सोलुखुम्बुमा एक दर्जन पक्की पुल बन्दै

कोसीपारिका क्षेत्र अब सडकसँग जोडिने
कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुमा पक्की पुल निर्माणको लहर चलेको छ । सदरमुकाम सल्लेरी सडकसँग जोडिएको दशकभित्र जिल्लाका अन्य स्थानमा एक दर्जन पक्की पुल निर्माणको चरणमा छन् ।

त्यसमध्ये ५ वटा पक्की पुल दुधकोसी नदीमै निर्माणाधीन छन् । माप्यदुधकोसी गाउँपालिकामा पर्ने तर खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने मितेरी पुल दुई साताअघि मात्रै सञ्चालनमा आएको छ ।

थुलुङ दुधकोसी गाउँपालिकादेखि माप्यदुधकोसी गाउँपालिका जोड्ने कायाघाट पुल निर्माण आधा सकिएको छ । उक्त पुलको औपचारिक शिलान्यास भने सोमबार गरिएको छ । कायाघाट पुलले कांकुबाट पावै जोड्नेछ ।

थुलुङ दुधकोसी गाउँपालिका र सोताङ गाउँपालिका जोड्ने दिप्लिघाट पुल गत वर्षदेखि निर्माण सुरु भएको हो । उक्त पुल निर्माणमा व्यवसायीले ढिलाइ गरिरहेको स्थानीयको गुनासो छ । सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोसी गापाको बीचमा रहेको जुभिङघाटमा पक्की पुल निर्माणका लागि ठेक्का लागिसकेको छ ।

माप्यदुधकोसी र थुलुङ दुधकोसीकै बिचमा बन्ने मुक्ली र जुभु जोड्ने प्रकुघाटमा पनि पक्की पुलकै ठेक्का सम्झौता भएको छ । बात्तिम र काँगेल जोड्ने दुधकोसी नदीमै पक्की पुलको ठेक्का लागेको छ ।

नेचासल्यान गाउँपालिकाको ठाडो खोला र खहरे खोलामा दुईवटा पक्की पुल निर्माण सम्पन्न भइसकेको छ । खहरेखोलाकै अर्को स्थानमा ठेक्का प्रक्रिया अघि बढेको छ । सोलुखोला वारपार गर्न बोल्दुक, बेनी, तामाखानीलगायत स्थानमा पनि पक्की पुलको ठेक्का लागेको संघीय सांसद हेमकुमार राईले बताए । ‘हामी निर्वाचित हुनु अघिसम्म सोलुखुम्बुमा सोलुखोलाको साल्मेमा एउटा मात्र पक्की पुल सञ्चालनमा थियो,’ राईले भने, ‘बाँकी सबै पुल हाम्रै पालामा निर्माण भइरहेका छन् ।’

अधिकांश पक्की पुल निर्माणमा संघ, प्रदेश र स्थानीय तहले संयुक्त रूपमा बजेट विनियोजन गरेका छन् । निर्वाचन क्षेत्र विकास कोषको बजेटसमेत पुल निर्माणमा लगाइएको छ । रामेछाप र सोलुखुम्बु जोड्ने लिखु नदीमा निकै पहिले ठेक्का लागे पनि संघीयता कार्यान्वयन र स्थानीय तहको चुनावपछि नै पक्की पुल बनेको थियो ।

सोलुखोलाका साल्मेमा भने सडक पुग्नुअघि नै पक्की पुल निर्माण गरिएको थियो । कांग्रेस नेता बलबहादुर केसी निर्वाचित भएको अवधिमा सडक नपुगी पक्की पुल निर्माण भएको थियो । सदरमुकाम आवतजावत गर्नकै लागि कैयौं दिन लाग्ने कोसीपारि भनिएका क्षेत्र अब सहजै सडकसँग जोडिने महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किरातीले बताए ।

प्रकाशित : मंसिर २३, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?