राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएको हो । 

अध्यादेशले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार अब परिषद्का बहुमत सदस्य (अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य) को उपस्थितिमा बैठक बस्न सक्ने स्रोतले बताएको छ । मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । बैठक मंगलबार नै साँझ ५ बजेलाई बोलाइएको छ ।

गत वर्षको मंसीर ३ मा पनि मन्त्रिपरिषद्ले संवैधानिक परिषद्का बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न सकिने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : मंसिर ३०, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्

बारपाकमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

हरिराम उप्रेती

गोरखा — भूकम्पको केन्द्रविन्दु बारपाकमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । विद्युत् विस्तार सकेसँगै सोमबार बारपाक गाउँमा बिजुली बालिएको हो ।

वालुवाबाट ११ केभीए लाइन ट्यापिङ गरेर विद्युत् विस्तार गरी बारपाक पुगेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । झण्डै एक साता विद्युत् प्रवाह गरी परीक्षण सकेर सेवा सुरु गरिएको उनले बताए ।

संघीय सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तीन करोड खर्चेर बारपाकमा बिजुली विस्तार गरिएको हो । बालुवाबाट राङरुङ, मान्द्रे हुदै बारपाक बिजुली पुर्‍याउन मेन लाइनमा २ सय ५५ वटा पोलको प्रयोग भएको छ । बस्तीभित्र शाखा लाइन विस्तारका लागि ५ सय ९० वटा पोलको प्रयोग गरिएको न्यौपानेले बताए । ‘वालुवाबाट करिव १० किलोमिटर तार टाँगेर विद्युत पुर्‍याएका हौँ,’ उनले भने । बारपाक बस्तीभित्र एबीसी केबल बिछ्याएर विद्युत् प्रवाह गरिएको उनले बताए ।

विद्युत् विस्तार सकेसँगै मंगलबारबाट मिटर वितरणको तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । गरिब तथा विपन्न परिवारलाई नि:शुल्क मिटर वितरण हुनेछ । एक महिनाभित्र पाँच सय परिवारलाई मिटर वितरण सक्ने न्यौपानेले बताए । ‘बारपाक गाउँमै पहिले मिटर वितरण हुन्छ, कुलगाउँ र पोखरीमा भने यो आर्थिक वर्षभित्र बिजुली पुर्‍याउने लक्ष्य हो,’ उनले भने, ‘एक महिनाभित्र पाँच सय परिवारले केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पाउनुहुन्छ ।’

बारपाकमा बिजुली पुर्‍याउन दुइ वर्ष अघिदेखि काम सुरु भएको थियो । ६ महिनाअघि नै काम सक्ने लक्ष्य राखिए पनि कोभिड–१९ का कारण ढिलाई भएको न्यौपानेले बताए ।

बारपाकका स्थानीयले यसअघि लघु जलविद्युत्को बिजुली प्रयोग गर्दै आएका थिए । लघु जलविद्युत्को बिजुली पर्याप्त नभएपछि बारपाकमा आन्तरिक लोडसेडिङ हुँदै आएको थियो । विद्युत् विस्तार सकेसँगै यहाँका एक हजार जना लाभान्वित हुनेछन् ।

यसअघि बारपाकवासीले प्रयोग गर्दै आएको १३० किलोवाट क्षमताको लघुजलविद्युत् केन्द्रीय प्रसारण लाइनमार्फत् प्राधिकरणलाई बेच्न सुझाएको गोरखा वितरण केन्द्रका प्रमुख न्यौपानेले बताए ।

बारपाकबाट धार्चे गाउपालिका–४ लाप्राकमा पनि विद्युत् विस्तार सुरु भएको न्यौपानेले बताए । लाप्राकदेखि गुम्दासम्म विद्युत् विस्तारका लागि प्रदेश र संघीय सरकारले कुल एक करोड ५० लाख विनियोजन गरेका छन् । लाप्राक बिजुली पुर्‍याउन पोलिङको काम सकेर तार टाँग्ने काम सुरु गरिएको छ । चैत महिनाभित्रै लाप्राक बिजुली पुर्‍याउने योजना रहेको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित : मंसिर ३०, २०७७ १४:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×