नेता स्वाँर रहेनन्
काठमाडौँ — ६ दशकअघिको कुरा हो । अछामीहरू जग्गाको तिरो तिर्न सामलतुमलको भारी बोकेर डोटी गौडाको सदरमुकाम सिलगढी पुग्थे । कम्तीमा दुई दिन जंगलको अप्ठ्यारो बाटो छिचोल्दै हिँड्नुपर्ने दुःखबाट मुक्ति पाउन उनीहरूले थुप्रै पटक दरबारमा बिन्तीपत्र बुझाए तर सुनुवाइ भएन ।
२०१४ सालमा सुदूरपश्चिम दौडाहामा निस्केका राजा महेन्द्रको अन्तिम कार्यक्रम स्थल सिलगढी हुने खबर फैलियो । यो खबर सुनेर त्यसबेलाका अछामी युवा डोटी गौडा पुगे । राजा महेन्द्र घोडा चढेर सैनिक क्याम्पबाट खुलाचौरतर्फ जाँदै थिए । सुदूरका पहाडी भेगबाट राजा हेर्न आएका स्थानीय स्वागत गर्न बाटोको दायाँबायाँ उभिएका थिए । त्यसैबेला अचानक अछामी युवाको भीडले बीचबाटोमा चारैतिरबाट राजा महेन्द्रलाइ घेरा हाले । केहीले उनको घोडाको लगाम अँठ्याए । अछामी भाषामा नाराबाजी गरे । राजाका सुरक्षाकर्मी र अछामीबीच घम्साघम्सी पर्यो । बाटोको दायाँबायाँ उभिएका स्थानीयबीच भागाभाग मच्चियो ।
सुरक्षाकर्मीले खुकुरी फड्काउँदै लाठी र राइफलको कुन्दाले आन्दोलनकारी युवालाई लखेटे । त्यहाँबाट राजालाई जोगाउँदै कार्यक्रम स्थल पुर्याइयो । कार्यक्रम सकिएपछि राजाले अछामीका माग सुने र पूरा गरिदिए । अर्थात् अछाममै मालअड्डा, हुलाकलगायत सरकारी अड्डा खुले । ‘त्यसबखत त्यो घटना खुबै चर्चित बन्यो,’ त्यसताका राजाको सवारी हेर्न बझाङको सत्यवादी हाइस्कुल भोपुरबाट त्यहाँ पुगेका पूर्वसांसद बलबहादुर कुँवर भन्छन्, ‘त्यो आन्दोलनमा घोडा नियन्त्रणमा लिने प्रभाल, जुपाललगायत अछामी युवाको भीडमा नैनबहादुर स्वाँर पनि थिए ।’ राणाकालीन समय (२००६ साल) मै रक्सौलमा गणेशमान सिंहबाट राष्ट्रिय कांग्रेसको सदस्यता लिएका उनी राजाको घोडा रोक्नेमध्येका थिए ।
तिरो तिर्ने मालअड्डा, पाठशाला, हुलाक स्थापना, बाटो सुधारलगायतका माग राख्दै २०१४ सालको ‘राजा घेराउ’ आन्दोलनमा सहभागी हुने तिनै नैनबहादुर स्वाँरको बिहीबार बिहान काठमाडौंको पुरानो बानेश्वरस्थित आफ्नै निवासमा ९४ वर्षको उमेरमा निधन भएको छ । छोरा विजयका अनुसार स्वाँर केही समययता मुटु तथा उच्च रक्तचापको समस्याबाट पीडित थिए । दसैंताका कोराना पोजिटिभ देखिएका उनलाई सोमबार मात्रै परिवारजनले नर्भिक अस्पताल थापाथलीबाट घर ल्याएका थिए ।
अछामको रिडिकोटमा जन्मिएका स्वाँर डोटीमा त्यो आन्दोलन हुँदा ३० वर्षका थिए । ३२ वर्षको उमेरमा २०१६ सालताका कांग्रेस छाडेर तत्कालीन नेपाल राष्ट्रियवादी गोरखा परिषद् नामको दलबाट संसद्को माथिल्लो सदन (महासभा) को सदस्य निर्वाचित भएका थिए ।
त्यसपछिको पञ्चायतकालीन राजनीतिक दौडमा उनी चारपटक (२०२४, २०२९, २०३६, २०३८) राष्ट्रिय पञ्चायतको सदस्य भए । त्यस्तै २०२५ सालमा भूमिसुधार राज्यमन्त्री, २०३० देखि २०३२ सम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष, २०३७ सालमा कानुन तथा न्याय र खाद्य तथा कृषिमन्त्री, २०३८ मा गृहमन्त्री भएका थिए । पञ्चायतकालको अन्तिम मन्त्रीमण्डल (२०४६ चैत) मा पनि गृहमन्त्रीमा नैनबहादुर नै थिए । पञ्चायती व्यवस्थाविरुद्ध राजनैतिक दलले २०४६ मा आन्दोलन सुरु गरे । त्यो आन्दोलन चर्कंदै गएपछि मरिचमान सिंह प्रधानन्त्रीबाट हटाइए र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । उक्त मन्त्रिमण्डलमा चन्दले स्वाँरलाई गृहसहित ९ वटा मन्त्रालयको जिम्मेवारीमा दिएका थिए ।
अछामबाहेक कैलालीबाट पनि राजनीति गरेका स्वाँर २०२२ सालमा कैलाली जिल्ला पञ्चायतको निर्विरोध सभापति थिए भने २०२४ सालमा किसान संगठनबाट राष्ट्रिय पञ्चायत सदस्य भएका थिए । ७ दशकअघि अछामको बयलपाटामा स्थापना गरिएको नवदुर्गा मिडिल स्कुल तथा कैलालीको चुहामा नव जागृती मिडिल स्कुल र जनप्राथमिक विद्यालय स्थापना गर्ने श्रेय पनि पूर्वगृहमन्त्री स्वाँरलाई नै जान्छ ।
सुदूरपश्चिमका चर्चित देउडा गायक तथा प्राज्ञ यज्ञराज उपाध्यायका अनुसार, पञ्चायतकालीन राजनीतिमा लामो समय बिताएका स्वाँर स्वच्छ छवि भएका सादगी नेताका रूपमा स्थापित थिए । ‘झन्डै तीन दशक मूलधारको राजनीति गरे पनि उहाँको जीवन सादा थियो । पैतृक सम्पत्ति बेचेर गुजारा गरे तर न कहिल्यै उनले भ्रष्टाचार गरेको सुनियो न त कुनै छापामा देखियो,’ उनले भने, ‘अहिले त केही महिना सत्तामा पुग्नेहरूले पनि सम्पत्ति जोड्नै तँछाडमछाड गरेको देखिन्छ ।’
पछिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टर्कीा पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका स्वाँर २०४६ सालको परिवर्तनपछि कैलालीको टीकापुर, चुहालगायत सुदूरपश्चिमको सामाजिक विकासमा चासो देखाइरहेका हुन्थे । साधारण लेखपढ अछाम र सिलगढीबाट गरेका उनले काठमाडौंको दरबार हाइस्कुलबाट त्यसबेलाको मध्यमा उत्तीर्ण गरेका थिए । उनका श्रीमती, २ छोरा र ४ छोरी छन् ।
प्रकाशित : मंसिर १९, २०७७ १०:०४