कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संकट साम्य पार्न खोज्दै शीतल निवास

राष्ट्रपतिद्वारा ओली र दाहालसित छुट्टाछुट्टै कुराकानी

काठमाडौँ — गत वर्ष पुस ५ गते नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थायी कमिटीका नेताहरूलाई शीतल निवासमा लञ्च मिटिङका लागि बोलाइन् । राष्ट्रपतिको आतिथ्य ग्रहण गर्न गएका नेताहरू निर्धारित ११ बजे उपस्थित नभएपछि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएर पहिलो पटक बैठक सञ्चालन गरिरहेका पुष्पकमल दाहाल आक्रोशित भए ।

संकट साम्य पार्न खोज्दै शीतल निवास

राष्ट्रपति निवासबाट हस्याङफस्याङ गर्दै आएका नेताहरूलाई उनले चर्कंदै भनेका थिए, ‘पार्टीको बैठक बसिरहेका बेला राष्ट्रपतिले किन नेताहरूलाई बोलाउने ? राष्ट्रपतिले बोलाउँदैमा जाने ? पार्टी अनुशासनमा बस्नुपर्दैन ?’ अन्य नेताहरूलाई अनुशासनको प्रश्न गर्ने दाहाल आफैं भने राष्ट्रपतिकहाँ गएको गयै गर्छन् । जब पार्टीभित्र संकट आउँछ, दाहालकै जस्तो दौडधुप अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चल्छ ।

पदीय जिम्मेवारीअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेट अन्य नेताहरूको जस्तो अस्वाभाविक हुँदैन तर पार्टीमा विवाद बढेका बेला प्रधानमन्त्रीकै भेटघाट शृंखला बाक्लिन्छ । संकटका बेला ओली र दाहाल शीतल निवासको छहारीमा जाने क्रमले बिहीबार पनि निरन्तरता पायो । पार्टीभित्र एकअर्कालाई लिखित आरोप–प्रत्यारोप गरेका ओली र दाहाल बिहीबार छुट्टाछुट्टै रूपमा राष्ट्रपति भण्डारीलाई भेट्न गए । ओली र दाहालबीच पानी बाराबारबाट संवादमा लैजाने रणनीतिअनुसार नेकपाको बैठक स्थगित भएका बेला उनीहरू भण्डारीलाई भेट्न पुगेका हुन् । ओली बिहान र दाहाल अपराह्न शीतल निवास पुगेका थिए । दुवैका सचिवालयले भेटलाई सामान्य र नियमित भनेका छन् । तर विगतमा जस्तै यस पटक पनि दुई नेतालाई संकटबाट बाहिरिन र मिलेर जान राष्ट्रपतिले सहजीकरण गरेको बुझ्न कठिन छैन ।

ओलीविरुद्ध दाहालले आरोपसहितको प्रस्ताव पार्टी सचिवालयमा ल्याएपछि गत मंसिर २ मा पनि राष्ट्रपति भण्डारीले दुवै नेतालाई छुट्टाछुट्टै भेटेकी थिइन् । राष्ट्रपति भण्डारीले दुवैलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएकी थिइन् तर त्यसपछि सचिवालयमा झन् तिक्तताको स्थिति उत्पन्न भयो । राष्ट्रपतिसँग भेटेको भोलिपल्ट ओलीले दाहालका आरोपको मौखिक जवाफ दिए । १३ गतेको अर्को बैठकमा ओलीले दाहालविरुद्ध ३८ पृष्ठको प्रत्यारोप पेस गरे । गत मंगलबारको बैठकमा ओली र दाहालबीच फेरि भनाभन भयो । यही कारण बुधबार ओली नै अनुपस्थित भएपछि आउँदो २० गतेसम्मका लागि बैठक स्थगित भएको छ । बैठक स्थगनको समय पारेर ओली र दाहाल राष्ट्रपतिकहाँ पुगेका हुन् ।

अहिले ओली र दाहालमाथि आ–आफ्नो प्रस्ताव थाती राखेर नयाँ प्रस्ताव बनाउन र सहमति गरेर जान पार्टीभित्रबाट दबाब बढेको छ । ओली यसका लागि करिब तयार छन् । त्यही सन्देश ओलीले आफूनिकट नेताहरूमार्फत दाहालसमक्ष पुर्‍याइरहेका छन् । बिहीबार पनि दाहाललाई भेट्न गएका ओलीनिकट नेताहरू महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले दुवै प्रस्ताव थाती राखेर संयुक्त प्रस्ताव बनाउन आग्रह गरेका थिए । दुवैका प्रस्ताव आरोप–प्रत्यारोपयुक्त भएकाले त्यसले संकट समाधानमा योगदान नगर्ने उनीहरूको तर्क थियो ।

गत वर्ष पनि ओली र दाहालबीच शक्ति संघर्ष चुलिँदा शीतल निवासमा लञ्च–डिनर र चियावार्ता बाक्लिएका थिए । प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारी बाँडफाँडको विषयलाई लिएर चुलिएको संघर्ष मंसिर ४ गते ओलीले ५ वर्ष सरकार चलाउने र दाहाल कार्यकारी अध्यक्ष बन्ने समझदारीमा मत्थर भएको थियो । उक्त समझदारी गर्नुअघि ओली र दाहाल राष्ट्रपतिकहाँ पुगेका थिए । राष्ट्रपतिको रोहबरमा विगतमा सहमति बनेकाले आपसमा तिक्तता आउनासाथ उनीहरू आफैं राष्ट्रपतिकहाँ पुग्छन् कि राष्ट्रपतिले उनीहरूलाई बोलाउँछिन् ।

पछिल्लो पटकको अन्तरसंघर्ष करिब पाटी विभाजनकै तहमा पुगेपछि राष्ट्रपति भण्डारीले अन्य नेताहरूसँग पनि भेटघाट गरिरहेकी छन् । नेकपा स्थायी कमिटीले भदौ २६ मा गरेको निर्णय कार्यान्वयन गर्ने सवालमा फेरि नेताहरूबीच तिक्तता बढेपछि कात्तिक १८ गते राष्ट्रपति भण्डारीले उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएकी थिइन् । उक्त भेटपछि गौतमले पार्टी एकता बचाउने भूमिका खेल्न र नेताहरू मिलेर जाने वातावरण तयार गर्न राष्ट्रपतिले आग्रह गरेको सार्वजनिक रूपमा बताएका थिए । राष्ट्रपति भण्डारीले गृहमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापालाई कात्तिक २० मा शीतल निवास बोलाएर एकताबद्ध भएर जान आग्रह गरेकी थिइन् । सचिवालयभित्र गौतम र थापा जुन पक्षमा लाग्छन् त्यो पक्ष बलियो हुने भएकाले भण्डारीले उनीहरूमार्फत ओली–दाहालको विवाद मिलाउन सहजीकरणको प्रस्ताव गरेकी थिइन् ।

गत वैशाखमा दल विभाजनको अध्यादेश जारी भएपछि संकट चुलिएका बेला पनि शीतल निवासमा ओली–दाहालको यस्तै दौडधुप चलेको थियो । असारमा नेकपाभित्र अर्को अन्तरसंघर्ष चुलिँदा पनि उनीहरूको शीतल निवास दौडधुप चलेको थियो । ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउनेसम्मको हल्ला चल्दा त्यस्तो अराजनीतिक कदम चाले सहयोग नगर्न आग्रह गर्दै नेकपाका अन्य नेताहरूसमेत शीलत निवास पुगेका थिए ।

प्रकाशित : मंसिर १९, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?