१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मनाङ छिर्न ७२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य

आश गुरुङ

लमजुङ — सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । यो सर्त पूरा गर्नेले मात्रै मनाङ प्रवेश गर्न पाउनेछन् । मनाङ प्रवेश गरेर पनि जोकसैलाई पूर्ण फुकुवा भने हुने छैन ।

मनाङ छिर्न ७२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य

पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट स्वदेशी तथा विदेशी दुवैखाले पर्यटकका लागि अनिवार्य गरिएको हो । ‘कोरोना संक्रमण जोखिम कायम छ । तत्काल सबै पर्यटकलाई पीसीआर रिपोर्टबिना स्वागत गर्न सम्भव छैन,’ उनले भने । अर्का पर्यटन व्यवसायी छिरिङ लोप्साङ गुरुङले सबै पर्यटकीय होटलहरू खुला भइनसकेको जानकारी दिए । ‘अहिले एउटा होटल मात्रै खुला गरिएको छ । पर्यटक कहींकतैबाट आए पनि बास पाउन गाह्रो छ,’ उनले भने ।

लमजुङ सीमा तालदेखि तिलिचो तालको (४,९१९ मि.) सिधा बाटो मात्रै खुला गरिएको हो । अन्य ठाउँमा घुमफिरका लागि प्रतिबन्ध अझै कायम छ । ‘चक्रीय अन्नपूर्ण पदमार्ग भएर सिधै तिलिचो जाने पदमार्ग मात्रै खुलेको हो,’ मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले भने । मनाङबाट याकखर्क, थोराङ्ला हुँदै मुक्तिनाथ जाने बाटोसमेत नखुलेको उनले बताए । ‘मनाङ गाउँदेखि माथि खुलेको छैन । प्रक्रिया पुर्‍याएर आएका पर्यटक पनि मनाङ गाउँबाटै फर्किन्छन् । अथवा तिलिचो ताल पुगेर फर्किन्छन् । मुस्ताङमा पनि खुलेको छैन,’ उनले भने । पीसीआर रिपोर्ट लिएर आए पनि पर्यटकले बसाइँ र खानपानको आफैं व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । यसबाहेक उनीहरूका पथप्रदर्शकले भने व्यवस्थापन गरिदिन सक्नेछन् ।

सरकारले अनुमति दिएपछि चार विदेशी पर्यटक नार्पाभूमि गाउँपालिकाबाट हिमलुङ हिमाल चढ्न गएका थिए । उनीहरूले खानबस्न आफैं व्यवस्थापन गरेका थिए ।

मनाङमा पर्यटक आगमन हुन थालेपछि सीमा प्रहरी चौकी तालले तालडाँडमा नियमित जाँच थालेको छ । ७२ घण्टाभित्रको पीसीआर रिपोर्टबिनै आउने पर्यटकलाई फिर्ता पठाउने गरिएको मनाङका डीएसपी मेखबहादुर कुँवरले बताए । प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले संक्रमणबाट जोगिन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसी पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरिएको बताए । उनका अनुसार केही विदेशी पर्यटकले भने नेगेटिभ आएको पीसीआर रिपोर्ट लिएर आएका छन् । ‘स्वदेशी पर्यटक पनि आएका छन्,’ उनले भने, ‘पीसीआर रिपोर्ट नल्याउने सीमा क्षेत्रबाटै फर्किएका छन् ।’ स्वास्थ्य संकटका बेला भएकाले कसैले पनि जबर्जस्ती गर्न नहुने उनको तर्क छ ।

पर्यटकीय गन्तव्यबारे जानकारी दिने विश्वकै चर्चित ट्राभल गाइडबुक ‘लोन्ली प्लानेट’ ले चक्रीय अन्नपूर्ण पदमार्गलाई उत्कृष्ट १० मा राखेको छ । कात्तिक १ देखि सरकारले विदेशी पर्यटकलाई नेपाल आउन खुला गरेको हो । गत चैत ११ बाट लकडाउन गरिएयता यो पदमार्गमा विदेशी पर्यटक आएका थिएनन् । आठ महिनापछि यो पदमार्गमा छिटफुट रूपमा पर्यटक देखिन थालेका एक्याप मनाङका पर्यटन सहायक क्षेत्र गुरुङले बताए ।

एक्याप मनाङका अनुसार सन् २०१९ मा २७ हजार ५१ र सन् २०१८ मा २९ हजार ४ सय ८० विदेशी पर्यटक भित्रिएका थिए ।

प्रकाशित : मंसिर २२, २०७७ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?