सरकारका गलत अभ्यासका विरुद्ध सडकमा आउनुपर्‍यो : नेता पौडेल- समाचार - कान्तिपुर समाचार

सरकारका गलत अभ्यासका विरुद्ध सडकमा आउनुपर्‍यो : नेता पौडेल

कम्युनिस्ट सरकारको पालामा भ्रष्टाचार बढ्यो
इकान्तिपुर डेस्क

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका गलत अभ्यासका विरुद्ध कांग्रेस सडकमा आउनुपरेको बताएका छन् ।

काठमाडौं जिल्ला समितिद्वारा सोमबार आयोजित विरोध प्रदर्शनमा नेता पौडेलले अहिलेको सरकारले सबै सत्ता आफ्नो हातमा लिँदै आफ्ना मान्छे पोस्ने काम गरेको आरोप लगाए ।

उनले कम्युनिस्ट सरकारकै पालामा भ्रष्टाचार बढेको, असुरक्षा र पक्षपात बढेको बताए । 'कम्युनिस्ट वर्गलाई मुद्दा, कानुन नलाग्ने । कम्युनिस्टले राज्यको ढुकटी मासेर कार्यकर्ता पालिरहेको छन्,' विरोध सभामा बोल्दै नेता पौडेलले भने, 'अहिले लोकतन्त्रको धज्जी उडाउने काम भइरहेको छ । सत्ताको दुरुपयोग भइरहेको छ ।'

लामो संघर्षबाट आएको लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरू अलोकतान्त्रिक बनेको उनले बताए ।

सडकमा आजभोलि जताततै असन्तोष छचल्किरहेको हुँदा लोकतन्त्र खलबलाउने कोसिस भइरहेको नेता पौडेलको भनाइ छ ।

उनले संघीय गणतन्त्रको मर्ममाथि प्रहार भइरहेको बताए । लोकतन्त्रलाई आत्मसाथ नगर्नेहरूप्रति कांग्रेस असहत रहेको बताए ।

प्रकाशित : मंसिर २९, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

चीन रिसाउँछ भनेर नेकपा एमसीसीको विरोधमा लाग्यो : नेता महत

रमेशकुमार पौडेल

चितवन — नेपाली कांग्रेसका केन्द्रीय नेता रामशरण महतले वर्तमान सरकार एमसीसी पारित गर्ने पक्षमा रहे पनि सत्तारुढ दल भित्रैको विवादले प्रकृया अगाडी नबढेको आरोप लगाएका छन् ।

अमेरिकाको सहयोग लिँदा चीन रिसाउँछ भनेर नेकपाका केही नेता विलापमा लागेको उनले बताए । त्यसैगरी चीनसँगको सीमा विवादमा छानबिन बिनै सरकारले भूमि अतिक्रमण नभएको बताउनु गलत भएको पनि नेता महातको भनाइ थियो ।

नेपाली कांग्रेसले सोमबार देशभर नै वर्तमान सरकारको कार्यशैली विरुद्ध प्रदर्शन आयोजना गरेको थियो । चितवनको नारायणगढमा आयोजित प्रदर्शनमा नेता महतले यी भनाइहरु राखेका हुन् । उनले नेपालमा सबैभन्दा पहिला वैदेशिक सहयोग दिने मुलुक अमेरिका भएको र अमेरिकी सहयोगको सुरुवात चितवनबाटै भएको बताए । मलेरिया उन्मुलन गरी बस्ती बसाल्न अमेरिकाले चितवनमा राप्ती दूत विकास परियोजना सुरु गरेको थियो ।

विस २०१३ सालमा यो परियोजना सुरु भएपछि चितवनमा सबै क्षेत्रबाट मान्छे आएर बस्ने आकर्षण बढेको उनले बताए । ‘त्यो बेला देखि नै कांग्रेस यस्ता सहयोगको पक्षमा छ । अमेरिकाले धेरै सहयोग गरेको छ नेपालमा । अमेरिका भनेको विश्वमा सबैभन्दा शक्तिशाली मुलक, विकासित मुलुक र सबैभन्दा धेरै आर्थिक सहायता पुर्‍याउने मुलुक हो । त्यही सन्दर्भमा आजभन्दा १३/१४ वर्ष अगाडी अमेरिकाले एमसीसी ल्यायो,’ नेता महतले भने ।

सबै सरकारले एमसीसी नेपाल ल्याउन प्रयास र पहल गरेको उनले बताए । उनले थपे,‘हुन त अहिलेको सरकार पनि यसलाई ल्याउने पक्षमा नै थियो । तर कम्युनिष्ट पार्टीभित्रै नै विरोध भयो । एकथरी नेता विलापमा लागे । अमेरिकाको सेना नै नेपाल आउँछ भन्छन् । यो आर्मी सम्झौता हो भन्छन् । यो कुरा सरासर झूट हो । अमेरिका र चीनको सम्बन्ध बिग्रेको छ । उसबाट ठूलो सहयोग लिँदा चीन रिसाउला भन्ने परेको होला ।’

भारतसँगका सीमा विवाद टु्ंग्याउन राष्ट्रिय सहमतिका साथ अगाडी बढे पनि चीनसँग त्यसो हुन नसकेको उनले बताए । उत्तरी सिमानामा देखिएको सिमाना सम्बन्धि विवादमा सरकारले चीनको पक्ष लिन थालेको नेता महतले बताए । ‘चीनतर्फ पनि विवाद छ । हुम्लाको माथिल्लो भाग, गोरखा, दोलखा र सोलुखुम्बुको सिमाना सारियो भन्ने छ । यसमा पनि वार्ता र छानबिन गर्नु पर्नेमा सरकारले नै त्यो चीन कै भुमि हो भन्छ,’ उनले भने ।

विरोध प्रदर्शनका लागि भरतपुरको चौबिसकोठीमा भेला भएका कांग्रेसका नेता कार्याकर्ताहरु जुलुससहित नारायणगढ पुगेका थिए । पुलचोकमा आयोजित सभालाई महतले सम्बोधन गरेका हुन् । उनले वैदेशिक सहयोग लिने सम्बन्धमा, सिमाना जोगाउने सम्बन्धमा सरकार गम्भीर नभएको र कोरोना महामारीमा पनि भ्रष्टचारमा लागेको आरोप लगाए । कम्युनिष्टलाई मत दिनेहरुले पश्चताम मान्न थालेको उनको भनाइ थियो ।

प्रकाशित : मंसिर २९, २०७७ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×