कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन् : पौडेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन् : पौडेल

'अबका आन्दोलन कुनै प्रतिगमनलाई स्वागत गर्ने हुँदैनन्, लोकतान्त्रिक समाजवादलाई स्थापित गर्ने गरी हुन्छ ।’
सम्झना रसाइली

तनहुँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने बताएका छन् । बिहीबार गृह जिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघारेस्थित बुल्दी खोला पुल उद्घाटन गर्दै नेता पौडेलले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको समेत बताएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः सम्झना रसाइली ।

‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन, त्यो हिजोको घटनाले पनि देखाएको छ’, नेता पौडेलले भने, ‘कुनै कारण, कुनै औचित्य पनि नभएको तर पुल उद्घाटन कार्यक्रमलाई बिथोल्न निषेधाज्ञा जारी गरेर मलाई धरपकड गरियो । यो लोकतन्त्रमाथिको नांगो नाच हो ।’

‘यो निषेधाज्ञा रामचन्द्र पौडेलका लागि मात्र होइन, दमौली र व्यास नगरपालिकाको वडा नम्बर १, ११ र १० का जनताका विरुद्ध मात्र पनि होइन’, पौडेलले भने, ‘यो निषेधाज्ञा सारा नेपाली जनताको अधिकारमाथिको निषेधाज्ञा हो । यसले मौलिक प्रश्न उठाएको छ, पाडो खानेले बाच्छो राख्दैन ।’ नेता पौडेलले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन । यो सिद्ध भएको छ । लोकतन्त्र संस्थागत गर्न अझै बाँकी छ, आजको यो हाम्रो उपस्थितिले त्यहीँ संकेत गरेको छ, अब आन्दोलनको सुरुवात भएको छ ।’

त्यस्तै, नेता पौडेलले राजनीतिलाई सुधार गर्नुपर्ने बताएका छन् । ‘राजनीतिमा विकृति व्याप्त छ, यसलाई पखालेर फाल्नुपर्छ र लोकतन्त्र साकार हुनुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न लागि परेको छ । त्यसैले नेपाली कांग्रेस पहिला आफैं लोकतान्त्रिक बन्नुपर्छ । आफूभित्र भएको विकृतिलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ ।’

‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सही रूपमा चरितार्थ नगरी, परिवर्तनलाई साकार नगरी अब यो आन्दोलन रोकिँदैन,’ नेता पौडेलले थपे, ‘लोकतान्त्रिक समाजवादका लागि अब हामी आन्दोलन अगाडि बढाउछौं, पक्षपातका विरुद्ध आन्दोलन गर्छौं ।’

अवसरवादले मुलुकलाई बिगारेको चर्चा गर्दै नेता पौडेलले सिद्धान्त हीन सत्ताले गर्दा जनतामा निराशा आएको बताए । यो सरकार अवसरवादको बाटोमा हिँडेको उनको आरोप थियो ।

‘नेपालको राजनीतिमा धेरै विकृति आयो, सिद्धान्त विहीन राजनीति, जोड घटाउको राजनीतिले विकृति आयो, अब सिद्धान्तको आधारमा राजनीति गरे देश बन्छ, देशलाई बनाउने हो भने सिद्धान्तमा अडिएर राजनीति गर्नुपर्दछ’, पौडेलले भने, ‘आजको युग समाजवादको युग हो, आजको युग लोकतान्त्रिक समाजवादको युग हो । लोकतान्त्रिक समाजवादको युग हो । अब हुने कुनै पनि आन्दोलन कुनै प्रतिगमनलाई स्वागत गर्ने हुँदैन लोकतान्त्रिक समाजवादलाई स्थापित गर्ने गरी हुन्छ ।’

त्यस्तै, नेता पौडेलले अबको आन्दोलन भविष्यका लागि हुने र अब अतिततिर फर्कने होइन अगाडि तिर जानु पर्दछ भनेका छन् । ‘हिजो दमौलीमा घटेको घटनाले आज नेपालमा तरंग आएको छ । प्रजातन्त्रवादीहरूको मनमा चस्को पसेको छ, ढ्यांग्रो बजेको छ’, उनले भने, ‘यो भ्रष्टचार, पक्षपात, कुशासनमा लिप्त सरकारका विरुद्ध पनि अब आन्दोलन चर्किन्छ ।’

नेता पौडेलले अब गरिने आन्दोलन अख्तियारलाई पनि ठेगान लाउने आन्दोलन हुने बताए । उनले सर्वसत्तावादको विरुद्ध संघर्ष गरिने बताए । उनले न्यायिक निकायलाई पनि सावधान गर्ने आन्दोलनको आवश्यकता रहेको बताए ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार उद्घाटन गर्न नपाएको पुल उद्घाटनका लागि बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई करिब तीन घण्टापछि छाडेको थियो । बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

सत्ता र शक्तिको दुरुपयोग गरी उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको पुल उद्घाटन कार्यक्रममा सहभागि कांग्रेसका नेताहरूले बताएका छन् ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीको अध्यक्षतामा आयोजित पुल उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, ध्रुव वाग्लेलगायतका नेताहरूले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचार प्रति खेद व्यक्त गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्धको आन्दोलन जारी रहने बताएका छन् ।

प्रकाशित : मंसिर १८, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्

महिला हिंसाका घटना नेपालमा मात्रै होइन संसारमै बढे : महिलामन्त्री श्रेष्ठ

जयसिंह महरा

काठमाडौँ — लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका बेला सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले महिलाविरुद्धका घटना नेपालमा मात्रै बढेको नभएर संसारभर बढेको बताएका छन् । यसरी बढेका घटनामा कसरी न्यूनीकरण ल्याउन सकिन्छ भनेर सबैले लाग्नुपर्ने उनको भनाइ थियो । 

