कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अब राजतन्त्र फर्कंदैन : महामन्त्री कोइराला

देवनारायण साह

मोरङ — कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिए ।

अब राजतन्त्र फर्कंदैन : महामन्त्री कोइराला

‘कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ,’ उनले भने, ‘तर मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन ।’

पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएको भन्दै जेठमा गर्नुपर्ने पनि बताए । ‘पार्टीको क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउनै तीन महिना लाग्छ,’ उनले भने, ‘त्यसैले फागुनसम्ममा क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर जेठमा महाधिवेशन गराउनुपर्छ ।’

उनले आउँदो महाधिवेशनमा आफूहरूका तर्फबाट जो भए पनि सभापतिको उम्मेदवार एक जना मात्रै हुने स्पष्ट पारे । आउँदो महाधिवेशनका लागि आफू र शेखर कोइरालामध्ये को सभापतिको उम्मेदवार हुने भन्ने निर्णय पार्टीका नेता, कार्यकर्ता र आपसी छलफलले टुंगो लाग्ने उनको भनाइ थियो ।

तनहुँमा गाउँपालिकाले नै पुल उद्घाटनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाएको अवस्थामा सरकारले गरेको ज्यादतीको विरोधमा देशभरि उत्रिन बाध्य भएको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्ने बताए । संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको उपस्थिति नहुनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको पनि उनको भनाइ थियो ।

कांग्रेस अब कहिल्यै कम्युनिस्टसँग सहकार्य गरेर अघि नबढ्ने पनि कोइरालाले दाबी गरे । २०४६ सालमा कांग्रेसले कम्युनिस्टसँग सहकार्य गरेर मुलुकमा दोस्रो शक्तिका रूपमा स्थापित गराउनु ठूलो भूल भएको उनले बताए ।

प्रकाशित : मंसिर २९, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?