१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चीन रिसाउँछ भनेर नेकपा एमसीसीको विरोधमा लाग्यो : नेता महत

रमेशकुमार पौडेल

चितवन — नेपाली कांग्रेसका केन्द्रीय नेता रामशरण महतले वर्तमान सरकार एमसीसी पारित गर्ने पक्षमा रहे पनि सत्तारुढ दल भित्रैको विवादले प्रकृया अगाडी नबढेको आरोप लगाएका छन् ।

चीन रिसाउँछ भनेर नेकपा एमसीसीको विरोधमा लाग्यो : नेता महत

अमेरिकाको सहयोग लिँदा चीन रिसाउँछ भनेर नेकपाका केही नेता विलापमा लागेको उनले बताए । त्यसैगरी चीनसँगको सीमा विवादमा छानबिन बिनै सरकारले भूमि अतिक्रमण नभएको बताउनु गलत भएको पनि नेता महातको भनाइ थियो ।

नेपाली कांग्रेसले सोमबार देशभर नै वर्तमान सरकारको कार्यशैली विरुद्ध प्रदर्शन आयोजना गरेको थियो । चितवनको नारायणगढमा आयोजित प्रदर्शनमा नेता महतले यी भनाइहरु राखेका हुन् । उनले नेपालमा सबैभन्दा पहिला वैदेशिक सहयोग दिने मुलुक अमेरिका भएको र अमेरिकी सहयोगको सुरुवात चितवनबाटै भएको बताए । मलेरिया उन्मुलन गरी बस्ती बसाल्न अमेरिकाले चितवनमा राप्ती दूत विकास परियोजना सुरु गरेको थियो ।

विस २०१३ सालमा यो परियोजना सुरु भएपछि चितवनमा सबै क्षेत्रबाट मान्छे आएर बस्ने आकर्षण बढेको उनले बताए । ‘त्यो बेला देखि नै कांग्रेस यस्ता सहयोगको पक्षमा छ । अमेरिकाले धेरै सहयोग गरेको छ नेपालमा । अमेरिका भनेको विश्वमा सबैभन्दा शक्तिशाली मुलक, विकासित मुलुक र सबैभन्दा धेरै आर्थिक सहायता पुर्‍याउने मुलुक हो । त्यही सन्दर्भमा आजभन्दा १३/१४ वर्ष अगाडी अमेरिकाले एमसीसी ल्यायो,’ नेता महतले भने ।

सबै सरकारले एमसीसी नेपाल ल्याउन प्रयास र पहल गरेको उनले बताए । उनले थपे,‘हुन त अहिलेको सरकार पनि यसलाई ल्याउने पक्षमा नै थियो । तर कम्युनिष्ट पार्टीभित्रै नै विरोध भयो । एकथरी नेता विलापमा लागे । अमेरिकाको सेना नै नेपाल आउँछ भन्छन् । यो आर्मी सम्झौता हो भन्छन् । यो कुरा सरासर झूट हो । अमेरिका र चीनको सम्बन्ध बिग्रेको छ । उसबाट ठूलो सहयोग लिँदा चीन रिसाउला भन्ने परेको होला ।’

भारतसँगका सीमा विवाद टु्ंग्याउन राष्ट्रिय सहमतिका साथ अगाडी बढे पनि चीनसँग त्यसो हुन नसकेको उनले बताए । उत्तरी सिमानामा देखिएको सिमाना सम्बन्धि विवादमा सरकारले चीनको पक्ष लिन थालेको नेता महतले बताए । ‘चीनतर्फ पनि विवाद छ । हुम्लाको माथिल्लो भाग, गोरखा, दोलखा र सोलुखुम्बुको सिमाना सारियो भन्ने छ । यसमा पनि वार्ता र छानबिन गर्नु पर्नेमा सरकारले नै त्यो चीन कै भुमि हो भन्छ,’ उनले भने ।

विरोध प्रदर्शनका लागि भरतपुरको चौबिसकोठीमा भेला भएका कांग्रेसका नेता कार्याकर्ताहरु जुलुससहित नारायणगढ पुगेका थिए । पुलचोकमा आयोजित सभालाई महतले सम्बोधन गरेका हुन् । उनले वैदेशिक सहयोग लिने सम्बन्धमा, सिमाना जोगाउने सम्बन्धमा सरकार गम्भीर नभएको र कोरोना महामारीमा पनि भ्रष्टचारमा लागेको आरोप लगाए । कम्युनिष्टलाई मत दिनेहरुले पश्चताम मान्न थालेको उनको भनाइ थियो ।

प्रकाशित : मंसिर २९, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?