पुस २ देखि काठमाडौं–दिल्ली उडान

सुरज कुँवर

काठमाडौँ — कोभिड महामारीका कारण ८ महिनादखि रोकिएको नेपाल–भारत व्यावसायिक उडान पुस २ देखि सञ्चालन हुने भएको छ । तत्काललाई काठमाडौं–दिल्ली मात्रै उडान हुनेछ । बेंगलुरु, मुम्बई, कोलकाता र बनारस उडान भने खुलाइएको छैन ।

पुस २ देखि काठमाडौं–दिल्ली उडान

नेपालले गत बिहीबार गरेको उडानको प्रस्तावलाई स्वीकृत गरेको नोट भारतले बिहीबार कूटनीतिक नियोगमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतलाई पठाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनका अनुसार नेपाली ध्वजावाहक नेपाल एयरलायन्स र भारतीय ध्वजावाहक एयर इन्डियाले दिनमा काठमाडौं–दिल्ली एक/एक उडान गर्न पाउने छन् । चैत ९ गतेदेखि रोकिएको नियमित उडान २ सय ७१ दिनपछि खुला हुँदा भारतमा उपचारका लागि जाने बिरामी, विद्यार्थी, व्यापारीलगायतलाई राहत मिल्नेछ ।

प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक राजकुमार क्षत्रीका अनुसार भारतीय वायुसेवाले पुस २ गतेदेखि नै दिल्ली–काठमाडौं उडान गर्न अनुमति मागिसकेको छ । नेपाल एयरलायन्सले शुक्रबार भारत र नेपालका हवाई निकायमा अनुमतिका लागि आवेदन दिँदै छ । निगमका एक अधिकारीले काठमाडौं–दिल्लीको उडान पुस २ गतेदेखि गर्न टिकट खुला गरिसकेको जानकारी दिए । दुवै देशले तोकेका यी दुई सरकारी ध्वजावाहकले भारतीय र नेपाली नागरिकलाई एउटा गन्तव्यबाट अर्को गन्तव्यसम्म मात्रै ल्याउने–पुर्‍याउने छन् । यी दुई गन्तव्यबाट हाललाई तेस्रो मुलुक आउजाउ गर्न सकिने छैन । ‘दुई मुलुकका नागरिकबाहेक कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिले मात्रै उड्न पाउनेछन्,’ महानिर्देशक पोखरेलले भने, ‘पर्यटक तथा काठमाडौंबाट युरोप, अमेरिका वा अन्य मुलुक जान सकिने छैन ।’

यो उडानमा यात्रुले ७२ घण्टासम्मको पीसीआर जाँच नेगेटिभ भएको प्रयोगशालाको रिपोर्ट अनिवार्य पेस गर्नुपर्नेलगायतका नियम बनाइएको छ । भारतले करिब दुई महिनाअघि नेपाललाई एयर–बबल मोडलबाट उडान सञ्चालन गर्न सकिने प्रस्ताव पठाएको थियो । उसको प्रस्तावलाई अघिल्लो साता मात्रै नेपाल सरकारले स्वीकृत गर्दै भारतलाई गएको बिहीबार नोट पठाएको थियो । नेपालका लागि खाडी र अन्य मुुलुकले यसअघि नै उडान सञ्चालन गरिसकेका छन् ।

प्रकाशित : मंसिर २५, २०७७ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?