दस कक्षासम्मकाे पाठ्यक्रममा आधारित ‘इ–क्लास नेपाल’ एप सार्वजनिक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दस कक्षासम्मकाे पाठ्यक्रममा आधारित ‘इ–क्लास नेपाल’ एप सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित ‘इ–क्लास नेपाल’ एप निर्माण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार उक्त एप भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन् ।

एपमा विद्यार्थीको सिकाइ सहज बनाउने उद्देश्यसहित स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटिएका छन् । भौतिक कक्षा सञ्चालन नहुँदाको अवस्थामा यी सामग्रीको उपयोग गरी विद्यार्थीको सिकाइ प्रक्रिया निरन्तर राख्न मद्दत पुग्ने ठानिएको छ । कोभिड–१९ फैलिएयता देशभरि औपचारिक रूपमा भौतिक कक्षा हुन सकेको छैन । मन्त्रालयले गत जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो । परिमार्जित निर्देशिकाको आधारमा स्थानीय तहले अनुकुल परिस्थिति रहेका विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् ।

‘कोभिडको महाविपत्तिलाई सम्बोधन गर्न वैकल्पिक सिकाइका विभिन्न मोडेलहरू अपनाउँदै आइएका छन्,’ महामारीको बेला विद्यार्थीको न्युनतम सिकाइलाई निरन्तर राखिएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘यसैबीचमा हालैमात्र सीयुजी अवधारणालाई मन्त्री परिषद्को निर्णयले कार्ययोजना अघि बढाएको छ । प्रविधिमा समान पहुँच बढाउनुका साथै विद्यार्थी, शिक्षक र अभिभावकलाई यी माध्यमबाट लाभान्वित तुल्याउने प्रयास भएको छ ।’

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भौतिक कक्षा सुचारु नहुँदाको अवस्थामा एपमा समेटिएका सामग्री राम्रो आधार भएको बताए । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका अनुसार एपमा यसअघि निर्मित अनलाइन शैक्षिक सामग्रीहरू, युट्युब, इबुक्स, पाठ्यपुस्तकमा समेटिएका प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्नेछन् । ‘तत्काल कक्षा १० सम्मका सामग्री समेटिएका छन्,’ उनले भने, ‘अब कक्षा १२ सम्म थप्ने अभ्यासमा छौं ।’ हालसम्म रेडियो (एफएमहरूसमेत), टेलिभिजन, अनलाइन, युट्युबमार्फत् वैकल्पिक कक्षा सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित : मंसिर २३, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय बस व्यवसायीका ‘एजेन्ट’ बाट ठगिँदै नेपाली कामदार

मोहन बुढाऐर

धनगढी — अछाम, रेठीकोठका शेरबहादुर साउदसहित पाँच जनाले शनिबार भारतको बैङ्लोर जान गौरीफन्टामा बसको टिकट पाउन सकेनन् । उनीहरू सीमावारि डोकेबजार फर्किएर त्यहाँ रहेका भारतीय बसका नेपाली ‘एजेन्ट’बाट महँगोमा टिकट लिन बाध्य भए । 

‘दुई घण्टा लामो लाइन बसेर नाका पार गर्‍यौं,’ साउदले भने, ‘पारि गौरीफन्टा रोडमा दर्जनौं गाडी भारतका विभिन्न सहरका लागि खडा थिए । सीधै बैङ्लोरका लागि पनि २ बस थिए तर सिट पाएनौं ।’ दलालसँग पाँच सय बढी तिरेर टिकट लिएको उनको भनाइ छ ।

कैलाली, जोशीपुरका विलास चौधरीसहित १५ जनाको समूह गौरीफन्टाबाट सिधै भारतको रत्नानगर जान चाहन्थ्यो । गौरीफन्टामा रत्नानगरका लागि चार बस पनि थिए । तर उनीहरूले तिनमा सोझै टिकट काट्न पाएनन् ।

