मध्य भोटेकोसीमा झनै झमेला 

आयोजनाका अधिकारी र परामर्शदातालाई २ करोड घूस प्रस्ताव गरेको अडियो टेप सार्वजनिक
ऋषिराम पौड्याल

काठमाडौँ — निर्माण सुरु भएको सात वर्षमा ६० प्रतिशत काम पूरा भएको सिन्धुपाल्चोकस्थित १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना चरम आन्तरिक विवादका कारण थप समस्यामा जेलिएको छ ।

मध्य भोटेकोसीमा झनै झमेला 

सम्झौताअनुसार निर्माण अवधि समाप्त हुन एक महिना बाँकी हुँदा चिनियाँ ठेकेदार कम्पनी ग्वान्सिङ हाइड्रोइलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोका एक नेपाली प्रतिनिधिले संरचनाको गुणस्तर घटाएबापत आयोजनाका अधिकारी र परामर्शदातालाई घूस प्रस्ताव गरेको अडियो टेप सार्वजनिक भएपछि नयाँ विवाद सुरु भएको छ ।

टेप प्रकरणपछि मध्य भोटेकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्ले पदमुक्त भएका छन् । उनको स्थानमा आइतबार चिलिमे जलविद्युत् कम्पनीका प्रमुख सुभाष मिश्रलाई नियुक्त गरिएको छ । मध्य भोटेकोसी सञ्चालक समितिका अध्यक्ष तथा प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले मिश्रलाई मध्य भोटेकोसीको सीईओ नियुक्त गरेको जानकारी दिए । मिश्र कम्पनीमा सञ्चालक थिए । काफ्लेलाई करार अवधि अन्त्य भएको पत्र पठाइएको छ । स्रोतका अनुसार सञ्चालक समितिले आयोजना प्रमुख सुनील लामालाई निर्माणस्थलबाट काठमाडौंको मुख्य कार्यालय बोलाउने सहमति गरेको छ ।

चिलिमे मुख्य प्रवर्द्धक रहेको मध्य भोटेकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत, निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाता कम्पनी ट्र्याक्टेबल इन्जिनियरिङ जीएमबीएचका इन्जिनियरले गरेको आर्थिक लेनदेनको अडियो रेकर्ड स्थानीयले गत साता सार्वजनिक गरेका थिए । उक्त अडियो ठेकेदार कम्पनीका (प्रतिनिधि) दोभाषे गोविन्द पौडेलको मोबाइलबाट प्राप्त भएको हो । निर्माण र गुणस्तर जाँचको जिम्मेवारी पाएका अधिकारीहरूमाथि नै आर्थिक चलखेलको आरोप लागेपछि आयोजना नै अन्योलमा परेको छ । आयोजनाका प्राविधिकका अनुसार अहिले पनि सुरुङ, बाँध र पावरहाउसको काम तीव्रतासाथ भएको छैन ।

स्थानीय सरोकार समितिले ऊर्जा मन्त्रालय, प्राधिकरण, स्थानीय प्रशासनलगायत निकायमा लिखित उजुरी गरेको छ । ठेकेदार कम्पनी ग्वान्सिङ कन्स्ट्रक्सन ब्युरोका दोभाषे पौडेल, सीईओ काफ्ले र परामर्शदाताका इन्जिनियर दिनेश भण्डारीबीच आर्थिक लेनदेनका विषयमा कुरा भएको अडियो स्थानीय सरोकार समितिले आयोजना प्रमुख लामाको उपस्थितिमा सार्वजनिक गरेको थियो । आन्तरिक विवादकै कारण लामो समयदेखि सीईओ काफ्ले र आयोजना प्रमुख लामाबीच बोलचाल छैन ।

उक्त अडियोमा ठेकेदार कम्पनीका तर्फबाट दोभाषे पौडेलले आयोजनाका संरचनाको गुणस्तर कमजोर बनाएबापत सीईओ काफ्लेलाई दुई करोडसम्म दिन सक्ने प्रस्ताव राखेका छन् । कान्तिपुरलाई प्राप्त अडियोमा पौडेलले काफ्लेलाई भनेका छन्, ‘हजुरका लागि गाह्रो पर्‍यो भने चिनियाँले दुई करोडसम्म पेल्छ के । तपाईंको छोरा (सीईओ काफ्लेलाई बाबु भनेर सम्बोधन गर्दै) यहाँ छ नि ! आज उसले (ली) त्यतिसम्म खर्च गर्न सक्छ भनेको छ । त्यही भएर हजुरलाई मैले फोन गरेको ।’

