कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तीन तहका सरकारलाई बाइपास गरिएकाले पुल उद्घाटनको विरोध : नेकपा तनहुँ

सम्झना रसाइली

दमौली — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गर्ने कार्यक्रममा तीन तहका सरकारलाई ‘बाइपास’ गरिएकाले विरोध गरिएको नेकपा तनहुँले बतएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपा तनहुँका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केदार सिग्देलले विधि र प्रक्रिया मिचेर पुल उद्घाटन गरिएको बताए । 

तीन तहका सरकारलाई बाइपास गरिएकाले पुल उद्घाटनको विरोध : नेकपा तनहुँ

‘विधि र प्रक्रिया मिच्ने काम गरियो । साथै त्यो कार्यक्रममा अरुलाई अनेक प्रकारका आरोप पनि लगाइयो । लोकतन्त्रमा त्यस्तो बोल्न उपयुक्त हुँदैन, सत्यतथ्यमा टेकेर बोल्नुपर्छ,’ सिग्देलले भने ।

तनहुँको व्यास नगरपालिकाका तीनवटा वडा जोड्ने पुलको उद्घाटन गर्न पुगेको वरिष्ठ नेता पौडेललाई नेकपा कार्यकर्ताले अवरोध गर्न खोजेपछि अशान्ति हुनसक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । बुधबार निषेधाज्ञाका बीच पुल उद्घाटन गर्न पौडेल पुगेको भन्दै उनलाई गिरफ्तार गरी तीन घन्टा हिरासतमा लिइएको थियो । यसको देशव्यापी विरोध भएपछि बिहीबार पौडेलले उक्त पुल उद्घाटन गरेका थिए ।

‘कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अन्य केन्द्रीय नेताहरुले बोलेको र गरेको व्यवहारले हामी रिसाएका त छैनौ तर हामीलाई दुःख लागेको छ । त्यसो गर्दा गन्तव्य कहाँ पुग्ला ? भन्ने चिन्ता लागेको छ,’ जिल्ला अध्यक्ष सिग्देलले बताए ।

पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ, कलिला खान, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्ति वितरण गरिएको थियो । विज्ञप्तिमा तीन तहका सरकरका कामलाई बाइपास नगरी आपसी तालमेल र समन्वयमा विकासको लय अगाडि बढाउने कुराप्रति सधै सजग रहेको भनिएको छ ।

पुल उद्घाटन गर्ने कार्य सम्बन्धित विभागीय मन्त्रालय र कार्यालयले निकट भविष्यमै गर्ने तयारी भइसकेको अवस्थामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै प्रक्रिया र विधिलाई बाइपास गरी कथित उद्घाटनको मन्चन गरेको भन्दै विज्ञप्तिमा यसलाई लोकतन्त्रको मूल्य मान्यताविपरित हुने ठहर्‍याइएको छ । विभागीय मन्त्रालय र कार्यालयले निकट भविष्यमै उद्घाटन गर्ने तयारी गरिरहेको अवस्थामा पौडेलले सबै प्रक्रिया र विधिलाई बाइपास गरी कथित उद्घाटनको मन्चन गरेको भन्दै विज्ञप्तिमा आफ्ना पार्टीका चारतारे झण्डाहरु बोकी सरकारी सम्पत्तिमाथि राजनीतिकरण गरेको पनि आरोप लगाइएको छ ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले नियम र पद्धति नमानेका कारण बुल्दी पुल उद्घाटनमा अवरोध भएको बताएका थिए । तनहुँ कांग्रेसले भने नगरपालिका र पुल निर्माण समितिले सर्वसम्मतिले नेता पौडेललाई पुल उद्घाटनका लागि निमन्त्रणा गरेको बताएको छ । पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पनि स्थानीय जनप्रतिनिधि र पुल निर्माण समितिले बोलाएकाले आफू आएको भन्दै उद्घाटन गर्न नदिइए गिरफ्ता गरेर नेकपा सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका थिए । यस घटनाको विरोधमा कांग्रेसले मंसीर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।

प्रकाशित : मंसिर १९, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?