कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजपुर बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताब पक्राउ

शिव पुरी

रौतहट — पहिलो संविधानसभा निर्वाचनताका राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको भनिएको प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । राजपुर नगरपालिकाका मोहम्मद महताब आलमलाई आइतबार राति भारतको मोतीहारीबाट पक्राउ गरिएको हो ।

राजपुर बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताब पक्राउ

उनी सोही प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलमका भाइ हुन् । कांग्रेसका जिल्ला नेतासमेत रहेका महताब दाजु पक्राउ परेदेखि नै फरार थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

महताबकै परिवारका एक सदस्यले पनि उनी पक्राउ परेको पुष्टि गरेका छन् । यद्यपि जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले महताब पक्राउबारे बताउन आनाकानी गरे । मोतीहारीस्थित आफन्तकहाँ आएका महताबलाई रौतहट र भारतीय प्रहरीको संयुक्त टोलीले पक्रेर नेपाल ल्याउँदै गरेको प्रहरी स्रोतले बतायो । आरोपितमध्ये अहिलेसम्म पाँच जना पक्राउ परिसकेको जिल्ला प्रहरीले जनायो ।

२०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु), ओसी अख्तरलाई चिम्नी भट्टामा जिउँदै जलाइएको पूर्वमन्त्री आलम, भाइ महताबलगायत ११ जनामाथि आरोप छ । मुख्य आरोपित आलम पुर्पक्षका लागि गत कात्तिक २९ देखि काठमाडौंको नक्खु कारागारमा छन् ।

मृतक पिन्टुका बुवा श्रीनारायण सिंह र अख्तरकी आमा रुक्साना खातुनले कांग्रेस नेता आलमलगायत ४ जनाविरुद्ध २०६५ वैशाख ९ गते किटानी जाहेरी दिएका थिए । घटनाको दुई महिनापछि २०६५ असार १ र ९ गते आलम र महताबसहित ४ जना पक्राउ परेका थिए । तर चारै जनाको म्याद थप गरेर एकै दिनमा अनुसन्धान सकी सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेस गरी साँझपख प्रमाण नपुगेको भन्दै छाडिएको थियो ।

आरोपितहरू छुटेपछि २०७१ मंसिर २० गते पीडितका तर्फबाट छानबिन गरिपाउन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइएको थियो । न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालतमा रिट हालेपछि पुनः छानबिन गर्न आदेश भएको थियो । त्यसपछि पक्राउ परेका आलमविरुद्ध अनुसन्धानका क्रममा ७ सय पृष्ठ लामो मिसिल तयार भएको थियो । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थलगायत कसुरमा ११ जनाविरुद्ध जन्मकैद सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।

प्रकाशित : मंसिर २२, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?