कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अपांगता भएका ६७ प्रतिशत महिलामाथि यौन तथा लैंगिक हिंसा

‘रिपोर्ट कसरी र कहाँ गर्ने भन्ने उनीहरूलाई थाहा छैन, हाम्रो न्याय प्रणालीमाथि विश्वास नगर्ने ४३ प्रतिशत छन् ।’
विद्या राई

काठमाडौँ — बौद्धिक अपांगता भएकी विराटनगरकी एक बालिका गत भदौ ४ गते छिमेकीबाटै बलात्कृत भइन् । परिवारका सबै सदस्य मेलापात गएको मौका छोपेर स्थानीय ३५ वर्षीय सञ्जय राजवंशीले बलात्कार गरेका थिए । शारीरिक रूपमा तन्दुरुस्त देखिए पनि उमेरअनुसार बालिकाको बौद्धिक विकास छैन ।

अपांगता भएका ६७ प्रतिशत महिलामाथि यौन तथा लैंगिक हिंसा

लवाइखुवाइ, सरसफाइदेखि हरेक दैनिकीमा सहयोगी चाहिन्छ । उनले सांकेतिक भाषामा बलात्कार गरेको अभिभावकलाई सुनाएको आधारमा पीडित पक्षले मोरङ प्रहरीमा उजुरी दिए ।

छिमेकीबाटै एसिड खुवाइएका बाराको जितपुरसिमरा उपमहानगरपालिकाका बौद्धिक अपांगता भएका १८ वर्षीय पवन साहको आइतबार निधन भयो । उनका बुबा नन्दकिशोरका अनुसार गत साउन १८ गते खेल्न घरबाहिर निस्किएका बेला नजिकै मदिरा पसल गर्ने मुकेश गुप्ताले ललाइफकाई पवनलाई एसिड खुवाएका थिए । बारामा उपचार सम्भव नभएपछि साउन २० गते उनलाई ललितपुरको पाटन अस्पताल ल्याइयो ।

शारीरिक रूपमा कमजोर भएकाले तत्कालै शल्यक्रिया गर्न नमिल्ने भएपछि अस्पतालले असोज १५ गते डिस्चार्ज गरेर घर फर्कायो । त्यसको चार महिनापछि उनको निधन भयो । सार्वजनिक जग्गामा टहरो हालेर बस्दै आएका उनको परिवारले दिनभर ज्यालामजदुरी गरेर छाक टार्नुपर्छ । गुप्ता थुनामा परेपछि पीडक पक्षले साह परिवारलाई धम्क्याउँदै आएको छ ।

यी त प्रतिनिधि घटना हुन् । राष्ट्रिय अपांग महासंघले मंगलबार सार्वजनिक गरेको ‘नेपालमा अपांगता भएका व्यक्तिहरूको मानवअधिकारको अवस्था, मानवअधिकार उल्लंघनसम्बन्धी संकलन गरेका तथ्यपरक घटनाहरू र अध्ययन’ मा भनेको छ, ‘गम्भीर अपांगताको अवस्था भएका, महिला र बालबालिका धेरै मानवअधिकार हननको सिकार भएका छन् ।’ महासंघले ३ वर्षयता अपांगता भएका व्यक्तिको मानवअधिकारको अवस्थालाई विश्लेषण गरेको छ ।

विश्लेषणमा बलात्कार तथा बलात्कार प्रयास, घरेलु हिंसा तथा अवहेलना, रोजगारीमा विभेद, कुटपिट, एसिड खुवाइएको लगायतका विभिन्न ११५ घटना समावेश छन् । लैंगिक आधारमा हेर्दा सबैभन्दा बढी मानवअधिकार हनन अपांगता भएका महिलामा छ जुन ७०.६१ प्रतिशत छ । जातिगत रूपमा सबैभन्दा बढी दलित समुदायका अपांगता व्यक्तिहरूमाथि छ । विश्लेषणमा समावेश ११५ घटनामध्ये दलित समुदायका २७, जनजातिका १६, मधेसीका १५ छन् । सबैभन्दा बढी घरेलु हिंसा तथा अवहेलनाका ३२ वटा छन् । नेपाल अपांग महिला संघकी अध्यक्ष टीका दाहाल सूचना र न्याय प्रणाली नै पहुँचयुक्त नहुँदा यस्ता घटना बढेको बताउँछिन् ।

यौन तथा लैंगिक हिंसाका आधारमा हेर्दा ६७ प्रतिशत अपांगता भएका महिला हिंसाको सिकार हुने गरेको प्रतिवेदनमा उल्लेख छ । अपांगता भएका महिलामाथि हुने यौन तथा लैंगिक हिंसा १६ प्रतिशत मात्र रिपोर्टिङ हुने गरेका छन् । ‘रिपोर्टिङ कसरी र कहाँ गर्ने भन्ने कुरा नै उनीहरूलाई थाहा नहुने, हाम्रो न्याय प्रणालीमाथि विश्वास नगर्नेहरू धेरै (४३ प्रतिशत) पायौं,’ महासंघका प्रशासन व्यवस्थापक मनीष प्रसाईंले भने । इज्जत जाने डरले रिपोर्टिङ नगर्ने १५ प्रतिशत छन् भने हिंसा सबैभन्दा धेरै शैक्षिक संस्थामा २१ प्रतिशत र दोस्रोमा घरभित्रै १८ प्रतिशत छ ।

‘अपांगता भएकाले हिंसा, दुव्र्यवहार, असहजता सहेर बस्नुपर्छ, कम्प्रमाइज गर्नुपर्छ भन्ने आममानसिकता छ,’ महासंघकी उपाध्यक्ष रमा ढकालले भनिन्, ‘जसले गर्दा अपांगता भएका महिलामाथि हुने मानवअधिकार हननका घटना झन् धेरै छन् ।’

प्रकाशित : मंसिर २५, २०७७ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?