कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्याराग्लाइडिङमा हेलचेक्य्राइँ गरेको भन्दै पाइलटलाई स्पष्टीकरण

भिडियोमा प्याराग्लाइडिङकै क्रममा फूल टिप्ने, फेवा तालको पानी छुनेजस्ता गतिविधि देखिएपछि प्राधिकरणले आठ पाइलटलाई अनिश्चित कालका लागि उडानमा रोक लगाएको छ ।
पाइलट भन्छन्– ‘यस्ता गतिविधि खेल–कौशलभित्रै पर्ने भएकाले उडानमा रोक लगाउने होइन, स्पष्ट नियम बनाउनुपर्छ ।’
दीपक परियार

पोखरा — साबिकको मूल्यभन्दा आधा छुटमा प्याराग्लाइडिङ गर्न पाइने भएपछि पोखराको सराङकोटमा दसैंछेका ग्राहकको घुइँचो लाग्यो । प्याराग्लाइडिङ गर्दै गरेका भिडियो ग्राहकले धमाधम सामाजिक सञ्जालमा राखे । 

प्याराग्लाइडिङमा हेलचेक्य्राइँ गरेको भन्दै पाइलटलाई स्पष्टीकरण

तिनैमध्येका केही भिडियोमा पाइलटले ग्राहकलाई प्याराग्लाइडिङका क्रममा रूखबाट फूल टिपेर दिने गरेको, फेवातालको पानी छुवाउने गरेको देखियो । त्यसै क्रममा मंसिर ८ गते प्याराग्लाइडिङ दुर्घटनामा पाइलट राजु नेपालीको मृत्यु भयो । यात्रु युवती गम्भीर घाइते भइन् ।

प्याराग्लाइडिङको नियामक निकाय नेपाल हवाई खेलकुद संस्था (ना) र प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइलटले फूल टिप्ने क्रममा दुर्घटना भएको देखियो । प्याराग्लाइडिङका क्रममा सुरक्षा–व्यवस्थामा हेलचेक्य्राइँ गरेको भन्दै संस्थाले अनुसन्धान थाल्यो ।

यसै क्रममा नागरिक उड्डयन प्राधिकरणले आठ पाइलटलाई अनिश्चित कालका लागि उडानमा रोक लगाएको छ । गत मंगलबार प्राधिकरणले नालाई पत्र लेख्दै एसियाली खेलकुदका पदक विजेता युकेश गुरुङसहित ८ जनालाई उडानमा रोक लगाएको हो । गुरुङसहित संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा, अञ्जन कुँवर र सहिल खानको नाम सूचीमा थियो । तर प्राधिकरणले प्रतिबन्ध लगाएका मध्ये सहिल खान पाइलट नभई यात्रु भएको पत्ता लागेको छ । अञ्जन कुँवर सोलो पाइलट हुन् । उनले टेन्डम (यात्रुसहित) फ्लाइट कोर्स गरिरहेका छन् ।

प्राधिकरणले नासँग उडानका क्रममा अवाञ्छित क्रियाकलाप गर्ने पाइलटको नाम मागेको थियो । तर नाले पठाएन । सामाजिक सञ्जालमा भेटिएका भिडियोका आधारमा प्राधिकरणले ती पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको हो । तिनमा केही अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका पाइलट पनि छन् । क्यानले तीन दिनभित्र स्पष्टीकरण दिन भनेपछि यतिखेर उनीहरू काठमाडौंमा छन् । प्राधिकरणले शुक्रबार ६ पाइलटसँग स्पष्टीकरण सोध्दै छ ।

नाका अध्यक्ष कृष्ण भण्डारीले पाइलटलाई के–कस्तो कारबाही हुन्छ भन्नेबारे प्राधिकरणले नै निर्णय गर्ने बताए । उनले भने, ‘प्राधिकरणको फ्लाइट सेफ्टी विभागको निर्देशन अनुसार ती पाइलटलाई उडानमा रोक लगाइएको छ ।’ प्राधिकरण पोखराका प्रमुख भोलाप्रसाद गुरागाईंले उडानका क्रममा यात्रु र आफ्नो समेत सुरक्षामा पाइलटले ध्यान दिनुपर्नेमा लापरबाही गरेको देखिएको बताए । ‘यो ठूलो गल्ती हो,’ उनले भने, ‘के–कस्तो कारबाही हुन्छ भन्ने छानबिनपछि निर्णय हुन्छ ।’

पाइलटहरूले भने वास्तविकता नबुझी टिकटकको भिडियोलाई प्रमाण मानेर उडानमा रोक लगाइएको भन्दै दुखेसो पोखेका छन् । केही पाइलटले गरेका त्यस्ता कार्यलाई छानबिनको दायरामा ल्याइए पनि सबैलाई एउटै डालोमा मुछ्न नहुने उनीहरूको भनाइ छ । कुशल प्याराग्लाइडिङ पाइलटले सावधानीपूर्वक ‘एक्रोब्याटिक्स’ गर्नु खेल–कौशल रहेको एक पाइलटले बताए । ‘विदेशमा पनि फूल टिप्ने, पानी छुने, बिजुलीका पोलको नजिकबाट उड्ने चलनलाई वागा फ्लाई भनिन्छ, जुन हाम्रो देशमा अभ्यासमा छैन, नियम पनि छैन,’ उनले भने, ‘प्राधिकरणले यसबारे नियम बनाओस्, हामी सहयोग गर्न तयार छौं ।’

क्यानले खेलाडीको इतिहास अध्ययन नै नगरी उडानमा रोक लगाएको प्रतिबन्धमा परेका पाइलट एलिस थापाले बताए । उनी अन्तर्राष्ट्रियस्तरका प्यारा ट्रेनर हुन् । ‘नेपालमा उडानका बेला के गर्ने र के नगर्ने भन्ने मापदण्ड छैन,’ उनले भने, ‘पानी छुने, फूल टिप्नेजस्ता गतिविधि दक्ष पाइलटका बीच मात्रै हुन्छ । यो फन फ्लाइटको अब नियम बन्नुपर्छ ।’

प्रकाशित : मंसिर २६, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?