१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेपालसँग समझदारी विकास हुँदैछ : भारतीय विदेशमन्त्री जयशंकर

सुरेशराज न्यौपाने

काठमाडौँ — भारतका विदेशमन्त्री एस जयशंकरले विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा दुवै देशबीच समझदारी विकास हुँदै गएको बताएका छन्  ।

नेपालसँग समझदारी विकास हुँदैछ : भारतीय विदेशमन्त्री जयशंकर

भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा नेपालसँगको सम्बन्धको प्रसंगमा विदेश मन्त्री जयशंकरले त्यस्तो धारणा राखेका हुन् । ‘हो कुनै बेला हामीबीचमा केही समस्या थियो तर, अहिले हामी प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् र त्यो आपसी समझदारीमै भइरहेको छ,’ जयंशंकरले भनेका छन् ।

जयंशकरको संकेत पछिल्लो समय भारतका तर्फबाट लगातार भएका उच्चस्तरीय भ्रमणको शृखंलातर्फ थियो । नक्सा विवादका कारण एक वर्षदेखि दुई देशबीच संवादहीनता कायम रहेकै अवस्थामा डेढ महिनाअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका थिए ।

त्यसलगत्तकै भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला काठमाडौं ओर्लेका थिए । भारतीय उच्च अधिकारीहरुबाट भएका लगातारका यी भ्रमणलाई भारतको नेपालसँगको संवादहीनता तोड्ने प्रयासका रुपमा अथ्र्याइएको छ । विशेषगरी दुई देशबीचको संवादहीनताका फाइदा उठाउँदै उत्तरी छिमेकी चीनको नेपालमा आफ्नो प्रभावलाई बढाउँदै लगेको र त्यसकारण पनि काठमाडौंलाई ‘इन्गेज’ राखिराख्ने रणनीतिअन्तर्गत भारतका तर्फबाट उच्च अधिकारीहरुको नेपाल भ्रमण भएको दाबी गरिएको छ ।

साथै अन्तर्वार्तामा जयंशकरले छिमेकीहरुबीच समस्या हुनु सामान्य रहेको समेत उल्लेख गरेका छन् । ‘कुनै दुई छिमेकी भन्नुस् जसका बीचमा समस्या नभएको होस्,’ जयंशकरले भनेका छन् । त्यसैगरी उनले दुई देशबीच पछिल्लो एक वर्षदेखि कायम नक्सा विवादलाई घरेलु राजनीतिको नतिजाको रुपमा समेत संकेत गरेका छन् । उनले अधिकांश छिमेकीहरुमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेका कारण समेत विवाद देखिने गरेको जनाएका छन् ।

‘उनीहरुको आफ्नो राजनीति छ । हाम्रो आफ्नै राजनीति छ । विवाद त भइहाल्छन् । मुख्य कुरा विवादलाई कसरी व्यवस्थापन गर्छौं भन्ने हो । प्रमुख प्रश्न भनेको समस्याको समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने हो ?,’ जयंशकरले अन्तर्वार्तामा भनेका छन् । तर, छिमेकसँगको सम्बन्धमा पछिल्ला वर्षहरुमा व्यापक बद्लाव आएको समेत उनले दाबी गरेका छन् ।

त्यसैगरी जयंशकरले संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबीचको सम्बन्धका बारेमा निष्कर्षमा पुग्न नहुने बताएका छन् ।

भारतले नेपालको संविधान जारी गर्दा आफ्ना चासोहरुलाई बेवास्ता गरेको भन्दै विरोध जनाएको थियो । संविधानमा आफ्नो सुझाव समेट्नका लागि दबाब दिनका लागि त्यतिबेला विदेश सचिव रहेका जयशंकर आफै काठमाडौं ओर्लेका थिए । तर, नेपालका प्रमुख राजनीतिक दलहरुले भारतको दबाबलाई अस्वीकार गरे र संविधान जारी गरेरै छाडे ।

त्यसबाट आक्रोशित बनेको भारतले नेपालमाथि करिब ६ महिना लामो अघोषित नाकाबन्दी नै लगाएको थियो । उक्त नाकाबन्दीका कारण नेपालमा भारतविरोधी भावना थप चर्किन पुग्यो । नाकाबन्दीको नेपालमात्र मात्र नभएर अन्तर्राष्ट्रियरुपमा पनि चर्को विरोध भएपछि भारतले त्यसलाई हटाएको थियो ।

प्रकाशित : मंसिर १८, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?