प्रदर्शन रोक्न खोज्‍नु असंवैधानिक- समाचार - कान्तिपुर समाचार

प्रदर्शन रोक्न खोज्‍नु असंवैधानिक

संविधानविद् भन्छन्– सरकारको कदम गलत
राजेश मिश्र

काठमाडौँ — संविधानका जानकारहरूले पूर्वराजा समर्थकको प्रदर्शनलाई रोक लगाउन खोज्नु लोकतान्त्रिक मूल्य, मान्यता र संविधानविपरीतको कदम भनेका छन् । कुनै पनि बहानामा शान्तिपूर्ण प्रदर्शन, सभा र जुलुसलाई रोक्न खोज्नु अहिलेको व्यवस्था सुहाउँदो काम नभएको उनीहरूको टिप्पणी छ ।

केही दिनयता राजधानी काठमाडौंसहित देशभरका मुख्य सहरमा पूर्वराजा समर्थकहरूले राजतन्त्र, हिन्दु राष्ट्रलगायतको पक्षमा प्रदर्शन गरिरहेका छन् । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायलाई पूर्वराजा समर्थकहरूले गरिरहेका प्रदर्शन, सभा, जुलुस हुन नदिन निर्देशन गरेको छ । गृहले प्रदर्शन नगर्न दिइएको निर्देशन अटेर गरिए बल प्रयोगको चेतावनीसमेत दिएको छ ।

कोभिड महामारी फैलिन सक्ने नाममा राजावादीको प्रदर्शनमा रोक लगाउने गृहको प्रयत्न छ तर सत्तारूढ दलकै राजनीतिक कार्यक्रमहरू दिनदिनै विभिन्न स्थानहरूमा भइरहेका छन् । उनीहरूको पार्टी प्रवेशका कार्यक्रम निरन्तर भइरहेका छन् ।

त्यस्तै, विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको राजनीतिक भेला, जमघट र प्रदर्शनहरू नरोकिएका बेला पूर्वराजावादी लक्षित कार्यक्रमलाई मात्रै रोक्न खोजिएपछि सरकारको उक्त कदमको सामाजिक सञ्जालमा पनि व्यापक निन्दा भएको छ । संविधानका जानकार वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले पूर्वराजावादीको कार्यक्रम हुन नदिने सरकारको कदम लोकतन्त्रविपरीत हर्कत भएको बताए । ‘संविधानले शान्तिपूर्ण भेला हुन पाउने र संगठन गर्न पाउने विषयको अधिकारलाई ग्यारेन्टी गरेको छ,’ उनले भने, ‘त्यसको लाभ पूर्वराजावादीहरूले पनि लिन पाउँछन् । कसैले पाउने कसैले नपाउने भन्ने छैन ।’ उनले सरकारको उक्त निर्णय अधिनायकवादी कदम भएको उल्लेख गरे । उनले सरकारलाई मन लागेको दल वा संगठनले भेला जुलुस गर्न पाउने र अर्कोले नपाउने आदेश जारी गर्नु निन्दनीय भएको बताए ।

स्वतन्त्रताको मौलिक हकअन्तर्गत संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने, राजनीतिक दल खोल्ने, संघसंस्था खाल्नेलगायतका अधिकार दिएको छ । संविधानमा भनिएको छ– कानुनबमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन ।

संविधानविद् विपिन अधिकारी शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउनु र प्रदर्शनमा सहभागीलाई थुनछेक गर्नु संविधानविपरीत भएको बताउँछन् । ‘कसैलाई सभा, भेला प्रदर्शन गर्न पाउँदैनौं भन्न मिल्दैन,’ उनले भने, ‘त्यस्ता सभा, जुलुसलाई नियमन गर्न सकिन्छ तर रोक्न मिल्दै मिल्दैन ।’ उनले कोभिडको संक्रमण नफैलियोस् भनेर सरकारले प्रदर्शनमा निश्चित दूरी कायम राख्न, मास्क लगाउन जस्ता विषय भन्न सक्ने तर प्रदर्शन गर्नै नदिने कुरा गलत भएको बताए ।

