१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

गणेश राई

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।

सार्क मुलुकका खुला विश्वविद्यालयले मात्र अनलाइन माध्यमबाट पठनपाठन गर्दै आएका छन् । कोभिड–१९ को प्रकोप फैलिएपछि हरेक देशका प्रत्येक विश्वविद्यालयले अनिवार्य रूपमा भर्चुअल, अनलाइन, दूरशिक्षाका माध्यमबाट पठनपाठन गर्दै आएका छन् ।

श्रीलंकाका विभिन्‍न विश्वविद्यालयले आफ्नो विद्यार्थीमध्ये ९९ प्रतिशत अनलाइन तथा भर्चुअल माध्यममा जोड्न सकेको जनाइएको छ । उसले न्यून आय भएका विद्यार्थीलाई ऋण अनुदान दिएर प्रविधिमा पहुँच विस्तार गरेको छ । साथै, प्रविधिको प्रयोगबाट दूरशिक्षामा सहभागी विद्यार्थीको शैक्षिक गुणस्तर मूल्यांकन कार्यसमेत विधिसम्मत ढंगले गरेको छ ।

‘सार्कमा सबैभन्दा राम्रो श्रीलंकाले गरेको पाइयो,’ सम्मेलनमा सहभागी नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले भने, ‘यद्यपि उनीहरूको पनि नेटवर्कमा बेन्डविथको समस्या छ ।’ उसले ९० प्रतिशत मोबाइलमा आधारित कक्षा सुचारु राखेको पाइयो भने ६० प्रतिशतसँग व्यक्तिगत डिभाइसहरू रहेका छन् । डिजिटल, अनलाइन, दूर शिक्षाका माध्यमबाट पठनपाठन हुने सामग्रीबारे सबै विद्यार्थीलाई पर्याप्त जानकारी नहुनु समस्याका रूपमा लिइएको छ ।

अन्य मुलुकका विश्वविद्यालयका निम्ति श्रीलंका उदाहरणीय बनेको विश्वविद्यालय अनुदान आयोग (यूजीसी)का अध्यक्ष प्राध्यापक भीमप्रसाद सुवेदीले बताए । ‘हरेक मुलुकले अनलाइन शिक्षा निर्देशिका निर्माण गरेर दूरशिक्षाका माध्यमबाट पठनपाठन गरेका छन्,’ नेपालको प्रतिनिधित्व गरेका अध्यक्ष सुवेदीले भने, ‘तर, नेपालको हकमा ठूला विश्वविद्यालयले विद्यार्थी संख्या बढी हुनु र दुर्गममा रहेकाले प्रविधि पहुँच विस्तार गर्न सकेको छैन् ।’ नेपालका ११ मध्ये त्रिभुवन विश्वविद्यालयले ७६ प्रतिशत उच्च शिक्षाको हिस्सा धान्दै आएको छ ।

सबै राष्ट्रका निम्ति अनलाइन माध्यमबाट दिइने शिक्षाको गुणस्तरप्रति साझा चुनौतीका रूपमा देखापरेको ठम्याइएको छ । ‘प्रत्येक देशको उच्च शिक्षा हेर्ने निकायले समसामयिक मामलामा चासो बढाएका छन्,’ अध्यक्ष सुवेदीले भने, ‘सार्कै स्तरमा शिक्षामा गुणस्तर बढाउने साझा प्रयास भएको छ ।’ सन् २०१९ मेईमा नेपालमा सम्पन्न साउथ एसिया युनिभर्सिटी ग्रान्स कमिसनको बैठकले पाकिस्तानमा सम्पन्न गर्ने निर्णय गरेको थियो । कोभिड–१९ ले गर्दा ढिलो गरी पाकिस्तानकै पहलमा भर्चुअल माध्यमबाट सम्मेलन गरिएको अध्यक्ष सुवेदीले बताए ।

अनलाइन शिक्षाका निम्ति प्रविधि विकास तथा आविस्कार गर्ने कार्यमा भारत अगाडि रहेको छ । भारतमा १३ वटा खुला विश्वविद्यालय छन् । नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, अफगानस्तान एक–एक वटा खुला विश्वविद्यालय छन् । भुटानमा भने खुला विश्वविद्यालय छैन । त्यसैगरी भुटानले ९९ प्रतिशत थ्रीजी र फोरजी सेवा विस्तार गरेको जनाइएको छ । अफगानस्तानले एमेजन क्लाउड कम्प्युटिङ टेक्नोलोजी विस्तार गरेको छ ।

प्रकाशित : मंसिर २९, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?