३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जो घरबाहिर रमाउन पाउँदैनन्

‘आफन्त, नातेदारले निम्ता गर्दा पहिले नै छोरोलाई कसैको जिम्मा लगाएर तिमीचाहिँ जसरी नि आउनू है भन्छन्, आक्कलझुक्कल लिएर गयो भने सर्लाझैं गरेर परपरै पार्छन् ।’
विद्या राई

काठमाडौँ — पारिवारिक भेटघाट, विवाह, भोज, सभा, सम्मेलनमा अरूका छोराछोरी रमाइलो गरेको देख्दा पाटन, मंगलबजार बस्ने अञ्जु भण्डारीलाई खिन्न लाग्छ । कारण बौद्धिक अपांगता भएकैले उनका छोरा चाहेर पनि यस्ता कार्यक्रममा रमाउन सक्दैनन् ।

जो घरबाहिर रमाउन पाउँदैनन्

‘आफन्त, नातेदारले निम्ता गर्दा पहिले नै छोरोलाई कसैको जिम्मा लगाएर तिमीचाहिँ जसरी नि आउनू है भन्छन्, आक्कलझुक्कल लिएर गयो भने सर्लाझैं गरेर परपरै पार्छन्,’ उनले दुखेसो पोखिन् ।

हाल २६ वर्षका उनका छोरा जन्मँदै बौद्धिक अपांग हुन् । ज्यान हेर्दा हृष्टपुष्ट देखिए पनि राम्ररी बोल्न, हिँड्न सक्दैनन् । उमेरअनुसारको बौद्धिक विकास भएको छैन । राम्रोसँग खाना खान पनि जान्दैनन् । दिसापिसाब र सफाइ गर्न अरूको सहयोग चाहिन्छ । जमघटमा जाने है भन्दा उनी दंग त पर्छन् तर जाँदा नातेदारले रुचाउँदैनन् । ‘तिमी आऊ न एक रात बस्ने गरी भन्छन्, छोरा लिएर आऊ भन्दैनन्, मेरो छोरो मान्छे नै होइन ठान्दिन्छन्,’ नजिकका आफन्तबाटै विभेद खेप्नु परिरहेको उनले दुखेसो दोहोर्‍याइन्, ‘सानो छँदा त उसलाई कोठामा राखेर ढोका लगाइदिएर हिँडे, कतै जबर्जस्ती लिएर पनि गएँ । तर १५/१६ वर्ष जति भयो, आफैंले के जबर्जस्ती गरिरहनु भनेर हिँडिहाल्दिनँ, बोलाउन नि छाडिसके ।’

पर्वत कुश्माकी लक्ष्मी पौडेलको भोगाइ पनि यस्तै छ । ११ वर्षका छोरा बौद्धिक अपांग छन् । ‘छोरो अरू बच्चा जस्तो छैन, के काम राम्रो, नराम्रो छुट्याउन सक्दैन, सामान पोखिदिन्छ, लडाइदिन्छ, अनि आफन्तले कहाँ रुचाउने भएर ?,’ उनी भन्छिन्, ‘विवाह, व्रतबन्धलगायतका कार्यहरूमा बोलाउँदा सुरुमै छोरो जहिल्यै ल्याएर हुँदैन, घरमा छोडेर आइज न भन्छन् ।’

भक्तपुर, सूर्यविनायककी गोमा अधिकारीले छोरीलाई सामूहिक कार्यकम, सार्वजनिक थलोमा लिएर जाँदा विचराको पात्र ठहरिन्छिन् । ‘बिहे भोजमा जाँदा, बैंकमा छोरीको भत्ता लिन जाँदा तपाईंको छोरी यस्तो, के भएको होला है बिचरा १ भन्छन्, उनले पनि अरू बच्चाहरूजस्तै हिँड्न, डुल्न पाउनुपर्छ भन्ने मानसिकताचाहिँ छैन,’ उनले भनिन् । उनकी २८ वर्षकी छोरी शारीरिक र बौद्धिक अपांग छिन् ।

आफ्ना सन्तानलाई घरबाहिरको वातावरणमा घुलमिल गराउन नपाउँदा कतिपय परिवार समाज, संस्कृतिका कुरा देख्नबाटै वञ्चित हुने गरेका अपांगतासम्बन्धी अधिकारकर्मी तारा दाहाल बताउँछिन् । ‘घरबाहिर कतै लिएर जाऊँ भने मान्छेले छिःछिः र दुरदुर गर्छन् भनेर अधिकांश अभिभावकले लान सक्दैनन्, बौद्धिक अपांगता भएकाले समाज, संस्कृति, रमाइलो, दुःख के हो थाहा पाउने अवसरै पाउँदैनन्,’ उनले भनिन्, ‘सरकार समानताका नारा लाउँछ, अनेक दिवस मनाउँछ, अपांग दिवसको दिनमात्रै र्‍यालीमा यसो सहभागी गराउँछ । त्यही पनि यस वर्ष कोभिडले गर्दा पाएनन्, अरू ३६४ दिन थाहा पत्तो हुँदैन ।’

बौद्धिक अपांगताका अभिभावकको महासंघ, नेपालका अध्यक्ष राजु बस्नेत भन्छन्, ‘उनीहरू जब परिवारबाट बाहिर छिमेकी, आफन्त र समाजसँग घुलमिल हुन पाउँदैनन्, तब आफूलाई एक्लो महसुस गर्छन् । सिकाइमा वृद्धि हुन सक्दैन, किनकि अरूले गरेको र बोलेको कुरा मानिसहरूले नक्कल गरेर सिक्ने हो ।’ बौद्धिक अपांगता भएका बालबालिकाहरू घर वा परिवारभित्रै सीमित पारिँदा विभिन्न सीप सिक्न, सामाजिक योगदान दिनसमेत पाउँदैनन् ।

घरभित्रै रहँदा शारीरिक व्यायाम नहुने, सरसफाइमा परिवारको सदैव ध्यान नपुग्दा स्वास्थ्य समस्याहरू देखिनुका साथै उनीहरूको कम उमेरमै मृत्युसमेत हुने गरेको पाइन्छ । २०६८ को जनगणनाअनुसार बौद्धिक अपांगता भएका व्यक्तिहरूको संख्या १४ हजार ८ सय ८८ छ । जसमा महिला ६ हजार ६ सय ८ र पुरुष ८ हजार २ सय ८० जना छन् ।

प्रकाशित : मंसिर १९, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?