१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेकपाको सरकारबाट लोकतन्त्र र गणतन्त्र नै धराप : नेता केसी

प्रकाश बराल

बागलुङ — कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेकपाको सरकारबाट लोकतन्त्र र गणतन्त्र नै धरापमा परेको आरोप लगाएका छन् ।

नेकपाको सरकारबाट लोकतन्त्र र गणतन्त्र नै धराप : नेता केसी

कांग्रेसले सोमबार बागलुङमा गरेको विरोध र्‍याली र सभामा बोल्दै नेता केसीले सरकारले ‘निर्वाचित भस्मासुर’ बनेर देश र लोकतन्त्रको अस्तित्व बर्बादीमा धकेलेको बताए । ‘निर्वाचित भस्मासुरहरुले देश र व्यवस्थालाई नै धरापमा पारेका छन्,’ नेता केसीले भने, ‘जनताको मत लिएर लोकतान्त्रिक पद्धति सिध्याउने काम सरकार र नेकपाका नेताहरुले गरेका छन् ।’

उनले हिटलरले पनि आफू निर्वाचित भएर निरंकुशता लादेको इतिहास छ भन्दै वर्तमान सरकारले पनि निरंकुशता र संविधान विरोधी काम गरेर आफ्नो पतनको बाटो आफैं खनेको केसीले आरोप लगाए । सेक्युरिटी प्रिन्टिङ प्रेस, वाइडबडी, ओम्नी र यति समूह, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका दर्जनौं विषयमा भ्रष्टाचारलाई सरकारी संरक्षण भएको केसीको आरोप छ ।

तनहुँमा भएको घटनामा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र व्यवहारले कांग्रेस जाग्‍ने एउटा निहुँ बनेको भन्दै केसीले यसअघिका दर्जनबढी घटनामा कांग्रेस कार्यकर्तामाथि सरकारी आक्रमण भएको पनि उनले आरोप लगाए । ‘कांग्रेसका जिल्ला सभापति, महासमिती सदस्य र केन्द्रीय सदस्य सम्मलाई सरकारी तहबाट आक्रमण भएको थियो,’ उनले भने, ‘पौडेल आक्रमणको घटनामा भिजिलान्ते र प्रशासन पनि प्रयोग गरेर सरकारले लोकतन्त्रको खिल्ली उडायो ।’

केसीले फरक विचारलाई शत्रु ठान्ने कम्युनिष्टबाट बहुदलीय व्यवस्था र बहुलबाद नै खतरामा परेको टिप्पणी गरे ।

प्रकाशित : मंसिर २९, २०७७ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?