२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

जो बुबाको विरोधमा उत्रिए

नगेन्द्र अधिकारी

काभ्रे — नेकपा केन्द्रीय सदस्य र पूर्वराजदूत कमानसिंह लामाको स्थायी घर काभ्रेको साविक मादनकुडारी गाविस हो । प्रधानपञ्चसमेत रहेका उनका बुबा चन्द्रसिंह लामा जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भएपछि उपनिर्वाचनमा कमानसिंहका काका तोरणबहादुर पञ्चायतको पक्षबाट उम्मेदवार थिए ।

जो बुबाको विरोधमा उत्रिए

‘म २०२८ सालमै मालेको सदस्य भइसकेको थिएँ, उहाँको पारिवारिक पृष्ठभूमि पञ्च भए पनि बुबासँगै विद्रोह गर्नुभयो,’ राजनीतिमा उनीसँग उतारचढावको सम्बन्ध भएका नेकपा (क्रान्तिकारी माओवादी) का नेता कान्छाराम तामाङले भने, ‘पञ्चायतको निर्वाचनमा हामी जनपक्षीय उम्मेदवार बन्दा उहाँहरूसँग झगडा पनि पर्‍यो, पछि पारिजात दिदीसँगको संगतले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा कमानसिंह प्रगतिशीलतर्फको उम्मेदवार हुनुभएको रहेछ ।’

कान्छारामका अनुसार कमानसिंहले साहित्यकार पारिजातमार्फत निर्मल लामाको सम्पर्कमा पुगेपछि नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता लिएका थिए । काठमाडौंको आरआर क्याम्पसमा प्रगतिशीलतर्फबाट स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवार बनेका कारण कमानसिंहलाई पक्राउ गरी भद्रगोल जेल लगिएको थियो । २०३३ सालमा कमानसिंहलगायतको टोलीसँग मिलेर गाउँमा पञ्चायतविरुद्ध नाटक प्रदर्शन गरेको स्मरण गर्छन् कान्छाराम । ‘त्यसको शिलालेख पनि छ, त्यसलाई नमास्न भनेर चौतारो आदि बनाएर राखेका छौं,’ उनले भने ।

२०४३ सालमा जिल्ला नै निर्वाचन क्षेत्र बनाएर निर्वाचन हुँदा मालेबाट कृष्णप्रसाद सापकोटा, स्वतन्त्र उम्मेदवार गोविन्दनाथ उप्रेती, चौथो महाधिवेशनको समर्थनमा कमानसिंह लामा र पञ्चायतबाट शैलेन्द्र उपाध्याय र सत्यमान लामाहरू उम्मेदवार थिए । कमानसिंह उक्त निर्वाचनमा पराजित भएका थिए ।

२०४८ सालमा भएको संसदीय निर्वाचनमा तत्कालीन जनमोर्चा नेपालबाट उम्मेदवार भएका कमानसिंह काभ्रे क्षेत्र नं. १ मा निर्वाचित भएका थिए । कान्छारामका अनुसार पार्टी फुटेपछि कमानसिंह एकता केन्द्रतर्फ लागे । दोस्रो जनआन्दोलनपछि २०६४ मा भएको निर्वाचनमा उनी विजयी हुन सकेनन् । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा उनलाई दक्षिण कोरियाको राजदूत नियुक्त गरिएको थियो ।

उनी काभ्रेको राजनीतिमा प्रत्यक्ष संलग्न भएनन् । राजनीतिसँगै उनी व्यापार र पर्यटन क्षेत्रमा पनि संलग्न थिए । हिमालय सीमापार व्यापार संघको सदस्यसमेत रहेका कमानसिंहले ट्रेकिङ एजेन्सी चलाएका थिए । पछिल्लो समय जलविद्युत्लगायतका क्षेत्रमा पनि उनको लगानी थियो । लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको थियो ।

प्रकाशित : मंसिर २७, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?