कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा
तनहुँ — पुल उद्घाटन गर्न गृहनगर दमौली आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको छ । व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका उनलाई प्रहरीले दिउँसो पौने ३ बजेतिर पक्राउ गरेको थियो ।
सत्तारूढ नेकपानिकट राष्ट्रिय युवा संघ पुल उद्घाटन कार्यक्रमलाई अवरोध गर्न सदरमुकाम दमौलीमा प्रदर्शनमा उत्रिएपछि त्यसलाई मत्थर पार्न भन्दै स्थानीय प्रशासनले दिउँसो १२ देखि साँझ ६ बजेसम्म कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गरेको थियो । पौडेलबाट उद्घाटन गराउने कार्यक्रम भने बुधबार दिउँसो १ बजेलाई तय गरिएको थियो । अकस्मात् जारी निषेधाज्ञा तोड्दै पौडेल पुल उद्घाटन गर्न हिँडेपछि तालघरेबाट उनलाई पक्राउ गरिएको थियो । नारा–जुलुससहित पुलनजिकै पुगेका कांग्रेस कार्यकर्तालाई प्रहरीले रोकेपछि झडप पनि भएको थियो । त्यस क्रममा नेता पौडेल, कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेसहित एक दर्जन नेता–कार्यकर्ता पक्राउ परेका हुन् ।
पौडेलसहित सबैलाई साँझ साढे ५ बजे प्रहरीले छाडेको थियो । नेताहरू हिरासतमा रहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहा गर्न आग्रह गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
तनहुँ कांग्रेसका कार्यवाहक सभापति आलेले सर्वदलीय सहभागिता रहेको निर्माण उपभोक्ता समितिले सर्वसम्मत रूपमा पौडेलबाट पुल उद्घाटन गराउने निर्णय गरेको बताए । त्यसमा नगरपालिका र सम्बन्धित वडाको साथ–सहयोग रहेको उनको भनाइ छ । तर मंगलबारदेखि नै प्रशासनले सत्तासीन पार्टीको इसारामा उपभोक्ता समिति र वडाध्यक्षलाई उद्घाटन स्थगन गर्न भनेको र उद्घाटन नरोकिने भनेपछि युवा संघलाई प्रशासनले नै प्रतिरोध गर्न लगाएको आरोप उनले लगाए । ‘युवा संघका केहीलाई पक्राउ गरेको नाटक गरी निषेधाज्ञा लगाइयो,’ उनले भने, ‘यस्तो घटनाबाट सरकार देशलाई प्रतिगमनमा धकेल्ने योजनामा छ भन्ने छर्लङ्ग भएको छ । पुल उद्घाटनले न शान्तिसुरक्षामा असर पुर्याउँथ्यो न कुनै हानि–नोक्सानी हुन्थ्यो ।’ उनले प्रशासनको ‘रवैया’ विरुद्ध आन्दोलन गर्ने बताए ।
प्रहरीसँगको झडपमा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारी र जिल्ला सचिव लक्ष्मी आचार्य घाइते भएको र उनीहरूको रत्नहरि अस्पतालमा उपचार भइरहेको आलेले बताए । उनका अनुसार जिल्ला समन्वय समिति उपप्रमुख पवित्रा पौडेल, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्य हड्खले र उद्धव पौडेल पनि घाइते भएका छन् । प्रहरीसँगको धकेलाधकेलमा नेता पौडेल र आले पनि परेका थिए ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पूर्वाधार विकास कार्यालयबाट मंगलबार मात्रै पुल उद्घाटन कार्यक्रम रोक्नुपर्यो भन्दै पत्राचार भएको बताए । ‘त्यही पत्रका आधारमा उपभोक्ता समितिलाई कार्यक्रम रोक्न भनेका थियौं । नेता पौडेललाई मौखिक रूपमा अनुरोध गरेका थियौं,’ उनले भने । पुल उद्घाटन गर्ने र रोक्न खोज्ने पक्षबीचको सम्भावित झडपलाई रोक्न निषेधाज्ञाको विकल्प नरहेको उनले बताए । ‘निषेधाज्ञालाई तोड्छु भन्दै नेता पौडेल जानुभयो । त्यही क्रममा प्रहरीले उहाँलाई स–सम्मान गाडीमा राखेर जिल्ला प्रहरी पुर्याएको हो ।’ जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेलले प्रशासनले निषेध गरेको क्षेत्रमा प्रवेश गर्न खोजेकाले नियन्त्रणमा लिइएको बताए ।
