कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीसीटीभीको फुटेजले भेटियो ७ लाख ४० हजार

‘वर्षौंदेखि इन्डियामा खाइनखाई काम गरेर कमाएको पैसा हराएपछि रोएँ । सर्वस्व गुमेजस्तो भयो । अहिले त खुसीको सीमा छैन,’ दत्तबहादुरले भने, ‘पसिना बगाएर कमाएको पैसा प्रहरीको मद्दतले फर्कियो ।’
ठाकुरसिंह थारू

नेपालगन्ज — भारतमा काम गरी घर फर्किएका दाङको घोराही–५ धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथको झोला रिक्सामा छुट्यो । रिक्सा आँखाबाट ओझेल भएपछि हेक्का भयो, उनको सातोपुत्लो उड्यो । झोलामा नगद ७ लाख ४० हजार रुपैयाँ थियो । सोमबार उनी जमुनाहा नाका हुँदै नेपालगन्ज आएका थिए ।

सीसीटीभीको फुटेजले भेटियो ७ लाख ४० हजार

नेपालगन्जको पुष्पलाल चोकबाट कारकाँदो चोकसम्म जाने क्रममा पैसा रहेको झोला अटोरिक्सामा छुटेको थियो । अटोरिक्साको नम्बर पनि याद भएन । हराएको झोला खोज्न जिल्ला प्रहरी कार्यालय बाँकेमा उनले उजुरी दिएपछि खोजतलास सुरु भयो । सडकका पोलहरूमा राखिएका सीसीटीभी क्यामराको फुटेजबाट प्रहरीले अनुसन्धान सुरु गरेपछि अटोरिक्सा पत्ता लाग्यो । चालकले ल्याएर फिर्ता दिएपछि उक्त झोला सकुशल फेला परेको छ । ‘वर्षौंदेखि इन्डियामा खाइनखाई काम गरेर कमाएको पैसा हराएपछि रोएँ । सर्वस्व गुमेजस्तो भयो । अहिले त खुसीको सीमा छैन,’ पैसा बुझ्न प्रहरी कार्यालय पुगेका दत्तबहादुरले भने, ‘पसिना बगाएर कमाएको पैसा प्रहरीको मद्दतले फर्कियो ।’

प्रहरीले नेपालगन्ज–१४ का देशराज बर्माले चलाउने भे१ह ५०१९ नम्बरको अटोरिक्सामा दत्तबहादुरको झोला छुटेको सीसीटीभीबाट पत्ता लगाएको हो । बर्माले यात्रुको झोला आफ्नो रिक्सामा छुटेको ढिला गरी थाहा पाएका थिए । ‘मलाई रिक्सामा झोला छुटेको थाहै थिएन । पछाडिको सिटको तलपट्टि झोला खसेको रैछ । एक्कासि प्रहरीको फोन आएपछि हेर्दा झोला पाएँ,’ उनले भने, ‘झोलामा पैसा रहेछ ।’

यसअघि मंसिर १५ गते त्यसैगरी हराएको ४ लाख रुपैयाँ प्रहरीको सक्रियतामा फेला परेको थियो । बाँके बैजनाथ–३ की राधिका विकको बनियाभार जाने क्रममा मंसिर १० गते पैसा रहेको झोला हराएको थियो । प्रहरीमा उजुरी परेपछि सीसीटीभी क्यामेराको सहायताले हराएको रकम फेला परेको हो । ‘पैसा भएको झोला हराएको पाँच दिनपछि प्रहरीले खोजेर दिएपछि निकै खुसी लाग्यो । हामीले त आशै मारिसकेका थियौं,’ उनले भनिन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले नयाँ प्रविधिको सहयोगमा हराएको रकम फेला परेको बताए । ‘सीसीटीभी नभएको भए हराएको पैसा यसरी नभेटिन सक्थ्यो । तर क्यामराको सहयोगले भने भेटाउन सफल भएका छौं,’ उनले भने, ‘बाँके प्रहरी नयाँ प्रविधिसँग जोडिँदै गएको छ । अझै नयाँनयाँ प्रविधिद्वारा अपराध अनुसन्धान गर्ने सोच छ ।’

प्रकाशित : मंसिर २३, २०७७ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?