१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना संक्रमितलाई ‘पोस्ट कोभिड’ समस्या

फातिमा बानु

काठमाडौँ — कोरोना संक्रमण निको भएकालाई पनि विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । जसका कारण लक्षणसहित थला परेका बिरामी चिन्तामा छन् । यस्तै एक उदाहरण हुन्, काठमाडौंका ३६ वर्षीय एक चिकित्सक । बिरामीको उपचारमा खटिँदा एक महिनाअघि उनी संक्रमित भए । ज्वरो आउने, पखाला लाग्ने, छाती दुख्ने समस्याले २० दिन थला परे । अहिले उनी भाइरसमुक्त भइसके तर पहिलेभन्दा फरकखाले समस्याले उनलाई सताइरहेको छ ।

कोरोना संक्रमितलाई ‘पोस्ट कोभिड’ समस्या

‘अलिकति हिँड्नेबित्तिकै थाक्छु, मुटुको धड्कन बढिरहन्छ,’ उनले भने, ‘छाती दुख्छ, कोरोनाले मेरा अगंहरू बिगारिसक्यो भनेर चिन्ता भइरहन्छ ।’ निको भएर बिरामीको उपचारमा फर्किए पनि उनी पहिले जस्तो सक्रिय हुन सकेका छैनन् ।

वैदेशिक रोजगारका लागि कतार पुगेकी काठमाडौंकी ३५ वर्षीया एक महिला उतै कोरोना संक्रमित भइन् । १४ दिन आइसोलेसनमा बसेर निस्केपछि उनी भाइरसमुक्त भइन् तर डरमुक्त हुन अझै संघर्ष गरिरहेकी छन् । भाइरसले छोडेकै छैन भन्ने शंका हटाउन उनले पाँच पटकभन्दा बढी पीसीआर परीक्षण गरिन् । संक्रमणले शरीरको कुन अंगमा के असर पारेको छ भनेर सिटी स्क्यान, एक्सरे, रगत र अन्य विभिन्न परीक्षण पनि गराइन् । रिपोर्टहरू सामान्य आएपछि उनको मानसिक अवस्था असामान्य नै भइरह्यो । चिकित्सकको सुझावमा उनले मानसिक रोग विशेषज्ञको सल्लाह पनि लिइन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई ‘एन्जाइटी डिस्अर्डर’ भएको रहेछ ।

लक्षणसहित कोरोना संक्रमण भएर आइसोलेसनमा बस्दा नआत्तिएका ४२ वर्षीय पुरुष निको भइसकेको एक महिना बितेपछि पनि चिन्तित भइरहेका छन् । रातभरि निद्रा नलाग्ने, सास फेर्न गाह्रो भए जस्तो हुने, कता जाऊँ के गरुँ भनेर छटपटी हुने समस्याबाट उनी गुज्रिरहेका छन् । ‘फेरि पीसीआर गर्नुपर्छ कि भन्ने लागेको छ,’ उनले भने, ‘म अब पहिले जस्तो सामान्य हुन सक्दिनँ कि भन्ने सोचाइ आउँछ ।’ उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई ‘पोस्ट कोभिड एन्जाइटी डिस्अर्डर’ भएको हो । अहिले उनी ‘एन्टी एन्जाइटी’ औषधि सेवन गरिरहेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार कुनै पनि भाइरल संक्रमण निको भएपछि थकान हुने, कमजोरी हुने जस्ता समस्या आउनु सामान्य हो । तर, कोरोना संक्रमणपछिका समस्या भने अन्य संक्रमणका असरभन्दा केही कडा देखिएका छन् । ‘डेंगु, चिकन गुनिया जस्ता इन्फेक्सनमा पनि यस्तै हुन्छ । कुनै–कुनै संक्रमणको असर त आजीवन पनि रहन सक्छ,’ उनले भने, ‘कोरोनाका बिरामी संसारभर एकै समयमा धेरै देखिएकाले पोस्ट कोभिडको समस्या गम्भीर जस्तो लागेको हो, सबैलाई समस्या नआउन पनि सक्छ ।’ उनका अनुसार पोस्ट कोभिडमा मुटुको गति बढ्ने, लामो समय खोकी लाग्ने, निद्रा नलाग्ने, डर लाग्ने, छाती भारी हुने जस्ता समस्याबाट गुज्रिरहेका छन् । अधिकांश संक्रमितमा शारीरिकभन्दा पनि मानसिक समस्या बढी देखिएको छ । ‘के भएको भेउ नपाउने, अत्यास लाग्ने, निदाउन नसक्ने जस्तो हुन्छ,’ उनले भने, ‘निको भइसके पनि रोग सधैं रहिरहन्छ भनेर महसुस गर्छन्, रोग फर्किन्छ कि भनेर डराइरहने गर्छन् ।’

यस्तो समस्या धेरै कम व्यक्तिमा हुने भएकाले आत्तिनु नपर्ने डा. सुवेदीले बताए । ‘यसको औषधि भनेको आराम हो, केही लक्षण देखियो भने सोहीअनुसार सिटामोल, खोकीको औषधिसम्म खान सकिन्छ,’ उनले भने, ‘सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाहमा उपचार गर्न पनि सकिन्छ ।’

मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार पोस्ट कोभिड एन्जाइटीका समस्या लिएर बिरामी उपचारका लागि अस्पताल आउने क्रम बढिरहेको छ । संक्रमणमुक्त भए पनि उनीहरूमा विभिन्न खाले मानसिक समस्या देखिएको उनले बताए । ‘संक्रमित भएर लामो समय लक्षण नहराएका, कोरोनाका कारण परिवारका सदस्य गुमाएका र लामो समय संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा यस्ता समस्या बढी देखिएको छ,’ उनले भने, ‘उनीहरू शारीरिक समस्या भए जस्तो महसुस गर्छन् तर अधिकांशको त्यो मानसिक समस्या हो ।’ पोस्ट कोभिड एन्जाइटीबाट बचाउन संक्रमितहरूलाई आइसोलेसनमा बस्दादेखि नै परामर्श दिनुपर्ने उनले बताए ।

प्रकाशित : मंसिर २८, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?