कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रहरी जवानलाई १० वर्षपछि न्याय

पक्राउ परेका व्यक्तिलाई छाड्न खोज्ने हाकिमको विरोध गरेबापत बर्खास्तीमा परेका प्रहरी जवानको पुनर्बहाली

काठमाडौँ — तिहारका बेला पटाकासहित पक्राउ परेका व्यक्तिलाई छाड्न खोज्ने हाकिमको विरोध गरेबापत जागिरबाट बर्खास्तीमा परेका प्रहरी जवानलाई सर्वोच्च अदालतले पदमा पुनर्बहाली गरेको छ । एउटा विषयमा स्पष्टीकरण सोधेर अर्कै कसुरमा सजाय गर्न खोजेको भन्दै सर्वोच्चले ती जवानलाई पदबाट हटाउने निर्णय बदर गरेको हो ।

प्रहरी जवानलाई १० वर्षपछि न्याय

प्रहरी जवान जयबहादुर पाइजा २०६६ असोज ३१ गते भैरहवा विमानस्थलमा ड्युटीमा खटिएका थिए । तिहारका बेला पटाका ओसारपसार हुन सक्ने सूचनाका आधारमा उनले निगरानी बढाएका थिए । त्यस्तैमा एक जना विमानबाट पटाका लैजान लागिरहेको अवस्थामा भेटिए र पाइजाले नियन्त्रणमा लिई सोधखोज गरे । त्यही बेला उनलाई नेतृत्व गर्ने असई छवबहादुर घर्तीले ती व्यक्तिलाई छाड्न आदेश दिए । दुवैबीच विवाद बढेपछि लछारपछारको अवस्था भयो । अन्य व्यक्तिहरू आएर उनीहरूलाई छुट्याए ।

घटनापछि असई घर्तीले प्रहरी कार्यालयमा गएपछि पक्राउ गरेर आफूलाई यातना दिएको प्रहरी जवान पाइजाको दाबी छ । भोलिपल्ट नै रूपन्देहीका तत्कालीन एसपी प्रकाश अर्यालले पाइजालाई स्पष्टीकरण सोधे । चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै एसपी अर्यालले उनलाई २०६६ कात्तिक २२ गतेदेखि लागू हुने गरी ‘भविष्यमा सरकारी जागिरमा अयोग्य नठहरिने गरी’ जागिरबाट हटाउने निर्णयको पर्चा खडा गरे । उक्त निर्णयविरुद्ध प्रहरी जवान पाइजा क्षेत्रीय प्रहरी कार्यालय पोखरा गए । तर उनको गुनासोको सुनुवाइ भएन, पोखराका डीआईजीले समेत प्रहरी कार्यालय रूपन्देहीको निर्णय सदर गरे । आफूभन्दा माथिल्लो कमान्डरसँग अभद्र व्यवहार गरेको भनी प्रहरी नियमावलीअनुसार गरेको निर्णय सदर भएको पाइजाले जवाफ पाए ।

बरामद विस्फोटक पदार्थ नछाडेको विषयमा असई घर्तीले ड्युटीमै रहेका बेला कठालोमा समातेर अफिसमा लगी गालीगलौज तथा कुटपिट गरेको भन्दै पाइजाले बरु असईबाट नै प्रहरी आचारणविरुद्ध घुसखोरी र अपराधीलाई बचाउने काम भएको दाबी गरेका थिए । आफूलाई सेवाबाट हटाउनेसम्मको उचित र पर्याप्त कारणसमेत नखुलाएको भन्दै उनले कानुनी उपचार खोज्ने निधो गरे ।

प्रहरी जवान पाइजालाई प्रहरी नियमावलीको नियम ८८ (क) अनुसार आफ्नो पदको जिम्मेवारीअनुसार आचरण नगरेको भन्ने खुलाई स्पष्टीकरण सोधिएको थियो । तर विभागीय कारबाही गरी बर्खास्त गर्दा नियम ग, ङ, च, ज–मा भएको कसुरको व्यहोरासमेत थपिएको थियो । पाइजालाई कारबाही गर्दा बारम्बार अनुशासनहीनको काम गरेको, उर्दीको पोसाक लगाई मादक पदार्थ सेवन गरी हिँडेमा वा जथाभावी गरेको कसुरमा आकर्षित हुने कानुनी दफा लगाइएको थियो । आचरणसम्बन्धी नियम उल्लंघन गरेमा बर्खास्त हुने भन्ने व्यवस्थालाई प्रहरी अधिकारीहरूले विमानस्थलमा भएको विवादकै आधारमा प्रतिशोध लिन खोजेका थिए ।

सर्वोच्चले पाइजालाई पदबाट बर्खास्त गर्दा सामान्य प्राकृतिक न्यायको सिद्धान्तको पनि पालना नभएको फैसला गरेको छ । ‘जे जुन कसुर गरेको वा जुन कानुन प्रावधानको बर्खिलापमा काम गरेको हो, सोही व्यहोरा खुलाई सफाइको मौका दिएर मात्रै त्यसबारे कारबाही गर्नुपर्छ भन्ने प्राकृतिक न्यायको सिद्धान्त छ,’ २०७६ पुस २० गतेको फैसलामा भनिएको छ, ‘एउटा कसुरको आरोपमा स्पष्टीकरण सोध्ने अनि सेवाबाट हटाउँदा अर्कै नियम उल्लंघ भएको आरोपसमेत समावेश गर्न मिल्दैन ।’ फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले विमानस्थलमा दुवैबीच असमझदारी भएको भनिए पनि देख्ने कसैको कागज नभएको, एयरलाइन्स कर्मचारीको बयान वा मुचुल्का समावेश नगरेकाले दुवैतर्फ मर्यादाहीन काम भएको हुन सक्ने तर प्रहरी जवानमाथि मात्रै कारबाही भएको हुन सक्ने औंल्याएको छ । एउटा दफा प्रयोग गरी अर्कै सजाय उल्लेख गरी फरक सजाय गर्नु कानुनविपरीत हुने भन्दै सर्वोच्चले प्रहरी जवान पाइजालाई पदमा पुनर्बहाली गर्न आदेश दिएको हो ।

प्रकाशित : मंसिर १९, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?