‘एजेन्टबाट टिकट काटेर ल्याऊ भन्यो,’ रामविलासले भन्यो, ‘दुई घण्टा लाममा लागेर नाका क्रस गरेका थियौं । यता गन्तव्यका लागि बस नपाएर पुनः नेपाली सीमाको दसगजा आएर दलाललाई सर्म्पक गर्नु पर्‍यो ।’ दलालले सोमबारका लागि टिकट काटेकाले एक दिन धनगढीमै बस्नुपरेको उनले बताए ।

धनगढीका बसपार्क, भन्सार रोड र दसगजामा रहेको डोके बजारबाट सञ्चालित विभिन्न नेपाली ट्राभल्स एजेन्सीले नै नेपाली कामदारबाट बढी रकम असुल्ने मात्रै नभई यात्रुलाई बाटोमै अलपत्र पार्ने र ठगी गर्ने गरेका छन् । अघिल्लो सोमबार टिकट नपाएरै १ सय २६ यात्रु भारतको पलियामा अलपत्र पारिएका थिए । धनगढी बसपार्कस्थित बर्ददेवी टुर एन्ड ट्राभल्सको टिकटमा भारतीय बस व्यवसायीले लैजान नमानेपछि नेपाली कामदार बीच बाटोमा अलपत्र परेका थिए ।

एजेन्सीले भारतका मुम्बई, बैङ्लोर, रत्नानगरलगायत सहरमा काम गर्न जाने १ सय २६ जनाबाट भाडा असुलेर गौरीफन्टा नाकाबाट दुईवटा बसमा पलिया पठाएको थियो । पलियामा भारतीय बससेवाका कम्पनीले एजेन्सीको टिकटका अधारमा लैजान नमानेपछि उनीहरू पुनः सीमानाकामा फर्केका थिए ।

गन्तव्यमा पुग्न नपाएका नेपाली कामदारले अर्को दिन मंगलबार जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय कैलालीलाई संयुक्त रूपमा ठाडो उजुरी दिए । सोही उजुरीका अधारमा बर्दादेवी टुर एन्ड ट्राभल्सका अध्यक्ष रमेश विश्वकर्मा, खेम जोगी, अर्जुन जयगढीलगायतलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक बिष्टले १ सय २६ जना नेपाली कामदारबाट असुल गरेको ६ लाख ३६ हजार फिर्ता गराई चार जनालाई सार्वजनिक मुद्दामा कारबाही गरिएको बताए । एजेन्सीहरूले बसपार्क र विभिन्न जिल्लाबाट आउने बसहरूमा नेपाली कामदारलाई सम्पर्क गरेर भारत पठाउने गरेको खुलेको पनि उनले जानकारी दिए । ‘पछिल्लो समय त गाउ गाउँसम्म एजेन्सीहरूले आफ्नो सञ्जाल विस्तार गरिसकेका छन्,’ डीएसपी बिष्टले भने, ‘उनीहरूलाई नेपालमै टिकटको भाडा उठाएर पठाउने गरेका छन् ।’

बिष्टका अनुसार एजेन्सीहरूले यात्रु अरूको सम्पर्कमा नआऊन् भनेर होटलमा लुकाएर राख्ने, होटलमै टिकट काट्ने र अर्को दिन सिधै नाका कटाएर बसमा बसाउने गरेको समेत पाइएको छ । गौरीफन्टा नाकामा खटिने सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरका अनुसार हरेक दिन २ हजारको संख्यामा यो नाकाबाट नेपालीहरू भारत गइरहेका छन् । उनका अनुसार भारतमा लकडाउन हटेपछि यहाँबाट हालसम्म १ लाख १२ हजार ९ सय ३६ जना नेपाली भारत पसेका छन् । मंसिर महिनामा मात्रै ३४ हजार ८ सय ८१ जना गएका छन् ।

प्रकाशित : मंसिर २३, २०७७ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×