कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रधानाध्यापक हत्यापछि गाउँले त्रासमा

बीपी प्रतिष्ठानमा श्रेष्ठको शव पोस्टमार्टम, अन्त्येष्टि आज
विनोद भण्डारी

विराटनगर — उत्तरी मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार हत्या भएपछि बस्ती नै शोकमा छ । विकट पहाडी क्षेत्रमा पर्ने बर्खेमा सात घरपरिवार छन् । गाउँले त्रसित अवस्थामा छन् ।

प्रधानाध्यापक हत्यापछि गाउँले त्रासमा

वडाध्यक्ष नरबहादुर राईका अनुसार ती सबै घरमा मंगलबार बिहानदेखि चुलो बलेको छैन । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले घरबाट अपहरणपछि घाँटी रेटेर हत्या गरेका थिए । ‘घरदेखि करिब एक किलोमिटर पर भएको घटनापछि बस्ती पूरै त्रासमा छ,’ राईले भने, ‘कोही त घरबाट बाहिर पनि निस्केका छैनन् ।’

उनका अनुसार यातायात नपुगेको बर्खेका सात घर डेढ–दुई सय मिटरको फरकमा छन् । उनीहरू सबैले असुरक्षित महसुस गरेको राईले बताए । साविकको रमितेखोला, मधुमल्ला, टाँडी र जाँते गाविसका केही भाग समेटेर हालको मिक्लाजुङ गाउँपालिका बनेको हो । सिंगो रमितेखोला हाल मिक्लाजुङको वडा १ हो ।

विद्यालयमा पढाउनुपर्ने भएकाले श्रेष्ठ दम्पती बर्खेमा बस्दै आएको थियो । उनीहरूका एक छोरा र एक छोरी छन् । छोराबुहारी रमितेदेखि ५ घण्टा टाढाको वडा २ स्थित रचना (साविकको टाँडी गाविस) मा बस्छन् । गाउँपालिका प्रमुख देवी आचार्यका अनुसार श्रेष्ठकी पत्नी धनकुमारी मंगलबारै छोरा–बुहारीको घरमा सरेकी छन् ।

श्रेष्ठको शवको मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको छ । आचार्यका अनुसार उनको शव रातिसम्ममा छोराको घरमा ल्याएर बिहीबार बिहान बक्रहा खोलाको नुनसरी घाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।हत्याको जिम्मेवारी चन्द समूहले लिए पनि हत्यामा संलग्नको पहिचान हुन नसकेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । जिल्ला प्रहरी र प्रदेश प्रहरीको विशेष टोलीसहित धनकुटा, इलाम र पाँचथरको प्रहरी टोलीलाई परिचालन गरेर घटनामा संलग्नको खोजी भइरहेको उनले जनाए । घटनास्थल रमिते धनकुटा, इलाम र पाँचथरसँग जोडिएको छ । मंगलबारदेखि मिक्लाजुङलाई सिल गरेर संलग्नहरूको खोजी र अनुसन्धान जारी राखेको एसपी खड्काले बताए । चन्द समूहको मेची–कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी आफ्नो संगठनका नाममा सुराकी गरेको भन्दै श्रेष्ठको हत्याको जिम्मेवारी लिएको थियो ।

इन्चार्ज प्रतापले हस्ताक्षर गरेको विज्ञप्तिमा श्रेष्ठकै सुराकीमा २०७६ फागुन २६ गते बसेको ब्युरोको बैठकमा प्रहरीले हस्तक्षेप गरेको तथा उनकै सुराकीमा प्रहरीले गत कात्तिक १२ गते ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई प्रहरीले पक्राउ गरेको उल्लेख छ ।

रमितेसहित उत्तरी मोरङको माथिल्लो क्षेत्रमा सुरक्षा निकायको उपस्थिति कमजोर भएकाले त्यस स्थानमा चौकी राख्ने तयारी भइरहेको एसपी खड्काले जानकारी दिए । विगतमा पनि त्यस क्षेत्रमा प्रहरी चौकी राख्न स्थानीयले माग गरेका थिए । अब त्यस क्षेत्रमा चौकी राख्न आवश्यक तयारी गरिएको उनले बताए ।

उत्तरी क्षेत्रका तत्कालीन गाविस रमिते, भोगटेनी, याङशिला, टाँडी, केराबारी, जाँते र लेटाङको पहाडी क्षेत्रमा सुरक्षा निकायको उपस्थिति छैन । त्यस क्षेत्रमा करिब तीन किलोमिटर टाढाको उर्लाबारी, पथरी, लेटाङ र बेलबारी इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : मंसिर २५, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?