चिनियाँ ठेकेदारको प्रतिनिधिका रूपमा पौडेलले राखेको दुई करोडको प्रस्तावमा सीईओ काफ्लेले प्रतिक्रिया जनाएका छैनन् । पौडेलले नाम लिएका ‘ली’ नेपालस्थित चिनियाँ ठेकेदार कम्पनीका म्यानेजर हुन् । परामर्शदाताअन्तर्गत कार्यरत इन्जिनियर भण्डारीले भने घटना सार्वजनिक हुनुअगावै राजीनामा दिएर आयोजना छाडिसकेका छन् । अडियोअनुसार भण्डारी र दोभाषे पौडेलबीच भएको टेलिफोन वार्तामा आयोजनाको गुणस्तर कमजोर कसरी बनाउन सकिन्छ, त्यसको रणनीतिका विषयमा दोहोरो संवाद भएको छ । भण्डारीले ठेकेदारले भनेअनुसार काम गर्न आफूले सञ्चालक समितिका अधिकारीहरूलाई समेत प्रभाव पार्ने गरी सूचना प्रवाह गरिरहेको जानकारी पौडेललाई गराएका छन् । कान्तिपुरले भण्डारीलाई सम्पर्क गर्न खोज्दा उनको फोन बन्द छ । आयोजनाका अधिकारीहरू भने भण्डारीको मिलेमतो ठेकेदारसँग रहेको अडियोले प्रमाणित गरेकाले जहाँ भए पनि झिकाएर कारबाही गर्नुपर्ने तर्क गर्छन् । अप्ठेरामा परिन्छ भनेर उनले राजीनामा दिएको आयोजना स्रोतको भनाइ छ ।

आयोजना प्रमुख लामाले सरोकार समितिले गरेको सार्वजनिक कार्यक्रममा आर्थिक अनियमितताको विषय उठेकाले छानबिन माग गरेका छन् । रेकर्डलाई आधार मान्दै आयोजना प्रमुख लामाले नै सीईओ काफ्ले र भण्डारीमाथि आर्थिक लेनदेनको आक्षेप लगाएपछि घटनाको छानबिन गर्नुपर्ने दबाब सञ्चालक समितिलाई परेको छ । अध्यक्ष न्यौपानेले अडियो रेकर्ड आफूले पनि सुनेको र यसको तथ्यमाथि अध्ययन भइरहेको बताए । उनले रेकर्डकै आधारमा गल्ती नै भयो भन्ने निष्कर्षमा समिति नपुगेको बताए । ‘आवश्यक पर्‍यो भने छानबिन गर्छौं, अहिले त्यस्तो निर्णयमा पुगेका छैनौं,’ उनले भने । समितिमा बहुमत सदस्य प्राधिकरणका कर्मचारी छन् । सीईओ काफ्ले पनि प्राधिकरणकै दसौं तहका कर्मचारी हुन् । प्राधिकरणमा कार्यरत हुँदा नियुक्त भएका उनी केही समयअघि निवृत्त भए पनि आयोजनाको सीईओमा भने कायम थिए । उनले एक वर्षदेखि नै छाड्न खोजेको प्रसंग जोड्दै न्यौपानेले भने, ‘प्रोजेक्टको आवश्यकता हेरेर बस्न आग्रह गरेका थियौं । उहाँले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताउनुभएको छ ।’

२०६८ सालमा विद्युत् खरिद सम्झौता गरेको उक्त आयोजनामा बेलाबेला हुने राजनीतिक हस्तक्षेप, स्थानीय अवरोध र कर्मचारीबीच मनमुटावले व्यवस्थापन कमजोर बन्दै गएका बेला अडियो प्रकरणले झन् अनिश्चितता बढाएको छ । आयोजना निर्माणमा भएको ढिलाइ र संरचना कमजोर बनाएर गरिने आर्थिक लेनदेनले आयोजनाको भविष्यमाथि प्रश्न उठाएको छ । सुरुमा १२ अर्ब २८ करोड अनुमान गरिएको लागत बढेर अहिले १५ अर्ब पुगेको छ । निर्माण अवधिको ब्याजसमेत गत असारसम्म करिब ८ अर्ब खर्च भइसकेको छ ।

