२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

फेरि जोडिँदै विवेकशील-साझा

पार्टीको आन्तरिक लोकतन्त्रमा कमजोरी र समिति प्रणालीलाई बुझ्ने विषयमा असमानताले विगतमा विभाजन गराएको निष्कर्ष
ऋषिराम पौड्याल

काठमाडौँ — साझा धारणा भएकाहरू एकै ठाउँमा रहेर वैकल्पिक राजनीतिक शक्ति बन्ने भन्दै विवेकशील नेपाली दल र साझा पार्टीले बुधबार पुनः एकीकरण गर्ने भएका छन् । यसअघि एकीकरण गरेको १७ महिनामा दुवै दल विभाजित भएका थिए ।

फेरि जोडिँदै विवेकशील-साझा

विगतमा भएका कमजोरीप्रति क्षमायाचना गर्दै सुसंस्कृत राजनीतिक मूल्य मान्यतामा आधारित भई आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने दाबीसहित यी दुई दलले फेरि एकता गर्न लागेका हुन् । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा’ प्रस्ताव गरिएको छ ।

नयाँ पार्टीमा महाधिवेशन नहुन्जेल मूल नेतृत्वमा एक अध्यक्ष र एक संयोजक रहनेछन् । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् । कार्यकारी अधिकार दुवैलाई हुनेछ । वरीयतामा भने मिश्र पहिलो र पाण्डे दोस्रो हुने प्रस्ताव गरिएको छ । एकीकरणपछि दुवै पार्टीका ६५–६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । केन्द्रीय सचिवालय दुवै पार्टीबाट १३/१३ जना रही २६ जनाको हुने प्रस्ताव छ । चुनाव चिह्न र झन्डा ‘तराजु’ हुनेछ । यसअघि यो चिह्न साझा पार्टीले प्रयोग गर्दै आएको थियो ।

केन्द्रीय समिति बैठकको आह्वान र एजेन्डा तय भने अध्यक्ष र संयोजकको सहमतिमा गरिनेछ । साझा पार्टीका प्रवक्ता शरदराज पाठकले यो एकीकरणले नेपाली राजनीतिमा नयाँ आशा सञ्चार गर्ने दाबी गरे । उनले सत्तापक्षले सरकार छ भन्ने अनुभूति जनतालाई दिन नसकेको र प्रतिपक्ष आफ्नो भूमिकाबाट चुकेको टिप्पणी गरे । परम्परागत राजनीतिक दलले मुलुकलाई गरिबी, भ्रष्टाचार र कुशासनको दुष्चक्रमा फसाएकाले अब त्यसलाई विवेकशील साझा पार्टीले तोड्ने दाबी उनले गरे ।

‘विगतमा भएका गल्ती सच्याएर वैकल्पिक राजनीतिक शक्ति बन्ने खालको योजना र कार्यक्रम तय गरिनेछ,’ पाठकले भने । विवेकशीलले गत चैत र साझाले गत असारमा एकीकरणका लागि वार्ता गर्ने निर्णय गरेका थिए । पार्टीको आन्तरिक लोकतन्त्रमा कमजोरी र समिति प्रणालीलाई बुझ्ने र सन्तुलनमा राख्ने विषयमा असमानताले विगतमा पार्टी विभाजन गराएको दुवै दलको निष्कर्ष छ । युवाले आफूलाई ऊर्जावान र योग्य सम्झने एवं अर्का थरीले आफूलाई अनुभवी, पाको र राजनीति बुझेको ठान्ने प्रवृत्ति विभाजनको अर्को कारण भएको वार्ता टोलीले तयार पारेको प्रस्तावमा उल्लेख छ । विवेकशीलबाट निर्देश सिलवालको संयोजनमा रञ्जु दर्शना र रमेश पौडेल तथा साझाबाट समीक्षा बाँस्कोटा संयोजक एवं किरण श्रेष्ठ र केशव दाहाल सदस्य रहेको वार्ता संयोजन समिति गठन गरिएको थियो । उक्त समितिले तयार गरेको प्रस्तावका आधारमा भएको छलफलपछि एकीकरण गर्ने सहमति भएको हो ।

नीतिगत र व्यावहारिक मतभेद रहेको भन्दै विवेकशील पार्टीका उपाध्यक्ष अजिता राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् । विवेकशील र साझाबीचको राजनीतिक मुद्दा नटुंगिएको भन्दै उनीहरू एकता प्रक्रियामा सहभागी नभएका हुन् । उपाध्यक्ष राईले भनिन्, ‘अहिले हामी जहाँ छौं, त्यहीँ रहन्छौं ।’ पार्टीको आन्तरिक लोकतन्त्र, धर्म र संघीयताको विषयमा प्रस्ट हुनुपर्ने उल्लेख गर्दै उनले पार्टीलाई सबल बनाउनेतर्फ नेतृत्व नलागेको बताइन् । आफूहरूले एकीकरण गर्न किन हुँदैन भनेर बुझाउन नसकेको उनको भनाइ छ । विवेकशीलमा ३५ जनाको केन्द्रीय समिति छ । विवेकशील पार्टीका तत्कालीन अध्यक्ष उज्ज्वल थापाले जारी गरेको १८ पेजको आन्तरिक लोकतन्त्रसम्बन्धी विषयलाई बेवास्ता गरेको उनको धारणा छ ।

वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गराउने भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तत्कालीन माओवादी केन्द्रबाट अलग भएर चार वर्षअघि नयाँ शक्ति पार्टी खोलेका थिए । तर अहिले उनले आफ्नो पार्टीलाई संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकीकरण गराएका छन् । आफैंले नेतृत्व गरेको पार्टीलाई वैकल्पिक शक्ति बनाउने आधार तयार गर्न नसकेपछि उनी अन्य दलसँग एकीकरणको प्रक्रियामा जोडिएका हुन् । उनी अहिले तराई केन्द्रित दलहरूसहित बनेको जनता समाजवादी पार्टीलाई वैकल्पिक शक्तिका रूपमा विकास गर्ने बताउँछन् । गत संसदीय निर्वाचनमा कांग्रेससँग मिलेर संघीय संसद्मा नयाँ शक्तिका तर्फबाट भट्टराई आफैं निर्वाचित भएका थिए ।

पूर्वपञ्चहरूको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न नाममा जुट्दै, फुट्दै गरेर आफूलाई वैकल्पिक शक्तिका रूपमा विकास गर्ने दाबी गर्दै आएको छ । तर नेकपा र कांग्रेसको विकल्पका रूपमा जनतालाई सन्देश दिन सकेको छैन । यस्तो मेसोमा विवेकशील र साझा पनि वैकल्पिक शक्ति निर्माणको दाबी गर्दै राजनीतिक मैदानमा फुट्दै, जुट्दै गरिरहेका छन् । पछिल्लो पटक कास्कीमा भएको संघीय संसद्को उपनिर्वाचनमा साझा पार्टीकी उम्मेदवार रजनी केसी र विवेकशीलकी जमुना शर्माको मत जोड्दा एक हजार नाघेन ।

संघीय संसद्को निर्वाचनमा वाग्मती प्रदेशसभामा दुवै पार्टीले तीन सिट जितेका थिए । विवेकशील साझा वाग्मती प्रदेश संसदीय दलका नेता रमेश पौडेल विगतमा निर्वाचनमा आएको मत परिणामले पनि दुवै पार्टी एकीकरण हुन आवश्यक देखिएको बताए । उनले भने, ‘कास्कीको उपनिर्वाचन पनि एउटा उदाहरण हो ।’ मुख्यतः आन्तरिक खिचातानीकै कारण पार्टी फुट्ने गरेका उदाहरण धेरै छन् । विवेकशील नेपाली दल तथा साझा पार्टीले दोस्रो पटक एकीकरण गरेर आफूलाई फेरि वैकल्पिक शक्तिका रूपमा विकास गराउने घोषणा गरेका छन् ।

यसअघि पनि दुवै दलले आफू नै वैकल्पिक शक्तिका रूपमा उदय हुने घोषणा गरेका थिए । तर एकीकरण भएको १७ महिनामै विभाजन भयो । साझा पार्टीकी वार्ता समिति संयोजक समीक्षा बाँस्कोटा विगतमा भएको कमजोरी हटाएर अघि बढ्दा जनविश्वास प्राप्त गर्न सकिने बताउँछिन् । खासगरी पछिल्लो समय गणतन्त्रविरुद्ध सडकमा नारा लागेको, सरकार र प्रतिपक्षले जनताको पक्षमा काम गर्न नसकेको अवस्थामा वैकल्पिक लोकतान्त्रिक शक्तिको खाँचो महसुस भएको तर्क उनको छ । ‘तेस्रो ठूलो वैकल्पिक शक्तिको आवश्यकता अपरिहार्य छ,’ उनले भनिन् ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ विश्वासिलो नेतृत्व र सही एजेन्डा भए वैकल्पिक राजनीतिक शक्ति स्थापित हुने धारणा राख्छन् । विचार र कार्यक्रम जनताको चाहनाअनुसार मिल्नुपर्ने उनले बताए । भारतको भारतीय जनता पार्टी छोटो समयमा स्थापित भएको उदाहरण दिँदै उनले भने, ‘नेतृत्वको भनाइ र जीवनशैली नमिलेसम्म जनताले विश्वास गर्दैनन् ।’

राजनीतिक मामिलालाई नजिकबाट नियाल्ने संविधानविद् विपिन अधिकारी एजेन्डाभन्दा पनि राजनीति वर्चस्वका लागि हुने एकता र विग्रहले वैकल्पिक शक्ति बन्न नसक्ने बताउँछन् । ‘कसैलाई भाग पुगेन भने अवसरका लागि गठन र विग्रह हुने परम्पराले नयाँ राजनीतिक शक्ति स्थापित हुन सक्दैन,’ उनले भने, ‘मधेस केन्द्रित पार्टीलाई उदाहरणका रूपमा लिन सकिन्छ ।’

प्रकाशित : मंसिर २४, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?