मन्त्री श्रेष्ठले महिलामाथि हुने लैंगिक हिंसा र बलात्कारलगायत यौनजन्य हिंसा न्यूनिकरणमा दक्षिण एसियामा नेपालमा राम्रो काम भइरहेको पनि दाबी गरेका छन् ।

संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा बिहीबार भएको 'लैंगिक हिंसा विरुद्धको अभियानमा तीनै तहका जनप्रतिनिधिहरूको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले भने, 'लैंगिक हिंसा न्यूनिकरणमा नेपालमा दक्षिण एसियामा यो सवालमा राम्रो काम भइरहेको छ । त्यसो भए तापनि जुन यो कोभिड-१९ को बीचमा घटनाहरू घटे । विश्वमै घटनाहरू बढेको छ । अस्ति मैले तथ्यांक हेरे । नेपालमा मात्रै होइन संसारमै घटनाहरू बढे ।'

नेपालमा दैनिक ७ जना बालिका तथा महिला बलात्कृत भएका उजुरी परेको नेपाल प्रहरीको तथ्यांक छ । यौन हिंसाका धेरै घटना भने प्रहरी प्रशासनकोमा उजुरीका रूपमा दर्ता हुन नपुग्ने गरेको सरकारी अधिकारीहरूले नै बताउने गरेका छन् ।

यस्तो अवस्थामा सरकारका मन्त्रीले नेपालमा मात्र नभएर विश्वभर यौन हिंसाका घटना बढेको र यस्ता हिंसा न्यूनिकरण गर्ने मामिलामा नेपाल दक्षिण एसियामा अग्रणी स्थानमा रहेको दाबी गरेका हुन् । मन्त्रीले कुन तथ्यांक आफूले अध्ययन गरेको भन्ने भने खुलाएनन् ।

अर्कोतिर मन्त्री श्रेष्ठले संविधान र कानुनमा लैंगिक हिंसा नरहेको बताएका छन् । उनले सरकारले आवश्यक परेको बेला त्यस्ता कानुनहरू अध्यादेशमार्फत भएपनि ल्याइरहेको बताएका छन् ।

'हाम्रो संविसधानले सम्पूर्ण भेदभाव अन्त्य गर्ने भनेको छ । कानुनमा त्रुटि छैन,' मन्त्री श्रेष्ठले लैंगिक हिंसाका घटना नियन्त्रणबारे उनले थपे, 'संघीय सरकारले चाहेर मात्रै हुँदैन, प्रदेश सरकार र स्थानीय तहले मात्रै चाहेर हुँदैन । हामी आफैंबाट सुरु गर्नुपर्छ । परिवारबाट सुरु गर्नुपर्छ । समाजबाट सुरु गर्नुपर्छ ।'

लैंगिक हिंसा अन्त्यका लागि कानुन आवश्यक परेमा सरकार अध्यादेशमार्फत भएपनि ल्याउन तयार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । एसिड आक्रमणविरुद्ध अध्यादेश ल्याएको प्रसंग उल्लेख गर्दै उनले बलात्कारका घटना मेलमिलाप गराउने प्रथा अन्त्य गर्नका लागि सरकारले अध्यादेश ल्याएको बताए । उनले ६ वर्षीय बालिका बलात्कृत भएका घटना सञ्चारमाध्यममा सुनेको उल्लेख गर्दै पीडकविरुद्ध कडा कानुन बनाएर व्यवहारमा लागु गर्नेपनर्ने भनाइ राखे । 'अहिले पनि कलंकको रूपमा नेपालमा देखिरहेका छौं घटनाहरू । ६ वर्षको बालिका बलात्कृत हुन्छ । त्यसकारणले हामीले अझ कडाभन्दा कडा कानुन बनाएर व्यवहारमा लागु गर्नुपर्छ,' उनले भने ।

सत्तारुढ नेकपाकै कतिपय सांसदहरूले भने लैंगिक हिंसालाई संविधान र कानुनहरूले नै प्रशय दिएको तर्क गर्छन् । संविधानले नै महिला तथा अन्य लिंगका व्यक्तिलाई नागरिकता लगायतका विषयमा विभेद गरेको उनीहरू बताउने गर्छन् । त्यस्तै, कानुनको अभाव तथा प्रभावकारी कार्यान्वयन नहुँदा बलात्कारजस्तो जघन्य अपराधमा संलग्नहरूले उन्मुक्ति पाउने गरेको सांसदहरू नै बताउने गर्छन् । यता मन्त्री भने संविधान र कानुनले कुनै विभेद नगरेको र विश्वमै लैंगिक हिंसाका घटना बढेकोले नेपालमा पनि बढेको भन्ने अभिव्यक्ति दिन्छन् ।

नेपालमा भएका विकृत घटनालाई विभिन्न समयमा मन्त्रीहरूले विश्वका त्यस्तै घटनाहरूसँग जोडेर विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । यसअघी गृहमन्त्री रामबहादुर थापाले बलात्कार पुँजीवादले गराएको अभिव्यक्ति दिएका थिए । त्यस्तै उनले रुकुममा भएको दलित युवाहरूको हत्यालाई अमेरिकामा भएको अश्वेत नागरिकको हत्यासँग जोडेका थिए । उनले अमेरिकामा पनि जातीय तथा रंगका आधारमा विभेद हुने गरेको भन्दै संसदीय समितिमा अभिव्यक्ति दिएका थिए । जसको चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित : मंसिर १८, २०७७ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×