चक्रीय अन्नपूर्ण पदमार्गमा आउन थाले पर्यटक
लमजुङ — लकडाउनयता सुनसान रहेको चक्रीय अन्नपूर्ण पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् । कात्तिक १ देखि सरकारले विदेशी पर्यटकलाई नेपाल आउन खुला गरेपछि पदमार्गमा पर्यटक आउन थालेका हुन् ।
माथिल्लो मनाङस्थित होटल व्यवसायी छिरिङलोप्साङ गुरुङका अनुसार केही दिनअघि १/२ जना पर्यटक देखिए । उक्त ठाउँमा एउटा मात्रै होटल खुला गरिएको छ । ‘करिब ७ महिनापछि १/२ जना विदेशी पर्यटक देख्दा नौलो लाग्यो । स्वदेशी भने आउने गरेका छन्,’ उनले भने । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना र लकडाउनले व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका पर्यटक सहायक क्षेत्र गुरुङका अनुसार पदमार्गमा १० जना पर्यटक आएका छन् । यीमध्ये ४ जना पर्यटकले हिमलुङ हिमाल चढेका छन् । उनीहरूसँग ९ जना नेपाली थिए । विदेशी पर्यटकले काठमाडौं, पोखरामा पर्मिट काटेर आएमा प्रतिव्यक्ति ३ हजार रुपैयाँ तिर्नुपर्छ । मनाङ आएर काटेमा दोब्बर शुल्क लाग्छ । पदमार्गमा आएका पर्यटकमध्ये ५ जनाले चामेस्थित एक्याप कार्यालयमा पर्मिट काटेका थिए । अरूले काठमाडौं, पोखरा, बेंसीसहरमा काटेर आएका थिए । उनका अनुसार मनास्लु पदमार्ग हुँदै लार्केबाट १ जना जर्मनी पर्यटक आइतबार फर्किएका छन् ।
यस वर्ष जनवरीमा २ सय ५५, फेब्रुअरीमा ५ सय १२ र मार्च २३ सम्म १ हजार १ सय ८२ पर्यटक भित्रिएका छन् । मार्च १४ देखि पर्यटक आगमन थिएन । लकडाउनपछि पहिलोपटक नोभेम्बर ४ मा विदेशी पर्यटक आएका हुन् । बरु लकडाउनका कारण पदमार्गमा फसेका डेढ सय पर्यटकलाई उद्धार गरेर मनाङ प्रहरी र प्रशासनले काठमाडौं र पोखरा पठाएको थियो । पछिल्लो समय जोर्डन, इटली, यूएई, बेलायतबाट पर्यटक आएको पर्यटन सहायक गुरुङले बताए । उनका अनुसार विदेशी पर्यटक नआएपछि बन्द रहेको धारापानी चेकपोस्ट कात्तिक १० देखि खुलाइएको हो ।
सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएमा मात्रै आगमन खुला गरिएको छ । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वकै अग्लोमध्येको एक तिलिचो (४,९१९ मि.) तालका लागि मात्रै खुला गरिएको हो । अन्य ठाउँ घुमफिरका लागि भने खुलाइएको छैन । पर्यटन व्यवसायी मनाङका अध्यक्ष विनोद गुरुङले स्वदेशी तथा विदेशी पर्यटकका हकमा ७२ घण्टा पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य भएको बताए । ‘कोरोना संक्रमण जोखिम कायम छ । तत्काल सबै पर्यटकलाई पीसीआर रिपोर्टबिना स्वागत गर्न सम्भव छैन,’ उनले भने ।
मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले चक्रीय अन्नपूर्ण पदमार्ग भएर सिधै तिलिचो जाने पदमार्ग मात्रै खुलेको बताए । मनाङबाट याकखर्क, थोराङ्ला हुँदै मुक्तिनाथ मुस्ताङको बाटो खुलेको छैन । पीसीआर रिपोर्ट नेगेटिभ लिएर आए पनि पर्यटकले आफ्नो बसाइ र खानपानका लागि आफैं व्यवस्था गर्नुपर्ने उनले बताए ।
प्रकाशित : मंसिर १७, २०७७ १२:२८