कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दाहाल–नेपाल समूहले गर्‍यो वाग्मती प्रदेशस्तरीय जिल्ला पदाधिकारी भेला

बबिता शर्मा

काठमाडौँ — एकअर्कामाथि गुटबन्दी गरेको आरोप लगाएका नेकपाका दुवै समूह आन्तरिक छलफलमा व्यस्त छन् । यहीक्रमममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बिहीबार काठमाडौंमा वाग्मती प्रदेश जिल्ला पदाधिकारीको भेला गरेको छ । केही दिन अगाडि यो समूहले विद्यार्थीको समेत काठमाडौंमै भेला गरेको थियो । 

दाहाल–नेपाल समूहले गर्‍यो वाग्मती प्रदेशस्तरीय जिल्ला पदाधिकारी भेला

बिहीबार कोटेश्वर पेरिसडाँडामा भएको भेलामा वाग्मती प्रदेशका दाहाल–नेपाल निकट जिल्ला तहका नेता सहभागी थिए । भेलाको संयोजन वाग्मती प्रदेश कमिटी ईन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले गरेका थिए । भेलामा दाहाल–नेपाल निकट जिल्ला इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव गरी ३०–४० जना सहभागी रहेको बताइएको छ ।

स्थायी कमिटी बैठक एक साता सारेका बेला दुवै समूहले गुटगत छलफल बढाएका हुन् । स्थायी कमिटी बैठक मंसिर २८ मा बस्दैछ । पार्टीभित्र देखिएको संकट समाधानका लागि दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफल गर्ने गरी बैठक एक साता स्थगित गरिएको थियो ।

भेलामा पार्टीमा देखिएको संकट र जिल्लामा यसको प्रभावबारे छलफल भएको प्रदेश कमिटी अध्यक्ष दाहालले बताए । ‘अहिले पार्टी संकटमा छ । यस्तो बेला के–कसो हो भन्ने साथीहरुलाई चासो छ । अर्कोतर्फ जिल्लाको स्थिति पनि बुझ्न पर्‍यो भनेर जिल्लाका नेतृत्वमा रहेका साथीहरुबीच अनौपचारिक छलफल भएको हो,’ प्रदेश कमिटी अध्यक्ष दाहालले भने, ‘त्यहाँ सबै साथीहरुले पार्टीलाई विधि पद्धतिमा चलाउनु पर्छ र त्यसैअनुसार एकताबद्ध भएर जानु पर्छ, फुट्न हुन्न भन्नुभयो । तर, नफुट्ने नाममा विधि तोडेर पार्टीलाई अराजकतातिर लान दिनुहुन्न । विधि, प्रक्रियामा लैजान पर्‍यो भन्ने सुझाव दिनुभएको छ ।’

वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल नेपाल समूहले जिल्ला जिल्लामा पनि भेला गरेर वस्तुस्थितिबारे जानकारी दिने तयारी गरेको छन् । ‘जिल्लामा पनि यस्तै भेला गरेर समग्र अवस्थाबारे बताउने भनिएको छ,’ भेलामा सहभागी एक नेताले भने ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली समूहको पनि बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएको थियो । ओली समूहले मदन भण्डारी फाउण्डेसनमार्फत् जिल्ला–जिल्लामा कार्यक्रम पनि गर्दै आएको छ ।

वाग्मती प्रदेश अध्यक्ष दाहालले यस्ता भेला ओली समूहबाट धेरै भएको बताए । ‘अरू साथीहरु मदन भण्डारी फाउन्डेसनको नामबाट सबै जिल्लाभरि गुटको भेला गर्दै हिँड्नु भएको छ, बालुवाटारमा सँधै हुन्छन् तर हामीले त्यस खालका भेला गरेका छैनौं,’ दाहालले भने ।

बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । भेटमा ओलीले सहकार्यका लागि वरिष्ठ नेता माधव कुमार नेपालसँगको सहकार्य तोड्न दाहाललाई आग्रह गरेका थिए । तर, उनीहरूबीच कुनै सहमति नभएको बताइएको छ ।

यसअघि ओली र दाहालले पेस गरेको राजनीतिक प्रस्ताव र पत्रमा एक अर्कामाथि गुटबन्दीको आरोप लगाएका थिए ।

प्रकाशित : मंसिर २५, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?