले समर्थन र साथ दिएको बताएका थिए । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेका कारण ट्रम्पलाई विजयी हुन मद्दत पुगेको दाबी कतिपयको छ ।

बाइडेन राष्ट्रपतिमा विजयी भएको पुष्टि

अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी भएको इलेक्टोरल कलेजका सदस्यहरूले पुष्टि गरेका छन् । यसलाई अमेरिकी राष्ट्रपति चुनावलाई औपचारिक मान्यता दिने अन्तिम चरणका रूपमा लिइन्छ ।

नोभेम्बर ३ मा भएको चुनावमा ३ सय ६ इलेक्टोरल मतसहित जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २ सय ३२ इलेक्टोरल मत प्राप्त गरे । अमेरिकी चुनाव प्रणालीअनुसार मतदाताले देशभरबाट ५ सय ३८ इलेक्टर चुन्छन् । ती इलेक्टरले चुनावपछि राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रूपमा मत दिने गर्छन् ।

बाइडेनको जित औपचारिक रूपमै पुष्टि भए पनि ट्रम्पले भने हार स्वीकार गरेका छैनन् । चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले त्यसको कुनै प्रमाण भने पेस गर्न सकेका छैनन् । सामान्यतया इलेक्टरहरूको खासै चर्चा नहुने भए पनि यस वर्ष ट्रम्पले चुनावी नतिजा उल्ट्याउने चेतावनी दिएका कारण अर्थपूर्ण रूपमा हेरिएको थियो ।

इलेक्टोरल कलेजले आफ्नो पक्षमा ३ सय ६ मत दिएपछि बाइडेनले चुनावी नतिजा उल्ट्याउने ट्रम्पको प्रयासलाई ‘अतिवादी कदम’ को संज्ञा दिएका छन् । यस्तो कदम यसअघि कहिल्यै नदेखेको उल्लेख गर्दै बाइडेनले चुनावी नतिजा उल्ट्याउने प्रयास विफल पारिदिएको भन्दै सर्वोच्च अदालतलाई समेत धन्यवाद दिए ।

इलेक्टोरल कलेजको भोट गणनाका लागि अब कंग्रेसमा पठाइन्छ । अर्को महिना औपचारिक रूपमा त्यसको गणना र घोषणा हुनेछ । आगामी जनवरी ६ मा कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा बस्ने संयुक्त सत्रमा यसको औपचारिक रूपमा गणना हुनेछ । त्यसपछि जो बाइडेनले जनवरी २० मा राष्ट्रपतिका रूपमा शपथ लिन्छन् ।

प्रकाशित : पुस १, २०७७ ०६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×