कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्थायी कमिटीले एजेण्डा बनाएको दाहालको प्रस्तावमा ओलीको असहमति

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव छलफलका लागि प्रवेश गरेपछि प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू अनुपस्थित भएको जानकारी दिएका छन् ।

स्थायी कमिटीले एजेण्डा बनाएको दाहालको प्रस्तावमा ओलीको असहमति

स्थायी कमिटी बैठकलाई लेखेको पत्रमा ओलीले कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव छलफल योग्य नभएको भन्दै आफू उपस्थित नभएको जानकारी दिएका हुन् । आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षका प्रस्ताव र सम्बन्धित अन्य पत्रहरुमाथि छलफललाई एजेण्डा बनाइएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आजको विशिष्ट, गम्भिर, संकटपूर्ण पार्टी जिवनको परिस्थितिमा एकतालाई केन्द्रमा राखेर र अहिलेको संकटलाई सकारात्मक रुपबाट समाधान गर्ने गरि व्यापक रुपमा छलफल अफिल गर्नुभएको छ । आन्तरिक छलफल, आन्तरिक गृहकार्य, बैठकमा वितरण गरिएका दुई अध्यक्षका प्रस्ताव र सम्बन्धित पत्रहरु अध्ययन को लागि एक हप्ताको समय दिइएको छ ।’तर, बैठकको एजेण्डामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले असहमति जनाएका छन् ।

बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकमा अर्का अध्यक्ष कमरेड केपी शर्मा ओली उपस्थित हुनु भएन । उहाँले आफ्नो अनुपस्थितिको कारण देखाउँदै बैठकलाई एउटा पत्र पठाउनु भएको छ । बैठकको प्रारम्भमै सचिवालय सदस्य ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर स्थायी कमिटीलाई जानकारी गराउनुभयो । कमरेड ओलीले पूर्वमान्यता अर्थात् अध्यक्ष कमरेड प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यस कारणले आफू बैठकमा नआएको उल्लेख गर्नुभएको छ ।’

कात्तिक २८ मा ओलीको राजनीतिक र कार्यशैलीगत विषय उठाउँदै दाहालले १९ पेजको प्रस्ताव सचिवालयमा पेश गरेका थिए । त्यसयताका पार्टी बैठक, जवाफि प्रस्तावमा ओलीले राजनीतिक र वैधानिक दुवै हैसियत प्राप्त नभएको भन्दै दाहालको प्रस्ताव छलफल गर्न नसकिने अडान राख्दै आएका छन् ।

ओलीले मंसिर १३ को सचिवालय बैठकमा पेश गरेको ३८ पृष्ठको जवाफि प्रस्तावमा दाहालको प्रस्तावलाई लाञ्छनापत्रका रुपमा व्याख्या गरेका छन् । ओलीले दाहालको प्रस्ताव खारेज गर्न सचिवालयमा माग राखेपनि बहुमत सदस्यले छलफलका लागि अगाडि बढाएको थियो ।

शनिबारको बैठकमा पनि ओलीले यहि कुरा दाहोर्‍याएका थिए । तर, बहुमत सदस्यले आइतबारको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षका प्रस्ताव छलफलका लागि लैजाने निर्णय गरेको थियो । त्यसै अनुसार आइतबारको बैठकमा दुवै प्रस्ताव वितरण गरिएको छ ।

प्रकाशित : मंसिर २१, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?