सात वर्षअघिको लागत इस्टिमेटमा ठेक्का सकारेको ठेकेदारले बाढीपहिरो, कोभिड र स्थानीय अवरोधलाई कारण देखाएर एक अर्ब थप रकम दाबीसहितको बिल तयार गरेको आयोजना स्रोतको दाबी छ । सात किमिमध्ये करिब साढे ६ किमि सुरुङ निर्माण भइसकेको छ । सुरुङका भित्ताहरूलाई पक्की बनाउन गरिने सर्किटको गुणस्तर नपुगेपछि त्यसबापतको झन्डै २० करोडभन्दा बढी रकम ठेकेदारले पाएको छैन । चिलिमेको ३७, कर्मचारी सञ्चय कोषको ५०, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत एवं सर्वसाधारणको लगानी रहेको आयोजनाको निर्माण तोकिएभन्दा चार वर्ष ढिला भइसकेको छ । स्थानीय तीनवटा कम्पनीले पनि आयोजनामा १८ करोड लगानी गरिसकेका छन् । काममा ढिलाइ हुँदा लागत बर्सेनि बढिरहेको छ ।

रेकर्डमा के छ ?

दोभाषे पौडेलले गुणस्तर जाँच नगरेबापत ठेकेदारबाट सीईओ काफ्लेलाई दुई करोडसम्म दिने आश्वासन दिएका छन् । पावर हाउसमा कंक्रिट गर्न खोज्दा परामर्शदाताको क्षेत्रीय इन्जिनियर (आरई) मुकेश शर्माले अर्थिङ गर्नुपर्ने प्रस्ताव गरेकाले अप्ठेरो परेको गुनासो पौडेलले काफ्लेलाई गरेका छन् । उनले प्रोजेक्ट म्यानेजर लामा र आरई शर्माले आफ्नो प्रस्ताव नमाने पनि आफूले कंक्रिट गरेरै छाड्ने बताएका छन् । त्यसमा काफ्लेले प्रतिक्रिया दिएका छैनन् ।

कान्तिपुरलाई प्राप्त रेकर्डअनुसार पौडेलले सीईओ काफ्ले र परामर्शदातातर्फका इन्जिनियर भण्डारीमार्फत घूसबापतको रकम दिने सहमति भएको र केही रकम बैंकमा राखिसकेको बताएका छन् । उनले परामर्शदाताअन्तर्गतका इन्जिनियर सञ्जीव श्रेष्ठको नाम पनि जोडेका छन् तर सञ्जीव टेलिफोन वार्तामा सहभागी देखिँदैनन् ।

परामर्शदाताको मुख्य काम आयोजनाको डिजाइन र गुणस्तर जाँच गर्नु हो तर उनीहरू नै ठेकेदारसँग मिलेपछि आयोजनाको गुणस्तरमा प्रश्न उठ्नु स्वाभाविक भएको प्राविधिकहरूको भनाइ छ । सन् २०१२ देखि एउटै परामर्शदाताले निगरानी गरिरहेको छ । सुरुमा लाहामेयर इन्टरनेसनलसँग सम्झौता भएकोमा पछि नाम परिवर्तन गरेर ट्र्याक्टेबल भन्न थालिएको हो । उक्त परामर्शदातासँग सन् २०१२ मा सम्झौता भएकामा २०२२ सम्म म्याद छ ।

