कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भौतिक दूरी, स्वास्थ्य मापदण्ड पालना गरेर संसद् चलाउन सकिने विज्ञहरूको सुझाव

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९)को संक्रमण जारी रहेकै अवस्थामा कसरी संसद् सञ्चालन गर्ने भन्ने बारेमा संघीय संसद सचिवालयले विज्ञहरूसँग छलफल गरेको छ ।

भौतिक दूरी, स्वास्थ्य मापदण्ड पालना गरेर संसद् चलाउन सकिने विज्ञहरूको सुझाव

स्वास्थ्य क्षेत्रका विज्ञहरूले भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर संसद् बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । उनीहरूले संसद् सञ्चालनको विधिबारे सबै राजनीतिक दलहरूबीच एकमत हुनुपर्ने धारणा राख्दै विभिन्न सुझाव दिएका छन् ।

संघीय संसद् सचिवालयले बुधबार स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेर संसद् चलाउने उपायको खोजी गरेको हो । सचिवालयले सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन र जनप्रशासन विज्ञ एवं पूर्वसांसद जनकराज जोशीसँग छलफल गरेको थियो ।

छलफलमा सरुवा रोग विशेषज्ञ डा. पुनले सतर्क भएर स्वास्थ्य मापदण्ड पुरा गरी संसद्को बैठक सञ्चालन गर्न सकिने सुझाव दिए । भौतिक दूरी र स्वास्थ्य मापदण्ड इमान्दारीसाथ पालना गर्न पनि उनले आग्रह गरेका थिए ।

जोशीले सदनको बैठकमा थोरै सांसदको उपस्थिति गरेर चलाउन सक्ने गरी व्यवस्था गर्न सुझाव दिएका थिए । संसद् बैठकमा भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने व्यवस्थालाई कडाइका साथ पालना गर्नसके बैठक चलाउँदा कुनै समस्या नहुने बताए ।

भौतिक दुरीको पालना हुन नसक्ने तथा लामो छलफल हुने अवस्थामा हाइब्रिड तरिकाले संसद् चलाउन सकिने सुझाव पनि जोशीको थियो । अहिलेको नियमावलिमा हाइब्रिड संसद्‌बारे केही व्यवस्था नभएकोले सभामुखले एक संकल्प प्रस्ताव ल्याएर तत्काल निकाश दिन सक्ने उनको सुझाव थियो ।

छलफलमा विज्ञहरूले संसद् चलाउने विषयमा राजनीतिक दलहरूबीच मतैक्यता हुन आवश्यक रहेको पनि बताएका छन् ।

संसद्‌को हिउँदे अधिवेशनको तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार पुस १७ गतेभित्र संसद्‌को हिउँदे अधिवेशन बोलाइसक्नुपर्छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अधिवेशन बोलाउने तयारी गरिरहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छन् ।

प्रकाशित : मंसिर २४, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?