कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एआईजीमा पोखरेलको बढुवा, महानिरीक्षक बन्ने बाटो खुल्यो

जयसिंह महरा

काठमाडौँ — सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा वरिष्ठ डीआईजी विश्वराज पोखरेललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेललाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

एआईजीमा पोखरेलको बढुवा, महानिरीक्षक बन्ने बाटो खुल्यो

गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावमा निर्णय गर्दै पोखरेललाई एआईजीमा बढुवा गरिएको ती मन्त्रीले जानकारी दिए । 'आजको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरिएको छ । गृहमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उहाँलाई एआईजीमा बढुवा गरिएको हो,' उनले भने ।

नेपाल प्रहरीमा एक एआईजी दरबन्दी थपेर पोखरेललाई बढुवा गरिएको हो । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो ।

दरबन्दी थपिएपछि गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको गृहमन्त्रालयको बढुवा समितिले मंसिर १५ गते पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सोही थप भएको दरबन्दीमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत डीआईजी पोखेललाई बढुवा गरिएको हो ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकले एआईजी बढुवा प्रक्रिया रोक्न निर्देशन दिएको थियो । संसदीय समितिको निर्देशन बेवास्ता गर्दै सरकारले पोखरेललाई एआईजीमा बढुवा गरेको हो । उनलाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरिएको ती मन्त्रीले जानकारी दिए । नेपाल प्रहरीमा पोखरेललाई नै एआईजी बनाउन दरबन्दी थपिएको र त्यसले प्रहरी संगठनको मनोबल कमजोर हुने र अनुशासनहीनता हुने भन्दै राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।

पोखरेल २०४९ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । २०७६ वैशाखमा डीआईजी भएका उनको एआईजीमा बढुवा भएसँगै हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकास पाएपछि प्रहरी नेतृत्वमा पुग्ने बाटो खुलेको छ । उनी अबको डेढ वर्षपछि नेपाल प्रहरीको नेतृत्वमा पुग्नेछन् । उनको बढुवाप्रति उनका ब्याजीहरू भने असन्तुष्ट रहेका छन् ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलाललाई सचिवमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रकाशित : मंसिर २५, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?