परामर्शदाता कम्पनीका क्षेत्रीय इन्जिनियर शर्माले चाकुमा निर्माणाधीन बाँधको संरचना कमजोर बनाउन ठेकेदारले राखेको प्रस्तावमा असहमति जनाएपछि सिनियर क्षेत्रीय निर्देशक डेभिड कनलाई जिम्मेवारी दिइएको दाबी आयोजना स्रोतको छ । दोभाषे पौडेलले टेलिफोन कुराकानीमा आयोजना म्यानेजर सुनील लामा, मुकेश र आफ्नो प्रस्ताव नमान्ने प्राविधिकको आँखा छलेर काम गर्न सीईओ काफ्लेसँग परामर्श गरेको आशय रेकर्डमा उल्लेख छ । त्यसमा पनि काफ्ले बोलेका छैनन् । हँ, हँ मात्र गरेका छन् । कान्तिपुरले काफ्लेसँग सम्पर्क गर्न खोजे पनि उनका ९८१८३०८६२० र ९८४१३३०२७८ नम्बरका मोबाइल दुई दिनदेखि बन्द छन् । शनिबार उनलाई सम्पर्कका लागि म्यासेज पठाएकामा आइतबार साँझसम्म ‘रेस्पोन्स’ आएको थिएन ।

रेकर्डमा इन्जिनियर भण्डारीसँग कुरा गर्दै पौडेलले भनेका छन्, ‘पहिलो कुरा त त्यो पावर हाउस हेर्ने धोती (आरई शर्मा) लाई निकाल्नुपर्‍यो ।’ जवाफमा भण्डारीले भने त्यसलाई सती जाने परिस्थिति बनाउने जिम्मा आफूले लिने बताएका छन् । आयोजनाका म्यानेजर लामाले रेकर्डका आधारमा जुन–जुन व्यक्ति संलग्न छन्, सबैलाई कारबाही गर्नुपर्ने बताए । ‘मेरो गल्ती छ भने म सजाय भोग्न तयार छु,’ उनले भने, ‘आर्थिक प्रलोभनमा परेर यति ठूलो आयोजनालाई धराशायी बनाउन मिल्दैन ।’

राज्यको निकायले छानबिन गरोस् : काफ्ले

अडियो सार्वजनिक भएपछि बसेको सञ्चालक समितिको बैठकमा सीईओ काफ्लेले आफूले गल्ती गरेको भए सजायको भागीदार हुने बताएका छन् । उनले राज्यको निकायले छानबिन गरोस् भन्दै दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए ।

समितिका एक सदस्यका अनुसार चार दिनअघिको बैठकमा उनको राजीनामा माग गरिएको थियो तर उनले गल्ती नगरेकाले राजीनामा नदिने अडान राखेका थिए । टेलिफोन वार्ताका क्रममा काफ्लेले घूस प्रस्ताव अस्वीकार नगरेकाले मौन बस्नु नै स्वीकार गर्नु हो भन्ने बुझाइ सरोकार समितिको छ । काफ्लेले भने सूचनाका लागि पौडेलसँग कुराकानी हुने गरेको र ठेकेदार पक्षको सूचना प्राप्त गर्न आफूले सुनेर मात्र बसेको भनाइ निकटहरूलाई बताउने गरेका छन् ।

रेकर्ड इडिट भएको हुनुपर्छ : दोभाषे पौडेल

ठेकेदार कम्पनीका दोभाषे पौडेलले आफूले सबै रेकर्ड नसुनेको बताए । त्यो तपाईंको आवाज हो कि होइन भन्ने कान्तिपुरको प्रश्नमा उनले सुरुमा रेकर्ड इडिट गरेको हुन सक्ने बताए । केहीबेरको कुराकानीमा उनले भने, ‘आफूले नसुनेकाले मेरो आवाज हो/होइन भन्न सक्दिनँ ।’

जानीजानी आफूले रेकर्ड नगरेको जनाउँदै उनले कम्पनीले दिएको मोबाइलमा रेकर्ड सिस्टम भएको जानकारी आफूलाई थाहा नभएको दाबी गरे । तपाईंको भनाइले त आयोजनाको संरचनाको गुणस्तरमा प्रश्नचिह्न खडा भयो नि भन्ने प्रश्नमा पौडेलले तेस्रो पक्षका प्राविधिक ल्याएर जाँच गराउन सकिने बताए । गुणस्तरमा कुनै सम्झौता नगरिएको दाबी उनले गरे । उनले सिन्धुपाल्चोककी तत्कालीन प्रजिअ गोमादेवी चेम्जोङलाई त्यो केटी भन्दै आफूले आयोजनाको विषयमा गलत सूचना दिएको जानकारी सीईओ काफ्लेलाई गराएका छन् ।

प्रकाशित : मंसिर २२, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?