कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तिलाठीमा सशस्त्र र नेपाल प्रहरीका जवानबीच झडप

अवधेशकुमार झा

राजविराज — नेपाल–भारत सीमा नाका सप्तरीको तिलाठीमा बुधबार दिउँसो सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ ।

तिलाठी –कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

भारतबाट नेपाल आइरहेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको विवाद गालीगलौज हुँदै हात हालाहाल सम्म पुगेको ती प्रत्यक्षदर्शीले बताए । कोरोना महामारीपछि नेपाल सरकारले सीमा सिल गरेको भएपनि सीमामा दैनिक सयौंको संख्यामा मानिस ओहोरदोहोर गर्ने गरेका छन् भने तस्करी मौलाएको छ । सदरमुकाम राजविराजबाट सादा पोसाकमा गएको नेपाल प्रहरीको टोली सशस्त्रको चेकजाँचस्थल नजिक भारतबाट आउँदै गरेकाहरुलाई चेक गर्न थालेपछि दुवै सुरक्षा निकायबीच भनाभन सुरु भएको थियो ।

सशस्त्र प्रहरी बलको तिलाठी बीओपीका सशस्त्र प्रहरी निरीक्षक सुशिल केसीले दुवै सुरक्षा निकायका जवानबीच 'मिस अन्डरस्ट्यान्डिङ' भएको बताए । ‘नेपाल प्रहरीका साथीहरु सादा पोसाकमा हाम्रो चेकजाँचस्थ्ल नजिक आएका थिए,पारीबाट आउनेहरुसित जथाभावी कुरा गर्न थालेपछि हाम्रो जवानहरुले कहाँबाट आएको भनेर सोधपुछ गर्ने क्रममा मिस अन्डरस्ट्यान्डिङ भएको हो,’केसीले भने ।

जिल्ला प्रहरी कार्याल्य सप्तरीका डीएसपी भुवनेश्वर साहले घटनाबारे बुझिरहेको बताए । ‘सामान्य केही विवाद भएको हो भन्ने खबर आएको छ,विस्तृत रुपमा बुझदैछु,’ डिएसपी साहले भने ।

सरकारले नेपाल भारत सीमा सिल गरेपछि पछिल्लो समय भारतीय क्षेत्रबाट तस्करी बढेको छ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै तैनाथ रहेपनि दिनभरी सयौं मानिस भारतीय बजार गएर फर्किने गरेका छन् भने राति पनि तस्करी हुँदै आएको छ ।

प्रकाशित : मंसिर २४, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?