युवा संघका जिल्ला अध्यक्ष ईश्वर बस्यालले भने व्यास नगरपालिकाले एकलौटी हिसाबमा कार्यक्रम गरेकाले आफूहरू विरोधमा उत्रिएको बताए । संघले उद्घाटन कार्यक्रम रोक्नुपर्ने भन्दै मोटरसाइकल र्यालीसहित दमौलीमा प्रदर्शन गरेको थियो । जिल्ला प्रशासन कार्यालय पुगेका बस्याल, नेकपा व्यास–१ का अध्यक्ष ज्ञानेन्द्र बसौलासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि छाडिदिएको थियो ।
तत्कालीन जिविसको एसएनआरटीपी परियोजनाअन्तर्गत २०७३ वैशाखमा निर्माण सुरु भएर २०७५ कात्तिकमा पुल निर्माण सकिएको थियो । पक्की बाटोलगायत संरचना बनिनसकेकाले उद्घाटन भएको थिएन । पुल दुई करोड ५४ लाख रुपैयाँ लागतमा बनेको थियो । पौडेलले मंगलबार मास्दी घाटमा व्यास–१४ र ऋषिङ–३ जोड्ने सोंढेस्थित सेती पुलको पनि उद्घाटन गरेका थिए । यहाँको पुल उद्घाटन गर्ने चाहना भने पौडेललाई हराएर प्रतिनिधिसभामा चुनिएका नेकपाका कृष्णकुमार श्रेष्ठको थियो । तर पौडेलबाट उद्घाटन गराइएपछि नेकपाका नेता–कार्यकता रुष्ट बनेका थिए ।
प्रहरीको नियन्त्रणबाट मुक्त भएपछि नेता पौडेलले आफूलाई सामान्य गतिविधिमा सरिक हुनबाट पनि रोकेर सरकारले नागरिकको अधिकारमाथि नाङ्गो हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् । आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको जनाउँदै उनले देशैभरि प्रतिकार गर्ने पनि बताए । नेता पौडेलले सरकारका गलत क्रियाकलापविरुद्ध संघर्ष गर्ने बताए । ‘यो जनविरोधी सरकार हो । हामीले राणा शासनसँग लड्यौं, पञ्चायतसँग पनि लड्यौं, कम्युनिस्ट तानाशाहीसँग पनि लड्छौं,’ उनले भने, ‘हामी कुनै पनि गुन्डा र तस्करहरूको आदेश मान्दैनौं, लक्ष्य पूरा नहुन्जेल पछाडि हट्ने छैनौं ।’
अधिनायकवादी जगमा गिरफ्तारी : देउवा
कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरी प्रशासनले दुर्व्यवहार गर्दै गिरफ्तारी गरेकामा आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत सरकारले अधिनायकवादी शैली प्रकट गरेको जनाउँदै त्यसविरुद्ध एकढिक्का भएर प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
‘स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रूपमा निर्णय गरेर निमन्त्रणा गरेपश्चात् उद्घाटन गर्न जाँदै गर्दा पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । देउवाले सरकारको अधिनायकवादी आकांक्षाको जगमा यस्तो घटना भएको बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमिति र पार्टीका विभिन्न भ्रातृसंस्थाले पनि पौडेलको गिरफ्तारीलाई लिएर विरोध जनाएका छन् । नेविसंघले बुधबार साँझ नै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको थियो ।
यो पनि पढ्नुहोस्ः
पुल उद्घाटनका विषयमा विवाद चर्किएपछि निषेधाज्ञा
प्रकाशित : मंसिर १७, २०७७ १५:४१