२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

प्रहरी हत्याका अभियुक्त कारागार चलान

अर्जुन शाह

धनगढी — धनगढीको जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोग लागेका ९ मध्ये ८ जना कारागार चलान भएका छन् । एक व्यापारी भने धरौटीमा छुटेका छन् ।

प्रहरी हत्याका अभियुक्त कारागार चलान

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार पक्राउ गरी मुद्दा चलाइएका धनगढी–१० का ३१ वर्षीय रोहित राना, सोही नामका अर्का व्यक्ति, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षीय रामगोपाल राना कारागार चलान भएका हुन् ।

सरकारी वकिल कार्यालयका अनुसार जिल्ला अदालत कैलालीका न्यायाधीश दयानन्द पनेरूको इजलासले मंगलबार गरेको थुनछेक आदेशअनुसार आठ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो । अर्का अभियुक्त धनगढीका राजीव गुप्ता भने डेढ लाख धरौटीमा रिहा भएका छन् । गुप्ता धनगढीका मटर (केराउ) कारोबारी हुन् । उनको पनि हत्यामा संलग्नता रहेको प्रहरीको दाबी छ ।

गत असोज मसान्त राति नेपाल–भारत सीमाक्षेत्रको मोहना किनारमा रहेको उक्त चौकीबाट गस्तीमा खटिएका प्रहरीलाई तस्करहरूको समूहले आक्रमण गरी हत्या गरेको थियो । केराउ तस्करी गरी भारततर्फ निकासी गर्दै गरेको समूहलाई गस्तीमा रहेका असई विक र जवान साउदले रोक्न खोज्दा धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । उनीहरूको शव मोहना नदीमा गाडेको अवस्थामा फेला परेको थियो ।

सरकारी वकिल कार्यालय, कैलालीले अभियुक्तमाथि कात्तिक २८ मै अभियोग दायर गरेको भए पनि अभियुक्तहरूलाई कोरोना देखिएको र नेगेटिभ रिपोर्टआएपछि मात्रै थुनछेक बहस भएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?