कान्तिपुरकर्मी भट्टराई पुरस्कृत

काठमाडौँ — पत्रकारिताका माध्यमबाट महिला हकहितको संरक्षण र संवर्द्धनका क्षेत्रमा विषयगत मुद्दाहरु निरन्तर उठाएबापत राष्ट्रिय महिला आयोगले कान्तिपुरकर्मी देवेन्द्र भट्टराईलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

कान्तिपुरकर्मी भट्टराई पुरस्कृत

पत्रकार भट्टराईले गोदामचौर बलात्कार काण्ड, बलात्कारपछि हत्या गरिएकी बालिका अमृता नेपालीको ८ महिनादेखि अस्पतालमा रहेको शव र दोलखामा घरेलु हिंसा पीडित बनेर न्यायबाट विमुख मतिरा जिसीको बारेमा निरन्तर बस्तुपरक समाचार लेखेर पीडितहरुले न्याय पाएको मूल्यांकन आधारमा आयोगले पुरस्कृत गरेको हो । आयोगले एकैसाथ रेडियो नेपालकी पत्रकार रुबी श्रेष्ठलाई पनि पुरस्कृत गरेको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान एवं आयोगको ‘खबर गरौं ११४५ हेल्पलाइन’ सेवाको तेस्रो स्थापना दिवस अवसरमा ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्य, भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापा र एसएसपी दुर्गा सिंहलाई पनि सम्मानित गरिएको थियो । समारोहमा आयोगकै कर्मचारीमध्ये हेल्पलाइन अभियानमा सबैभन्दा सक्रिय पार्वती सुवेदीलाई पनि पुरस्कृत गरिएको थियो ।

महिला आयोगमा आयोजित समारोहमा आयोगकी सचिव शान्ता अधिकारी भट्टराई, राष्ट्रसंघमा महिला विरुद्धमा हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि(सिड) कमिटी उपाध्यक्ष वन्दना राणा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहसचिव रोशनीकुमारी श्रेष्ठलगायतले महिला हक–अधिकार र उद्धार समन्वयका क्षेत्रमा भइरहेका कामकारबाहीबारे मन्तव्य राखेका थिए । ४ वर्षदेखि आयुक्त पदाधिकारी रिक्त रहेको महिला आयोगमा अहिले सबैभन्दा प्रभावकारी ढंगमा ‘११४५ हेल्पलाइन’ सञ्चालनमा रहेको र यो नम्बरमा निशुल्क फोन गरेर देशभरका पीडित र सहयोग आकांक्षी महिलाले आयोगको भरथेग पाइरहेको कार्यक्रममा जानकारी दिइएको थियो । आफ्नो कुनै प्रकारको हिंसा वा कठीनाइमा परेको सूचना आयोगको ‘खबर गरौं ११४५’ मा दिनासाथै प्रहरी तथा अन्य सेवा प्रदायक संस्थासग समन्वय गराइदिने, पीडितलाई मनोसामाजिक परामर्श दिइने र पीडितलाई स्वास्थ्य उपचार, अल्पकालिन आवास, नि:शुल्क कानुनी सहयोग र सुरक्षा प्रदान गरिंदै आएको छ ।

आयोगले सञ्चालन गरेको सम्बाेधन परियोजना ‘खबर गरौं ११४५’की प्राविधिक सल्लाहकार पलिता थापाका अनुसार कोराना संकट सुरु भएयता गत चैत महिनापछि मात्रै ३ सय १३ वटा घरेलु हिंसाका मुद्दा हेल्पलाइनमा सुनुवाइ भएको र ७ सय ६६ केसमा मनो–सामाजिक परामर्श दिनुपरेको जानकारी दिएकी थिइन् । उनका अनुसार हेल्पलाइन सुरु भएयता ३ वर्षको अवधीमा २ लाखभन्दा बढी महिला मुद्दाका बारे हेल्पलाइनमा फोन सम्पर्क भएको थियो थियो । ‘यीमध्ये ४ हजारभन्दा बढी महिलाको केसमा महिला आयोगले बितेको ३ बर्षमा प्रत्यक्ष सहयोग–समन्वय प्रदान गर्न सकेको छ,’उनले भनिन् ।

विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको यो हेल्पलाइनको अवधि अब ६ महिना मात्रै बाँकी रहेकोमा आयोग सचिव शान्ता अधिकारी भट्टराईले यो सहयोग–उद्धारको दरिलाे आधारलाई स्थायी संयन्त्र बनाएर देशका सम्पूर्ण स्थानीय निकायमा र एउटै कल–नम्बरका आधारमा सञचालनमा ल्याउनु प्रभावकारी हुने बताइन् । हालै मात्र सर्वोच्च अदालतले पनि देशभरका सबै स्गथानीय निकायमा महिला हेल्पलाइन अनिवार्य हुनुपर्छ भनेर आदेश दिएको थियो ।

यी समाचार पनि पढ्नुहोस् :

प्रकाशित : मंसिर २६, २०७७ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?