मन्त्रिपरिषद्ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्य प्रतिकूल हुने गतिविधि नियन्त्रणको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । गृहले त्यही अधिकारको प्रयोग गर्न प्रजिअहरूलाई निर्देशन दिएको छ । पूर्वराजावादीहरूको प्रदर्शन एकैसाथ धेरैतिर हुन थालेपछि केहीअघि गृहमन्त्री रामबहादुर थापासहितको सुरक्षा बैठकले त्यसबाट अस्थिरता फैलिने निष्कर्ष निकाल्दै त्यसलाई रोक्ने निर्णय लिएको कुरा बाहिरिएको थियो । संविधानविद् अधिकारी कसैको राजनीतिक मुद्दालाई निस्तेज गर्ने छुट संविधानले सरकारलाई नदिएको बताउँछन् । ‘सत्तारूढ दलका सिनियर नेता तथा मन्त्रीहरूबाटै पूर्वराजावादीको प्रदर्शन लक्षित गरेर यस्तो गर्न दिइने छैन जस्ता धम्कीपूर्ण अभिव्यक्ति आउनु अशोभनीय छ,’ उनले भने ‘आफ्नो राजनीतिक आस्था प्रयोग गर्नेलाई सत्ताधारीबाट डर, त्रास देखाइनु, त्यो गर्न पाइँदैन भन्नु लोकतान्त्रिक व्यवस्थासँग मिल्दो आचरण हुँदै भएन । लोकतन्त्रको उपयोग एकथरीले गर्न पाउने र अर्कोले नपाउने हुँदैन ।’

जनमत र निर्वाचन पद्धतिबाट जुनसुकै एजेन्डालाई स्थापित गर्न सकिने छुट संविधानले नागरिकलाई दिएको उनले उल्लेख गरे । संविधानले असंशोधनीय व्यवस्थामा राजतन्त्रको विषय नराखेकाले विधि र प्रक्रियाभित्रै रहेर संविधान संशोधनमार्फत राजतन्त्र फर्काउन पाउने अधिकार पनि संविधानले सुरक्षित गरेको उनले बताए ।

सरकारले कोभिडलाई देखाएर पूर्वराजावादीको प्रदर्शनलाई रोक्ने निर्णय गरिरहँदा सबै बजार, व्यवसाय खुलिसकेको अवस्था छ । सार्वजनिक निकाय, बजार र सार्वजनिक यातायातहरूमा देखिने भीड तथा अन्य राजनीतिक दलको कार्यक्रमले कोभिड नसार्ने र पूर्वराजावादीको प्रदर्शनले मात्रै कोभिड सार्ने सरकारको बुझाइलाई पूर्वाग्रही मानिएको छ । ‘सबै कुरा भइरहने तर केबल राजावादीले मात्रै प्रदर्शन, भेला गर्न पाउँदैन भन्ने कुरा अतिशयोक्ति नै हो,’ अधिकारीले भने, ‘हतियारको प्रयोग नगरीकन तथा सार्वजनिक रूपमा घृणा र द्वेष नफैलाउने गरी जस्तोसुकै विचार प्रकट गर्न पाइन्छ । कोरोनाको आडमा त्यसलाई नियन्त्रण गर्न मिल्दैन ।’

राष्ट्रिय सभा सदस्य अधिकारी पनि अन्य कुनै कानुनको छेस्का देखाएर वाक्, भेला र संगठन गर्न पाउने विषयलाई रोक्न खोज्नु सिधा संविधानले हरेक नागरिकलाई ग्यारेन्टी गरेको स्वतन्त्रताको हकमाथिको आक्रमणको प्रयासका रूपमा व्याख्या गर्छन् । ‘अझ ‘सेलेक्टिभ’ भएर पृथक् मतलाई रोक्न खोज्नु संविधान, मानवअधिकार र वैयक्तिक स्वतन्त्रतामाथिकै कुठाराघात हो,’ उनले भने, ‘आज एउटाको कार्यक्रम रोकिँदा भोलि सरकारले आफ्नोभन्दा फरक विचार राख्ने वा विरोधमा उत्रिने जोसुकैको कार्यक्रम रोक्ने अवस्था आउन सक्छ ।’

प्रकाशित : मंसिर १८, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

‘चलखेल गरेर सेयर बजार बढाइयो’

धितोपत्र बोर्डले गरेको अध्ययनको निष्कर्ष
सेयर मूल्य शतप्रतिशत वृद्धि हुनेमा जलविद्युत् समूहका २१, अन्य र व्यापार समूहका २/२, उत्पादन तथा प्रशोधन अनि वित्त कम्पनी समूहका १/१ कम्पनी छन्
यज्ञ बञ्जाडे

काठमाडौँ — सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभई चलखेलबाट भएको नियामक निकाय धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । अहिले धेरै कम्पनीका सेयर मूल्य बढ्नुमा उचित कारण नभएको अध्ययनको निष्कर्ष छ ।

धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बिक्री सम्बन्धमा हालै गरिएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा बजारमा सिधै चलखेल भयो भन्ने उल्लेख नभए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतको दाबी छ ।

‘२०७७ असारको तुलनामा मंसिर ११ सम्मको सूचीकृत कम्पनीको सेयर मूल्य अध्ययन गर्दा २७ कम्पनीको मूल्यमा शतप्रतिशतभन्दा बढी वृद्धि भएको, ५० प्रतिशतदेखि शतप्रतिशत मूल्य वृद्धि हुनेमा ३१ कम्पनी छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘वृद्धिको उल्लेख्य कारण यकिन हुन सकेन ।’ यी कम्पनीको मूल्य वृद्धिलाई उचित मान्न सक्ने कारण नदेखिएकाले त्यस्ता कम्पनीको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गर्न जरुरी रहेको प्रतिवेदनले सुझाएको छ । अस्वाभाविक रूपमा सेयर मूल्य बढ्ने कम्पनीले कम मात्र सेयर सर्वसाधारणलाई जारी गरेका छन् । सीमित व्यक्तिसँग मात्र सेयर भएकाले ती सेयर ‘कर्नरिङ’ गरी चलखेल गरेर मूल्य बढाइएको हुन सक्ने अध्ययनको निष्कर्ष छ ।

सेयर मूल्य शतप्रतिशत वृद्धि हुनेमा जलविद्युत् समूहका २१, अन्य र व्यापार समूहका २/२, उत्पादन तथा प्रशोधन अनि वित्त कम्पनी समूहका १/१ कम्पनी छन् । ५० प्रतिशतदेखि शतप्रतिशत वृद्धि हुनेमा ३१ कम्पनीमा जलविद्युत् उपसमूहका आठ, वित्त समूहका सात, निर्जीवन बिमा समूहका पाँच र वाणिज्य बैंक समूहका तीन कम्पनी छन् । यस्तै विकास बैंक, होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहका दुई/दुई कम्पनी रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेप्सेको बजार पुँजीकरणमा उत्कृष्ट १० कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी (वृद्धिदर १ सय ६६ प्रतिशत) र नेपाल दूरसञ्चार कम्पनी (वृद्धिदर ६६ प्रतिशत) पर्छन् । सूचीकृत अरू कम्पनीले बजारमा सानो मात्रामा सेयर जारी गरेका छन् । यी कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने खालका परिस्थिति तथा घटना केही नभएको तर सेयर मूल्य उच्च अंकले बढेकाले स्वाभाविक नभएको अध्ययनको निष्कर्ष छ । अहिले अस्वाभाविक रूपमा सेयर मूल्य बढेका केही कम्पनीको तथ्यगत अध्ययन पनि प्रतिवेदनमा समेटिएको छ ।

पहिलो, आर्थिक वर्ष २०७६/७७ को असार मसान्तको चौमासिक प्रतिवेदनअनुसार हाल उच्च वृद्धि भएको कम्पनी आँखुखोला जलविद्युत्को कम्पनीको प्रतिसेयर नेटवर्थ ६८ रुपैयाँ मात्र छ । उक्त अवधिमा यो कम्पनीको सेयर मूल्य सबैभन्दा बढी २ सय २७ प्रतिशत बढेको छ । २०७७ असार मसान्तमा यो कम्पनीको सेयर मूल्य ४९ रुपैयाँ रहेकामा यही मंसिर ११ मा १ सय ६० रुपैयाँ पुगेको छ । ‘यस्तो असाधारण वृृद्धिलाई पुष्टि गर्ने आधार यकिन गर्न सकिएन । जसको मूल्य सजिलै घटबढ गर्न सक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

दोस्रो, अहिले बजारमा धेरै सेयर मूल्य वृद्धि हुने दोस्रो कम्पनी रैराङ हाइड्रोपावर कम्पनी हो । असारदेखि हालसम्म यो कम्पनीको सेयर मूल्यको वृद्धिदर १ सय ९७ प्रतिशत छ । असार मसान्तमा यो कम्पनीको सेयर मूल्य ८९ रुपैयाँ थियो । यही मंसिर ११ सम्म यो कम्पनीको मूल्य २ सय ६४ रुपैयाँ पुगेको छ । असार मसान्तमा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २ रुपैयाँ छ । तेस्रो, गत असारदेखि हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा १ सय ६७ प्रतिशतको वृद्धिदर देखिएको छ, जसको कारण ३५ प्रतिशत लाभांश देखिन्छ । तर सो कारणले मात्र उच्च मूल्य हुनुपर्ने अवस्था देखिँदैन ।

