कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘राजावादी’ को प्रदर्शनमा प्रशासन मूकदर्शक

काठमाडौँ — ‘राजसंस्था’ र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित ‘राजावादी’ हरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । राष्ट्रिय नागरिक आन्दोलन–२०७७ को ब्यानरमा शनिबार संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना, नागरिक सरकार र नागरिक आयोग गठनको मागसहित माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

‘राजावादी’ को प्रदर्शनमा प्रशासन मूकदर्शक

गृह मन्त्रालयले भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिन देशभरका प्रशासनलाई परिपत्र गरे पनि प्रदर्शनकारीलाई कसैले रोकेन । पछिल्लो समय पूर्वराजाको पक्षमा देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् ।

शनिबार काठमाडौंसहित झापा र चितवनमा पनि प्रदर्शन गरिएको थियो । काठमाडौंमा भएको प्रदर्शनमा सहभागीले राष्ट्रिय झन्डा, पूर्वराजा ज्ञानेन्द्र र पृथ्वीनारायण शाहको तस्बिरसहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बिहान ११ बजे माइतीघरमा भेला भएर नारा जुलुससहित बबरमहल हुँदै बानेश्वरमा पुगेर प्रदर्शन कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी, नेपाली सेनाका पूर्वसहायकरथी प्रेमसिंह बस्न्यात, चिकित्सक डा. मनोज झा, पूर्वसांसद ऋषिबाबु परियारलगायतले सम्बोधन गरेका थिए । प्रदर्शन आयोजना गर्नेमध्येका एक वरिष्ठ अधिवक्ता भण्डारीले माग पूरा नभएसम्म आन्दोलनलाई जारी राखिने बताए ।

गृह मन्त्रालयले उपत्यकासहित देशभर सभा–सम्मेलन, जुलुसलगायत भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गत साता परिपत्र गरेको थियो । गृहको परिपत्रपछि काठमाडौं प्रशासनले केही दिनअघि कोरोना महामारीको जोखिमलाई कारण देखाउँदै काठमाडौं प्रशासनले आमसभा, प्रदर्शन र विरोध जुलुस गर्न रोक लगाएको थियो तर राजावादीले प्रदर्शन रोकेनन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रदर्शन प्रशासनको अनुमतिबेगर भएको बताए । उनले भने, ‘प्रदर्शन हुँदै छ भन्ने अनौपचारिक मात्रै जानकारीमा आएको हो, आयोजकले अनुमति लिएका थिएनन् ।’ शान्तिपूर्ण प्रदर्शन भएकाले पनि प्रशासनले बल प्रयोग नगरेको उनले बताए ।

सत्तारूढ नेकपामा देखिएको आन्तरिक कलह, जनजीविकासँग जोडिएका समस्या थप बढ्दै जानु, भ्रष्टाचारजन्य गतिविधिमा वृद्धिलगायत विषय थपिँदै जाँदा नागरिक स्तरबाटै राजावादीको प्रदर्शनमा सर्वसाधारणको उपस्थिति पनि बढ्दै गएको छ ।

यही क्रममा पछिल्लो एक महिनायता धनगढी, नेपालगन्ज, सुर्खेत, बुटवल, पोखरा, चितवन, जनकपुर, हेटौंडा, विराटनगर र झापामा र्‍याली, जुलुस र सभा/प्रदर्शन भएका छन् । सरकार र सत्तारूढ दल नेकपाले जनजीविकासँग जोडिएका समस्या समाधान नगरेकै कारण राजावादीको प्रदर्शनमा मानिसको उपस्थिति बढेको पनि विश्लेषण गरिएको छ ।

प्रकाशित : मंसिर २१, २०७७ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?