कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झारफुकको भर पर्दा सुत्केरीले गुमाइन् ज्यान

मेनुका ढुंगाना

अछाम — अछाम सदरमुकामबाट झन्डै ६५ किलोमिटर टाढाको तुर्माखाँद गाउँपालिका–४ ल्वारागोदेकी ३८ वर्षीया नामसरा विकले बेलैमा उपचार नपाउँदा सोमबार राति ज्यान गुमाउनुपर्‍यो ।

झारफुकको भर पर्दा सुत्केरीले गुमाइन् ज्यान

पाँच दिनदेखि पेट दुख्नुका साथै हल्का रगत बगिरहेको थियो । गर्भवती भएको आठ महिना मात्रै भएकाले परिवारले उनको समस्यालाई सामान्य रूपमा लिए । घरमै सुत्केरी हुने चलन रहेकाले स्वास्थ्यचौकी लैजानुपर्छ भन्ने कसैले सोचेनन् ।

‘भाउजूलाई स्वास्थ्यचौकी लैजानुपर्छ भन्ने थाहै भएन । हामी त्यो दिन देवता मान्ने काममा व्यस्त थियौं,’ नामसराका देवर गोप विकले भने, ‘दाजु (मृतकका श्रीमान्) आफैं पनि पितर धामी हुन् । पहिले देवता मान्ने त्यसपछि स्वास्थ्यचौकी लैजाने कुरा भएको हो । घरमा हुँदा झारफुक गर्‍यौं, जडीबुटी पनि खुवायौं ।’ उनका अनुसार छैटौं सन्तान जन्म दिने क्रममा नामसराको ज्यान गयो । अहिले उनका तीन छोरा र दुई छोरी छन् ।

स्थानीयका अनुसार अन्धविश्वास र अशिक्षाका कारण अझै पनि बिरामी हुँदा विशेष अवस्थाबाहेक त्यहाँका बासिन्दा स्वास्थ्य संस्था जाँदैनन् । गाउँलेको पहिलो प्राथमिकता स्थानीय धामीझाँक्री हुन् । झारफुकबाट ठीक भएन भने जडीबुटीको भर पर्छन् । बिरामी गम्भीर अवस्थामा नपुग्दासम्म स्वास्थ्य संस्था पुर्‍याउँदैनन् ।

‘सन्तान नभएर पनि होइन, छोराकै लागि हो भनौं भने पनि तीन छोरा छन्,’ गोपले भने, ‘एक दम्पतीले जति सन्तान जन्माउँछन्, ती सबैलाई भगवान्को बरदानका रूपमा लिने चलन छ । गाउँमा सबै महिलाको अवस्था भाउजूको जस्तै हो ।’ परिवारका सबै सदस्य देवता पुज्न व्यस्त भएका बेला नामसरा बेहोस भएर ढलेकी थिइन् । त्यसपछि मात्रै उनलाई करिब १ घण्टा टाढाको तुर्माखाँद स्वास्थ्यचौकीमा सोमबार दिउँसो १२ बजे पुर्‍याइएको थियो । स्वास्थ्यचौकी पुर्‍याउनुभन्दा १५ मिनेटअघि धेरै रगत बग्यो । त्यहाँ प्राथमिक उपचार भयो । ‘भाउजूको अवस्था गम्भीर भइसकेको रहेछ,’ गोपले भने, ‘यस्तो अवस्थाका गर्भवती र सुत्केरीलाई सरकारले हेलिकप्टरबाट उपचारमा लैजान्छ भन्ने हामीलाई थाहा थिएन । कसलाई भनेपछि हेलिकप्टरले लैजान्छ भनेर भनिदिने पनि कोही भएन ।’ स्वास्थ्यकर्मीले जिल्ला अस्पताल रेफर गरेपछि गाडी खोज्न धेरै समय लागेको थियो ।

तुर्माखाँद–४ का वडाध्यक्ष कविराम बयकले भने, ‘ढिला थाहा पाएँ । अस्पताल पठाउनलाई एम्बुलेन्स खोजें । एम्बुलेन्सको कन्डिसन पनि ठीक थिएन । विस्तारै भए पनि जिल्ला अस्पताल लैजाउँ भनेर बिग्रेकै एम्बुलेन्समा पठाएका हौं ।’ बाटोमा एम्बुलेन्स बिग्रियो । अर्को गाडी खोज्दासम्म अबेर भएर ढिलो अस्पताल पुर्‍याइएको उनले बताए ।

जिल्ला अस्पतालका डा. अतुल भारद्वाजका अनुसार नामसरालाई तुर्माखाँदबाट मंगलसेन ६ घण्टापछि पुर्‍याइएको थियो । ‘रगत धेरै बगिसकेकाले बिरामीको अवस्था गम्भीर थियो,’ उनले भने, ‘हामीले नर्मल डेलिभरी नै गराएका हौं, बच्चा पेटमै मरिसकेको रहेछ ।’ राति १२ बजे बच्चा जन्मेको केही समयपछि उच्च रक्तस्रावकै कारण सुत्केरीको मृत्यु भएको उनले बताए । ‘सुत्केरी भइसकेपछि हामी रगत दिने तयारीमा थियौं । अनेक प्रयास गर्दा पनि बचाउन सकिएन,’ उनले भने ।

राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रमअन्तर्गत लकडाउनपछि मात्रै अछामका ७ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरबाट उद्धार भएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ‘हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा स्वास्थ्यचौकी वा स्थानीय तहबाट खबर आउनुपर्छ । यो केसमा मलाई समयमा खबर नै आएन । जिल्ला अस्पताल पुर्‍याएपछि मात्रै जानकारी आयो,’ उनले भने ।

प्रकाशित : मंसिर १८, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?