कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोनाको डरले औल झरेनन् घुन्सावासी

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–७ घुन्साका सोनाम शेर्पाको परिवार यो वर्ष औल नझर्ने भएको छ । जाडो छल्न औल झर्नेको गणना भइरहँदा शेर्पाले आफू र आफ्नो परिवार नझर्ने टुंगोमा पुगेको बताए । ‘खास त आर्थिक मन्दी छ, काठमाडौंमा घर र डेरा हुनेहरू गए,’ सोनामले भने, ‘खर्च नहुनेहरूले यहीँ बस्नुपर्ने भएको छ ।’ सहरी क्षेत्रमा कोरोनाको जोखिम धेरै भएकाले पनि बेँसी नझर्ने निर्णय गरेको उनले बताए ।

कोरोनाको डरले औल झरेनन् घुन्सावासी

पेम्बाफुटी शेर्पाको परिवार पनि यो वर्ष औल झर्ने छैनन् । झन्डै एक वर्षको अवधिमा कुनै आर्थिक कारोबार नभएका कारण औल झर्ने अवस्था नभएको उनले बताइन् । ‘टुरिस्ट आएनन्, याक, चौंरी पनि बिक्री भएन,’ पेम्बाफुटीले भनिन्, ‘घिउ, छुर्पी पनि चलेन, केका खर्चले औल झर्नु सकिन्छ र ।’ चिसामा आफ्नै गाउँमा आगो तापेर बस्ने उनले सुनाइन् ।

घुन्साको गुम्बाका प्रमुख लामा पेम्बा छेम्वेल लामा भने काठमाडौं पुगिसकेका छन् । पारिवारिक काम पनि भएकाले उनी चाँडै काठमाडौं गएका हुन । पाँच जनाको उनको परिवारले काठमाडौं बौद्धमा कोठा भाडामा लिएका छन् । मासिक १८ हजार बुझाउने गरी वार्षिक भाडामा लिएको कोठामा तीन/चार महिना बस्छन् र बाँकी समय ताला लगाएर राख्छन् । ‘अब माघ अन्तिमतिर फर्किन्छु होला,’ लामाले भने, ‘यो वर्ष जाडो कस्तो हुन्छ, गाउँमा दाजु मात्रै एक जना हुनुहुन्छ त्यसैले म अलिक चाँडो फर्किनुपर्ने भएको छ ।’ उनका दाजुले भने यो वर्ष गाउँमै बस्ने निधो गरेका छन् ।

चार वर्ष अघिसम्म घुन्सा गाउँमा पुस पहिलो सातादेखि पूरै ताला लाग्थ्यो । हुनेखानेहरू काठमाडौं, दार्जिलिङ र ताप्लेजुङ सदरमुकाम फुङलिङमा झरेर बस्थे । कम आयस्रोत भएकाहरू नजिकैको बस्ती फलेमा झर्थे । घुन्सामा रहेको सीमा प्रहरी कार्यालयका प्रहरी कर्मचारी हिउँदमा पनि त्यही चौकीमा बस्न थालेपछि स्थानीयले पनि अभ्यास गर्न थाले ।

गत वर्ष पनि १२ परिवार घुन्सामै बसेका थिए । यो वर्ष त्यो संख्या बढेर ३०/३२ हुने सम्भावना रहेको कञ्चनजंघा संरक्षण क्षेत्रका कर्मचारी टाँसी शेर्पा बताउँछन् । ‘अहिलेसम्म चार/पाँच घर गइसक्यो, अब तीन/चार घर जाने तयारीमा छ,’ उनले भने, ‘कति परिवार रहने हो भन्ने चाहिँ पुसको पहिलो सातामा मात्रै निश्चित हुन्छ तर ७५ प्रतिशत त यही गाउँमै बस्छन् ।’

घुन्सामा ४६ परिवारको बसोबास रहेको टाँसीले बताए । खम्बाछेन, लोनाम, सेलेलेका बासिन्दा भने घुन्सा झरिसकेका छन् । घुन्साको न्यूनतम तापक्रम कति हुन्छ यकिन छैन । तापक्रम नाप्ने उपकरण नभएका कारण स्थानीयले आफू कति चिसोमा बसेको छु भन्ने जानकारी नपाएका हुन् । यो वर्ष भने घुन्सा फाउन्डेसनका अध्यक्ष याङजोम शेर्पाले घुन्सा र ओलाङचुङगोलामा तापक्रम नाप्ने उपकरण पठाइदिएकी छन् ।

कञ्चनजंघाको आधार शिविर घुन्सा ३१ सय मिटर उचाइमा छ । घुन्सा खोलाको किनारमा रहेको यो बस्ती वरिपरि पहाडले घेरेको छ । उपत्यकाका बीचमा भएकाले बिहान ढिलो घाम उदाउँछ र बेलुका चाँडै अस्ताउँछ । खाल्टामा भएकाले हिउँ पनि प्रशस्तै थुप्रिन्छ । अहिले नै पनि बिहान पानी जम्ने भएकाले बेलुकै भरेर भाँडामा राख्ने र बिहान भाँडो तताएर पानी झार्ने गरेका छन् ।

त्यसैले, यहाँको तुलनामा पारिलो र भिरालो क्षेत्रमा रहेको फलेमा यहाँका बासिन्दा झर्ने गरेका थिए । यो सिजनमा त्यहाँ जाडो पनि छल्ने र आलु रोप्न माटो पनि बनाउने गरेका थिए । आलुको उत्पादन राम्रो नभएपछि विगत तीन/चार वर्षदेखि नै आलु रोप्न छोडेको सोनामले बताए । फले र घुन्साको उचाइ भने दुई सय मिटर मात्रै अन्तर छ । फले २९ सय मिटर उचाइमा छ ।

कञ्चनजंघाको पूर्वी र उत्तरी दुवै मोहडा जानका लागि घुन्सा भएरै जानुपर्ने भएकाले यहाँका बासिन्दाको मुख्य आम्दानी पर्यटन व्यवसाय हो । अधिकांशका घर होमस्टे हुन् भने होटल खुल्ने क्रम पनि जारी छ । पर्यटन व्यवसायमा आबद्ध नभएकाहरू चौंरी, याकलगायत पशुपालनमा छन् ।

प्रकाशित : मंसिर २४, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?