१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ब्रिटिस र सिंगापुर भर्तीका निम्ति अन्तिम प्रतिस्पर्धामा ७ सय ७० युवा बोलाइए

तीमध्ये ब्रिटिसमा ३४० र सिंगापुरमा १४० जनामात्र लैजाने
गणेश राई

काठमाडौँ — बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा बोलाएको छ ।

ब्रिटिस र सिंगापुर भर्तीका निम्ति अन्तिम प्रतिस्पर्धामा ७ सय ७० युवा बोलाइए

ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा रेक्रुट इन्टक/आरआई–२०२१ का निम्ति बिहीबार (१० डिसेम्बर) नामावलीसहित बोलाएको हो । त्यसरी बोलाइएका युवाहरूमा मनाङ, मुस्ताङ, डोल्पा, सिरहा, धनुषालगायत ५६ जिल्लाका छन् ।

उसले कोरोना भाइरस महामारीका कारण गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिएको छ । यो वर्षको छनोट प्रक्रिया नियमित तालिकाभन्दा एक महिना पछाडि धकेलिएको छ । आगामी जनवरी २३ बाट सिंगापुर र फेब्रुअरी २ बाट ब्रिटिस गोर्खाको छनोट हुनेछ । यसअघि जनवरीमै छनोट प्रक्रिया पूरा गरिन्थ्यो ।

अन्तिम छनोटका पोखरामा हुनेछ । त्यस निम्ति नेपालको पूर्वी भेगबाट र पश्चिम भेगबाट आधा–आधा संख्यामा प्रतिस्पर्धी छानिएका छन् । अन्तिम प्रतिस्पर्धामा सिंगापुर पुलिस फोर्सका निम्ति २ सय १० जना बोलाइएका छन् । कोरोना भाइरसको स्वास्थ्य प्रोटोकल अपानाएर ३०–३० जनाको समूहमा स्पर्धा गराइने छ । तीमध्ये १ सय ४० जना छनोट हुनेछन् ।

ब्रिगेड अफ गोर्खाजका निम्ति देशभरिबाट ५ सय ६० जनालाई प्रतिस्पर्धामा बोलाइएका छन् । जसमा पूर्व क्षेत्रका २ सय ८० र पश्चिम क्षेत्रका २ सय ८० जना छन् । उनीहरूलाई ३२ जनाको समूहमा प्रतिस्पर्धा गराइने छ । अन्तिममा ३ सय ४० जना छनोट हुनेछन् । यो संख्या गत वर्षभन्दा कम हो । गत वर्ष ब्रिटिसमा ४ सय ३२ जना र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो ।

ब्रिटिस आर्मी मुख्यालयले छनोट प्रक्रियाको माध्यम मेडिकल, एजुकेसनल र इन्टरभ्यु आरआई–२० को जस्तै हुने जनाएको छ । कोरोना भाइरस संक्रमण अवस्थाको आधारमा शारीरिक परीक्षाहरू निर्धारण हुने भनिएको छ । त्यस निम्ति छनोट प्रक्रियामा उच्च प्रदर्शन दिन शारीरिक तथा मानसिक तवरले तन्दुरुस्त रहन सुझाइएको छ । ‘सेलेक्सन आउनु अगाडि तपाईंहरूलाई कोरोना भाइरस संक्रमणबाट जोगिनुहोस्,’ वेबसाइटमा भनिएको छ, ‘हामी तपाईंहरूको आगमनमा पीसीआर टेस्ट लिनेछौं । यदि तपाईंको टेस्ट पोजिटिभ आएमा अथवा तपाईंमा कोरोना भाइरसको लक्षण देखिएमा तपाईं गोर्खा भर्ती छनोट प्रक्रियाबाट स्वत बाहिरिनु हुनेछ ।’

काठमाडौंस्थित क्लास रूम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले यो वर्षको छनोट प्रक्रिया छोटो र सहज तुल्याएको बताए । ‘यो पटक डोको क्यारी, जर्किन क्यारी, लिफ्ट एण्ड क्यारी कटौती गरिएका छन्,’ राईले भने, ‘छनोट प्रक्रियामा २ किलोमिटर दौड ८ मिनेट १० सेकेन्डमा पार गर्नु पर्नेछ । हेभिङ (ओभर आर्म) १२ पटक, मिट थाइपुल कम्तिमा ७६ किलो, ४ किलोको मेडिसिन बल थ्रो ३ दशमलव १० मिटर फाल्नु पर्नेछ ।’ त्यसैगरी एजुकेसनमा फ्री–राइटिङ ३० मिनेट, सुनाइ र बोलाइ १५ मिनेट हुनेछ । अन्तिममा अन्तरवार्ता लिइने छ । मेडिकल टेस्ट गत वर्षकै कायम गरिएको जनाइएको छ ।

मुख्यालयले भर्ती छनोटका निम्ति कसैको झुटो आश्वासनको विश्वास नगर्न सचेत तुल्याएको छ । भर्ती हुन सफल युवाले विगतका वर्षझैं पारिवारिक भेटघाट गर्न पाउने छैनन् । टेलिफोन र भिडियो कलमार्फत् कुराकानी गर्न पाउने छन् ।

प्रकाशित : मंसिर २६, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?