२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विकास भित्रिँदै, बस्ती रित्तिँदै

प्रकाश बराल

बागलुङ — स्थानीय तहको निर्वाचनअघि र पछि गाउँमा भएको परिवर्तनको साक्षी हुन्, बागलुङ नगरपालिका–११ रायडाँडाका रत्नाखर गौतम । गाउँमा बाटो नपुग्दा छिमेकीहरू चितवन, नवलपरासी र बागलुङ सदमुकाममा बसाइँ सरेको उनलाई सम्झना छ । चुनावपछि गाउँ–गाउँमा बाटो पुग्यो । बसाइँसराइ झनै सहज भयो । गाउँमा विकास भित्रियो । बस्ती रित्तिँदै गयो । 

बिरामी पर्दा आफ्नै वडाको स्वास्थ्य संस्था पुग्न तीन घण्टा लाग्थ्यो । त्यहाँबाट रेफर भएर सदरमुकाम पुग्न थप तीन घण्टा । सडकले वडाको मुकामसम्म छोएको थियो । जीर्ण र जोखिमयुक्त बाटोमा जिपको भन्दा स्थनीयले पैदल यात्रा रोज्थे ।

नजिकको विद्यालय पुग्न पनि कम्तीमा दुई घण्टा हिँड्नुपर्दा बालबालिका हैरान थिए । वडाका रायडाँडा, ओखले, रामतोला, मौरीभीरलगायत स्थानका बासिन्दाले सास्ती खेपेपछि धमाधम चितवन बसाइँ सरे । जनप्रतिनिधि आएपछि वडामा बजेटको अंक बढ्यो । नगरपालिकाले पनि यो वडालाई विशेष क्षेत्रमा सूचीकृत गरेपछि सडक, खानेपानी र कृषि विकासलगायत काममा लगानी बढायो । तीन वर्षमै यहाँका सबै बस्तीमा सडक सञ्जालले छोएको छ ।

तीन घण्टा लाग्ने बाटो ४० मिनेटमा छोटिएका छन् । तर गाउँमा विकास पुग्दा पनि बस्ती आधा रित्तिएको छ । वर्षौंदेखिको सास्तीले हैरान भएकाहरू सहज वातावरण पाएपछि धमाधम चितवन, पूर्वी नवलपरासी र सदरमुकाममा बसाइँ सरेको सामाजिक अगुवा गौतमले बताए । ‘विकास नआउन्जेल मानिस बस्थे, विकास आयो झन् सबै विस्थापित भए,’ उनले भने, ‘अब त गाउँको बैठक राख्नुपर्दा सदरमुकाम र चितवनमा बस्नुपर्ने भइसक्यो ।’ बसाइँसराइले गाउँका खेतबारी बाँझो भएको उनले बताए ।

तीन वर्षमा यहाँ झन्डै ३ करोड रुपैयाँ खर्चेर सडक सञ्जाल बनाइएको हो । वडाकै पहलमा आफ्रे सल्यान, तल्लो रामतोला, इकिनधारा, सिकादीप, गिलारलगायत बस्तीमा सडक पुगेको हो । स्तरोन्नतिका लागि घुम्तीमा ढलान गर्ने कामसमेत भइसकेको छ । अहिले यहाँबाट दैनिक ४ वटा जिप सदरमुकाम आउजाउ गर्छन् । खानेपानी, सिँचाइ, स्वास्थ्यचौकी, विद्यालय र अन्य पूर्वाधारमा समेत तीन वर्षमा यहाँ १० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।

घर छाडेकाहरूले बसाइँसराइ भने लगेका छैनन् । ‘छिटफुटले बसाइँसराइ लगे पनि गाउँको जग्गा बेचेका छैनन्,’ वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘युवालाई गाउँ फर्काउने योजना बनाउँदैछु ।’ दुःख छउन्जेल बसेका मानिस विकास आउँदा विस्थापित हुनु दुःखद् भएको उनले बताए । बसाइँसराइ रोक्न वडाले पहलसमेत गरेको छ । भौगोलिक कठिनाइका कारण धेरै मानिस विस्थापित भएको उनले बताए । यहाँको हलहलेका १० घर, मौरीभीरका ७ घर, रामतोलाका दर्जनभन्दा बढी घर, शिखादीपका दर्जन घर दुई वर्षमै खाली भएका हुन् ।

तल्लो रामतोला, आफ्रे र सल्यानका बस्तीबाट पनि निरन्तर बसाइँसराइ भइरहेकाले रित्तो घर र बाँझो जमिन मात्रै देखिन्छ । बसाइँ रोक्न गाउँमा रोजगारीका अवसरको खोजी भने भएको छ । पशुपालनका ठूला फर्म सञ्चालन गर्ने, कृषि सहकारीमा सबैलाई सेयर सदस्य बनाउने र आम्दानीमा जोड्न सकेमा बसाइँ सरेका युवा गाउँ फर्काउन सकिने वडाध्यक्ष गौतमले बताए ।

रायडाँडालाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गरिएकाले युवा रोजगारी पनि बाख्रापालनबाटै खोज्ने उनको योजना छ । सयौं रोपनी पाखो बारी लिएर बाख्रा फार्म चलाउने तयारी यहाँ भएको हो ।

अहिले रायडाँडामा १७ वटा बाख्रा फर्म सञ्चालनमा छन् । यहाँको जैविक साना किसान कृषि सहकारी संस्थाले वडाका सबैलाई सेयर सदस्य बनाएर उत्पादनमा जोड्ने योजना बनाएको संस्थाका अध्यक्ष थमबहादुर थापाले बताए ।

प्रकाशित : मंसिर ३०, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?