धितोपत्र बजारमा सहभागीहरूको सूचना प्रवाहलगायत सुशासनको कमजोर अभ्यास र धितोपत्रको दोस्रो बजार सुपरिवेक्षण पूर्वाधार तथा अभ्याससम्बन्धी कमीकमजोरीका कारणले समेत सेयर बजारमा ठूलो उतार चढाव आउने गरेको अध्ययनमा उल्लेख छ । ‘यसमा सुधारका लागि सूचना प्रवाहलगायत सुशासनसम्बन्धी ऐन–नियमका व्यवस्था तथा सम्बन्धित निर्देशनको परिपालना गराउन बजार सुपरिवेक्षणको सुदृढ पूर्वाधार तयार गर्नुका साथै कानुन प्रबलीकरण कार्य प्रभावकारी बनाउनुपर्ने,’ प्रतिवेदनमा उल्लेख छ ।

धितोपत्र बजार हल्ला तथा बजार प्रवृत्तिमा आधारित हुने गरेकाले यसमा सुधार ल्याउन लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम व्यापक रूपमा सञ्चालन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ । त्यसो त बजारमा भित्री कारोबार मौलाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि स्वीकार गरेको छ । धेरै कम्पनीका सेयर मूल्य प्रभावित हुने निर्णय सार्वजनिक गर्नुअघि सेयर मूल्य अत्यधिक बढ्नु र ती निर्णय घोषणापछि सेयर मूल्यको वृद्धि रोकिनुले भित्री कारोबार भएको पुष्टि हुने स्रोतले बताएको छ । नियामक निकाय धितोपत्र बोर्डले प्रभावकारी रूपमा नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा यस्तो गतिविधि मौलाएको बताइएको छ । ‘अहिलेको सेयर बजारको वृद्धिमा अपी हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, नेको इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्सलगायत तीन दर्जनभन्दा बढी सूचीकृत कम्पनीको सेयर कारोबार भित्री सूचना चुहाएर भएको स्पष्ट रूपमा देखिन्छ,’ स्रोतले भन्यो, ‘यस्ता गतिविधि रोक्न नियामक निकायका गतिविधि प्रभावकारी हुनुपर्‍यो । जिम्मेवारी पूरा गर्न नसक्ने अनि चलखेल बढ्यो भन्दै हिँड्नुको कुनै अर्थ हुँदैन ।’

बजारमा ख्याति कमाएका राम्रा कम्पनीको सेयर कारोबारमा यस्तो अवस्था देखिएको बताइएको छ । ‘सेयर बजारलाई असर गर्ने निर्णयहरू कम्पनीबाट औपचारिक रूपमा सार्वजनिक हुनुअघि विभिन्न माध्यममार्फत चुहाएर सेयर गर्ने प्रचलन निकै बढेको छ,’ स्रोतले भन्यो, ‘बजार बढेको समयमा यस्तो गतिविधि धेरै देखिन्छ ।’ यस्तो प्रवृत्ति नयाँ भने होइन । तर विगतको तुलनामा अहिले ह्वात्तै बढेको छ । बढेको बजारमा चलखेल गर्ने उद्देश्यले यस्तो प्रवृत्ति अकासिएको जानकारहरू बताउँछन् । पछिल्ला महिनायता सेयर बजार निरन्तर रूपम बढिरहेको छ । सोही क्रममा नेप्सेले यसअघिको उच्च विन्दु (१ हजार ८ सय ८१) पार गरी उकालो लागिरहेको छ । यस्तै कारोबार रकम, कारोबार संख्या र बजार पुँजीकरणले पनि हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ । अर्थतन्त्रका अधिकांश परिसूचकको अवस्था राम्रो नभएको अवस्थामा आधारबिना सेयर बजार उच्च अंकले बढ्नुले दीर्घकालमा राम्रो नगर्ने विज्ञहरूको भनाइ छ ।

के हो इनसाइडर ट्रेडिङ ?

कुनै व्यक्तिले सार्वजनिक भइनसकेका भित्री सूचना चुहाई गरिने सेयर कारोबार इनसाइडर ट्रेडिङ (भित्री कारोबार) हो । यसरी सूचना चुहाई आफूले वा अरूलाई कारोबार गर्न लगाए भित्री कारोबार भएको मानिन्छ । आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरूलाई दिन मिल्दैन ।

प्रकाशित : मंसिर १८, २०७७ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×